आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

Covid-19 भाईरसका फरक रिपोर्टहरु लाई कसरी बुझ्ने ? #Covid19

HNN Staff by HNN Staff
May 3, 2020
in Health, Articles, News, Research & Study
A A
2
Covid-19 भाईरसका फरक रिपोर्टहरु लाई कसरी बुझ्ने ? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ प्रा. डा. रेवती रमण मल्ल, वीर अस्पताल 

प्रत्येक जसो दिन हामीले कोरोना को ल्याब परिक्षणको रिपोर्टहरु एउटा टेष्टमा पोजिटिभ त अर्कोमा नेगेटिभ, कुनैमा दुबै पोजिटिभ त कुनैमा दुबै नेगेटिभ भनी सुन्ने गरेका छौँ । यस बाट जन-मानसमा केहि अलमल जस्तो विभिन्न भ्रम, आशंका र अडकल बाजि भएको पाईन्छ। यि टेष्टहरुको विश्लेषण गर्न हरेक नेपाली नागरिकले जान्नै पर्ने आजको आबश्यकता र चुनौती हुन गएको छ। जब सम्म हामीले यी तथ्यहरुको यथार्थ जानकारी हासिल गरि विश्लेषण गर्न सक्दैनौ तबसम्म हामी मन भित्रै बाट जागरुक हुन सक्दैनौं। एकले अर्कोलाई उत्प्रेरित गराउन सक्दैनौ। कहाँ कमजोरी भएको हो थाहा पाउन सक्दैनौ। यस्ता विभिन्न तथ्य र तिनका विश्लेषण स्वयं  हरेक तहका राजनीति कर्मीहरु, उच्च- अधिकारिहरु, प्रदेश तथा स्थानीय निकायका अधिकारी तथा अन्य कर्मचारीहरु, सुरक्षा निकायका अंगहरु, मानव अधिकार कर्मीहरु, न्यायालय तथा कानुन ब्यबशायीहरु, पत्रकार, सामाजिक कार्यकर्ताहरु, उद्योगी व्यापारी, शिक्षक, बिध्यार्थी तथा प्रत्येक साधारण नेपाली नागरिक सबैले नबुझे सम्म हामी आफ्नो देशलाई कोरोना बाट मुक्ती दिन सक्ने छैनौं।

अकस्मात महामारी हुँदै बिश्व महामारी को रुप धारण गरेको र पृथ्वीमा कोरोना भाईरस को प्रकार मध्य कहिल्यै मानव जातिमा हानिकारक को रूपमा देखा नपरेको नौलो किसिमको कोरोना भाईरस सार्स २- कोभ-१९ ले छोटो समयमा नै ठूलो संख्यामा मानिसहरू लाई मृत्युको काखमा पुर्याएको छ। यस परिस्थितिको डरलाग्दो अबस्थामा ल्याब परिक्षण कसरी गर्ने, परिक्षण प्रविधि कुन अपनाउने हो भन्ने चुनौती लाई निकास दिन अमेरिकाको सि.डि.सि. (सेन्टर फर डिजिज कन्ट्रोल) ले उपलब्ध प्रबिधिलाई ईमर्जेन्सी एप्रोभल को रुपमा आकस्मिक स्वीकृति दिदै काम अगाडि बढाउनु को साथै नयाँ प्रबिधिको बिकास गर्न तथा ठूलो मात्रा मा उत्पादन गर्न प्रेरित गर्यो। केही बिकास भएका बा हुँदै गरेका प्रबिधी, मसिनहरुको उत्पादन बढाउन निर्देश गर्यो। बिल्कुलै नयाँ किसिमको भाईरस लाई चिन्नको लागि कुन विधि, प्रबिधी सर्बोत्तम हो भन्न लामो समय को अध्ययन, अनुसन्धान पृष्ठभुमि बाट स्थापित आधारभूत रुपमा सबैभन्दा बढी उपयोगी सिध्द भएको डायग्नोस्टिक औजार कुन हो भन्न सकिने अबस्था थिएन। कोभ-१९ भाईरसको कम समयमा धेरै मानिस र भौगोलिक क्षेत्रमा सार्ने र धेरैको मृत्यु गराउन सक्ने प्रभाब देखिएको अबस्थामा यो सम्भब नहुनु स्वाभाविक थियो। त्यसैले तत्काल को लागि उपलब्ध प्रबिधिलाई उपयोग गर्दै नयाँ प्रधिको पनि बिकास गर्दै जाने बिश्वले लिएको रणनीति आजको अबस्थामा सर्बश्रेष्ठ र जायज छ भन्ने कुरामा कुनै शंका छैन।

Fighting Covid19 Together with HealthNewsNepal.com
Fighting Covid19 Together with HealthNewsNepal.com

