सप्तरी, २२ बैशाख २०८१
भक्तपुर क्यान्सर अस्पताल तथा सप्तरीको बोदे बर्साइन नगरपालिकाद्वारा संयुक्त आयोजनामा गरिएको दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण तथा क्यान्सर स्क्रिनिङ शिविरबाट १२ सयले सेवा पाएका छन्।
यही बैषाख २० र २१ गते आयोजित निःशुल्क स्वास्थ्य परिक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर १२ सय भन्दा बढी बिरामीले सेवा पाएका हुन्।
शिविरमा आएका १२ सय बिरामी मध्ये ३ सय महीलाहरुको क्यान्सर जाँच ‘प्याप स्मेयर’ परिक्षण तथा ३ सय जनाको भिडियो एक्सरे गरिएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले दुई दिने शिविर सफलता पूर्वक सम्पन्न गरेको बताए।
शिविरमा स्थानिय महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई क्यान्सर सम्वन्धी सचेतना तथा आफ्नो स्तन आँफै जाच गर्ने तरिका बारे प्रशिक्षण समेत दिइएको डा. चालिसेले बताए।
त्यसैगरी शिविरमा ६ सय जनालाई अत्यावश्यक निःशुल्क औषधी वितरण गरिएको थियो।