संखुवासभा, १४ जेठ २०८२
भक्तपुर क्यान्सर अस्पतालले पूर्वी नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ शिविर गरेको छ। अस्पतालले संखुवासभा र धनकुटाका १ हजार ६ सय जनाको क्यान्सर स्क्रिनिङ गरेको हो।
क्यान्सर स्क्रिनिङ शिविर संखुवासभाको धर्मादेवी नगरपालिकास्थित मुढे र धनकुटाको पाख्रिबासमा संचालन भएको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएको बताए । डा. चालिसेका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।
डा. चालिसेले समुदायमै पुगेर क्यान्सरको जोखिम पत्ता लगाउने र समयमै उपचारको व्यवस्था गर्ने उद्देश्यले यी शिविरहरू सञ्चालन गरिएको बताए।
धर्मादेबी नगरपालिकाको आयोजना तथा नेपाल भारत मैत्री संघ र नेपाल अर्बुद रोग निवारण संघको सहयोगमा भएको संखुवासभामा भएको शिविरमा ६०० महिलाको प्याप स्मेयर र अल्ट्रासाउन्ड स्क्रिनिङ गरिएको डा. चालिसेले जानकारी दिए।
शिविरमा पाँच जना पुराना क्यान्सर बिरामीको फलोअप गरिएको छ भने क्यान्सर पुष्टि भएका तीन महिलालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको छ।नमुना सङ्कलन गरिएका बिरामीको रिपोर्ट दुई हप्ताभित्र उपलब्ध गराइने डा. चालिसेले बताए।
यसैगरी, धनकुटाको पाख्रिबासमा भएको शिविरमा पनि ६ जना फलोअपका बिरामी आएका थिए भने अरुको क्यान्सर स्क्रिनिङ भएको थियो।
स्क्रिनिङ शिविरमा पाँच जनामा क्यान्सरको शंकास्पद संकेत देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतामा आउन भनिएको छ।