सबैभन्दा पहिले हाल उपलब्ध र प्रयोगमा आएका परिक्षण विधि तथा तिनका राम्रा तथा कमजोर पक्ष र तिनले दिने दिशानिर्देश बारे छोटकरी मा छलफल गरौं ।
साधारणतया कोरोना परिक्षण को लागि तिन किसिमका प्रबिधिहरु प्रयोग भएको पाईन्छ।

A) आर. टि.- पिसिआर टेष्ट (रिभर्स ट्रान्स्कृप्टेज पोलिमेज चेन रियाक्सन टेष्ट):

यो साधारणतया भाईरसको जेनेटिक कोड – नियुक्लिक एसिड पहिल्याउने विधिमा आधारित मोलेकुलर परिक्षण हो। कोरोनाको निदानको लागि यो प्रबिधि हाल सबैभन्दा बढी  बिश्वब्यापी रूपमा प्रयोग भैरहेको छ। कोभिड-१९ का बिरामीहरुको अग्रिम पहिचानको लागि यो सबैभन्दा भरपर्दो निदान विधि हो। यो दशकौं देखि नै विभिन्न भाईरस को निदान तथा अनुसन्धान को लागि प्रयोग भैरहेको स्थापित प्रबिधि रिभर्स ट्रान्स्कृप्टेज पोलिमेरेज चेन रियाक्सन (reverse transkriptase polymerase chain reaction (RT – PCR) मा आधारित विधि हो।

ब्यक्ति मा कोभ-१९भाईरस को संक्रमण भएपछि त्यसको लक्ष्यणहरु देखा पर्न २ देखि १४ दिन सम्म समय लाग्छ। औसत मा भन्नुपर्दा ५-६ दिनको समय लाग्न सक्छ। तर कोरोना भाईरसको आर.एन.ए. संक्रमण भएको पहिलो दिन देखि ८ हप्ता सम्म शंक्रमित ब्यक्तिको रगतमा रहन्छ । त्यसैले यो टेष्ट बाट कोभ-भाईरसको संक्रमण भएको पहिलो दिन देखिनै अथवा अर्को शब्दमा भन्ने हो भने कोरोनाको लक्ष्यण देखिनु भन्दा २ देखि १४ दिन अघि बा औसतमा भन्नू पर्दा ६ दिन अघि नै ब्यक्ती कोभ-१९ भाईरस बाट संक्रमीत भएको छ बा छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी पाउन  सकिन्छ।

a) RT-PCR Test को प्रक्रिया:

यसमा सबैभन्दा पहिले एउटा टुप्पो भागमा पातलो ३ मिलिमिटर भन्दा कम बाख्लो कपासले बेरिएको सिन्का ब्यक्ति को नाकको बाटो हुदै घाँटी को भित्री भागमा पठाएर करिब १५ सेकेन्ड सम्म दुबै तिर घुमाएर त्यहाँ जम्मा भएको सिगान, कफ जस्तो बाक्लो पदार्थ म्युकस लाई त्यसमा रहेको कपासमा निकालेर कपास सहितको त्यो सिन्कालाई सुरक्षित सिसि बा कार्ट्रीज भित्र राखी बिशेष प्रबिधियुक्त केन्द्रिय ल्याबमा पठाईन्छ। मुखको बाटो हुँदै घाँटीको भागबाट पनि यसरी नै स्याम्पल लिन सकिन्छ। त्यस्तै खोक्दा भित्र बाट निस्केको खकार लाई पनि स्याम्पलको रूपमा पठाउन सकिन्छ। अझ ब्रोन्कोस्कोपि बाट स्वासप्रस्वास प्रणालीको तल्लो भाग बाट निकालिएको स्याम्पल मा सबैभन्दा बढी भाईरस देखिने सम्भावना हुन्छ। तर ब्याबहारिक हिसाबले त्यो सबैलाई गर्न सम्भब हुदैन।

