भक्तपुर, १३ साउन २०८१
भक्तपुर क्यान्सर अस्पतालले प्रमुख स्वास्थ्य समस्याको रुपमा विकराल बन्दै गएको क्यान्सर रोगको उपचारमा सिमित श्रोतका बाबजुद सर्वोत्कृष्ट उपचार सेवा दिन थालेको छ।
क्यान्सर रोगका बिरामीले रेडियोथेरापी लागि चार महिनासम्म पालो कुर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बताउनुभयो ।
निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार अस्पतालमा पहिला एउटा मेसिनबाट सेवा दिइराखेकोमा हाल दुई वटा रेडियोथेरापी मेसिनबाट सेवा दिन सुरु गरेको छ। तीन वर्ष देखि बन्द भएको रेडियोथेराफी सेवा पुन संचालनमा आएको पनि डा. चालिसेले बताए।
डा. चालिसे निर्देशक भएपछि अस्पतालमा एउटा सिटिस्क्यान थपेर दुईवटा सिटिस्क्यान बाट बिरामीलाई सेवा दिदै आइरहेको छ भने तीन वटा अप्रेसनबाट दुई थप गरेर पाँच वटा अप्रेशन थ्रेटरबाट बिरामीको उपचार भईरहेको छ।
यस्तै गरि अस्पतालले बिरामीले टिकट काट्दा लाइन लाग्नुपर्ने अप्ठ्यारोलाई मध्यनजर गर्दै सहजका लागि टोकन प्रणालीबाट सेवा सुचारु गरेको छ। अस्पतालमा अब बिरामीले यही साउन १५ गते बाट अनलाइन बाटै उपचार लिने व्यवस्था लागू हुने भएको छ।
डा. चालिसेका अनुसार अब रेडियोथेरापीका लागि पहिले जस्तो चार महिनासम्म कुर्नु पर्दैन, दुई वटा मेसिन हुँदा बढीमा दुई हप्तासम्म कुर्नुपर्ने हुन्छ।” सरकारी अस्पतालमा भक्तपुर क्यान्सर अस्पताल र भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी मेसिन छ।
डा. चालिसेले रेडियोथेरापीका लागि भाबाट्रोन मेसिनको जडानसँगै कोबाल्ट सोर्स पनि आएकाले नयाँ मेसिनबाट रेडियोथेरापी दिन सुरु गरिएको जानकारी दिनुभयो। दुई वटा मेसिनबाट निरन्तर रेडियोथेरापी गराउँदा बिरामीलाई राहत हुने भन्दै उहाँले अब लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ६५० जना बिरामी ओपिडीमा आउने गर्छन् । तीमध्ये दैनिक आठदेखि १० जना नयाँ क्यान्सरका बिरामी पत्ता लाग्ने गरेका छन् । उपत्यकाका सरकारी अस्पताल भक्तपुरमा मात्र दुई वटा रेडियोथेरापी मेसिन छन् । “अरू अस्पतालबाट रेडियोथेरापीका लागि भक्तपुर रिफर गर्दा झन् गाह्रो हुने गरेको थियो, दुई वटा मेसिनले रेडियोथेरापी सेवा उपलब्ध गराउँदा बिरामीलाई धेरै राहत हुने छ,” निर्देशक डा. चालिसेले भन्नुभयो ।
पछिल्लो समय वर्षेनी ३० देखि ३५ हजार मानिस क्यान्सरका विरामी थपिने गरेको सरकारी तथ्यांक छ ।
नेपाल अवुर्द रोग निवारण संस्था रोटरी क्लब लगायत विभिन्न समाजिक संघ संस्थाको पहलमा २०५१ सालमा एउटा जिर्ण भवनबाट शुरु भएको अस्पताल आज क्यान्सर रोगको उपचारमा देशकै अग्रणी अस्पतालको रूपमा स्थापित हुन सफल भएको छ।