ल्याबमा विभिन्न केमिकलहरु प्रयोग गरि त्यसमा रहेका प्रोटिन, फ्याट तथा अन्य मोलेक्युलहरु लाई हटाएर भाईरसका न्युक्लिक एसिड लाई सुरक्षीत निकालिन्छ, जस भित्र भाईरसको आर. एन.ए. रहेको हुन्छ। त्यसपछि रिभर्स ट्रान्सकृप्टेज पोलिमेरेज चेन रियाक्सन विधिको प्रयोग बाट भाईरसको आर. एन. ए. को आनुबान्सिक तत्व स्थानान्तरित गरि त्यसलाई डि. एन. ए. मा रुपान्तरण गराईन्छ। त्यस पछि त्यसलाई केही केमिकल सहित आर. टि.- पि.सि.आर. मेसिनमा राखिन्छ । करिब ३० हजार न्युक्लिओटाईड्स बाट डि. एन. ए. बनेको हुन्छ, जसलाई बिल्डिङ ब्लक्स पनि भनिन्छ। कोभ -१९ भाईरस संग सम्बध्द केबल १०० वटा न्युक्लिओटाईड्स लाई टार्गेट गर्ने गरि मेसिन सेट गराईएको हुन्छ। त्यसपछि उक्त मेसिनमा थर्मल साईक्लिङ्ग विधि बाट तापक्रम बढाउने र घटाउने  प्रक्रियाको चालीस साईकल पछि यो एउटा डि. एन. ए. उस्तै आकार र गुण भएका अनगिन्ती ३५ बिलियन को संख्याका डि.एन.ए. का कपिहरुमा परिणत हुन जाने हुँदा त्यसलाई अध्ययन गर्न सजिलो हुन्छ। बिशेष किसिमको फ्लुओरेस्सेन्ट लाईट सिग्नल भाईरल डि.एन.ए. हरुमा पठाउदा उक्त सिग्नल डि.एन.ए. संग मिलेर अलग किसिमको प्रकाश निकाल्छन, जसलाई मसिनले रिड गरेर नतिजा देखाउन सक्दछ। यदि स्याम्पल भित्र बाट निस्केका प्रकाशको इन्टेन्सिटी निश्चित थ्रेसहोल्ड भन्दा बढी पुगेमा त्यस लाई पोजिटिभ को रुपमा लिईन्छ भने; कम भएमा नेगेटिभ को रूपमा लिईन्छ।
अर्को कुरा यस प्रबिधिमा भाईरस चिन्नको लागि प्रयोग भएको तापक्रम को साईकल जति कम आबश्यक पर्यो त्यति बढी उक्त स्याम्पलमा भाईरस छ भन्ने बुझिन्छ।

* आर.टि.-पि.सि.आर. टेष्टका राम्रा पक्षहरू (Benefits of PCR):

१) यो प्रबिधीको परिक्षणलाई विश्वभरीका बैज्ञानिक तथा चिकित्सकले बृहत् रुपमा प्रमाणित र बलियो प्रबिधी मान्दछन।

२) यसले बर्तमान अबस्थामा ब्यक्ति भाईरस बाट सक्रिय रूपमा संक्रमित भए नभएको स्पष्ट दिशानिर्देश गर्न सक्छ; अर्थात यसले बर्तमान समयमा पोजिटिभ लाई पोजिटिभ र नेगेटिभनलाई नेगेटिभ स्पष्ट भन्न सक्छ चीन को अनुभव मा यो टेष्ट्को एक्युरेसी ६० देखि ७० प्रतिशत मानिएको छ।

३) यसको नतिजा बाट ब्यक्ती संक्रमित भएको दिन देखिनै पोजेटिभ भए नभएको स्पष्ट जानकारी, छ बा छैन मा दिन सक्छ; अथवा लक्ष्यण भएको बा नभएको अबस्थामा पनि यसले संक्रमण भए नभएको स्पष्ट जानकारी दिन सक्छ।

४) यस परिक्षणको नतिजाको सेन्सिटिभिटी (सम्बेदनशिलता) र ईस्पेसिसिटी (बिशिष्टता) र पोजिटिभ प्रेडिक्टिभ भाल्यु अन्य टेष्ट को भन्दा बढी हुने मानिएकोले यसलाई भरपर्दो विधि मानिन्छ। तर यसको सेन्सिटिभिटी लाई संक्रमण भएको कुन समयमा स्याम्पल लिइएको छ, स्याम्पलको किसिम बा श्रोत र गुणस्तरीयता कस्तो छ, संक्रमण भएपछि को कुन समयमा जाँच प्रक्रिया गरिदै छ, कत्तिको सहि टेकनिक अपनाईएको छ, आदि सबै कुराले प्रभाव पार्न सक्छ। यसको सेन्सिटिभिटी संक्रमण भएको पहिलो हप्तामा ६७ प्रतिशत जति हुन्छ भने, दोस्रो हप्तामा ५४ प्रतिशत, तेस्रो हप्तामा ४५ प्रतिशत र त्यसपछि कम हुँदै जाने मानिएको छ।

५) त्यस्तै यस बाट ट्र्यु पोजिटिभ रिपोर्ट आउने सम्भावना बढी हुन्छ भने फल्स पोजेटिभ आउने चान्स धेरै कम हुने मानिएको छ। अथवा यसले करिब सबैजसो संक्रमित स्याम्पललाई पोजिटिभ देखाउन सक्छ भने सबैजसो संक्रमण नभएको नर्मल स्याम्पललाई नेगेटिभ देखाउन सक्छ।

६) शंकास्पद क्षेत्र बाट आएका बा संक्रमीत ब्यक्ति को सम्पर्कमा रहेका तर कोरोनाको लक्ष्यण नदेखिएका मानिसहरुमा पनि पनि यस परिक्षणले संक्रमित भएको बा नभएको निश्चित ठोस जानकारी दिन्छ। यस प्रकार सन्क्रमित भएर पनि एसिम्प्टोमाटिक भएका मानिसहरु ले उतिनै स्वस्थ मानिसहरू लाई रोग फैलाउन सक्ने भएकोले यस्ता मानिसहरू लाई समयमै पहिचान गरि आईसोलेसन बा अस्पतालमा राखी रोग फैलिन बाट बचाउन सकिन्छ।

* आर.टि.-पि.सि.आर. का कमजोर पक्षहरु:    

१) यस परिक्षण बाट बर्तमान को समयमा पोजिटिभ नदेखाएको अबस्थामा संक्रमण हुँदै नभएको हो बा संक्रमण भएर निको भैसकेको हो भन्ने कुरा को स्पष्ट जानकारी दिन सक्दैन ।

२) संक्रमित मानिसको श्वासप्रश्वास प्रणालीको विभिन्न भागमा अबस्थित हुन सक्ने भाईरस को घनत्वो ब्यक्ती ब्यक्ति मा समय अनुसार फरक हुन सक्छ। त्यसैले ब्यक्ति संक्रमित भए पनि यात नाकको पछाडि हुँदै घाटिको भाग बाट लिइएको स्याम्पलमा बा खोक्दा भित्रबाट निस्केको खकार को स्याम्पल दुई मध्य एक स्याम्पलमा मात्र पोजिटिभ देखिने हुन सक्छ; अथवा दुबै बाट लिइएको स्याम्पल मा पनि ब्यक्ति सन्क्रमित भएर पनि नदेखिने भै फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ। अत स्याम्पल को गुणस्तरीयता ले रिपोर्ट को शत्यतामा प्रभाव पार्न सक्छ। स्वासप्रस्वास प्रणालीको तल्लो भागबाट क्याथेटर बा ब्रोङ्कोसकोपी को मद्दतले लिएको स्याम्पलमा कोभ-१९ भाईरस देखिने सम्बाभना सबैभन्दा बढी हुन्छ।

अमेरिकामा २०५ जना कोभिड संक्रमित मानिसहरूका विभिन्न भागबाट स्याम्पल लिएर पिसिआर टेष्ट गरिएको एउटा अध्ययनमा सबभन्दा भन्दा बढी ९५ प्रतिशतमा श्वासप्रश्वास प्रणाली को तल्लो भागबाट लिएको स्याम्पलमा, ७२ प्रतिशतमा खकारको स्याम्पलमा र ३२ प्रतिशतमा मुखको बाटो भएर घाटीबाट लिईएको स्याम्पलमा कोभ-१९ भाईरसको आर.एन.ए. पाईएको थियो। यसबाट भाईरल आर एन ए को लेभेल घाँटी बाट लिएको स्याम्पलमा भन्दा नाक भित्र बाट लिईएको स्याम्पलमा बढी देखिने र सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीको तल्लो भाग बाट लिईएको स्याम्पलमा देखिन्छ भन्ने स्पष्ट हुन्छ।

३) नाक बा घाटी बाट निकालिने थ्रोट स्व्याब को मान्यता कोभ-१९ भाईरसको संक्रमणको पहिलो हप्ता सम्म मात्र बिस्वासिलो हुन्छ। एक हप्ता पछि CoV-19 भाईरस घाँटी बाट हराउने र त्यसपछि फोक्सोमा गुणात्मक संख्यामा फैलिने भएकोले सक्सन क्याथेटरको मध्दतले स्वास नलिको भित्रि तल्लो भागबाट लिईएको स्याम्पलमा देखिने सम्भावना बढी हुन्छ। त्यस्तै खोक्दा भित्रै बाट कफ निस्केको खन्डमा त्यसमा भाईरस देखिने सम्बाभना थ्रोट स्व्याब मा भन्दा बढी हुन्छ। अझ ब्रोन्कोस्कोप मसिनको सहायताले स्वास नलि भित्र तल्लो भाग बाट निकालिएको स्याम्पल मा सबैभन्दा बढी भाईरस देखिने सम्बाभना हुन्छ। तर प्यानडेमिक को समयमा यो ब्याबहारिक हिसाबले सम्भब हुदैन।

४) नाक बा मुखको बाटो भएर पछाडी घाँटी बाट स्वाब लिने प्रक्रियामा टेक्निसियनको संयमता, धैर्यता र कुशलता सहि गुणको  स्याम्पल र त्यसले दिने रिपोर्ट को लागि महत्वपूर्ण हुन्छ। किनकि यो स्याम्पल निकाल्ने प्रक्रिया कसैलाई पनि राम्रो लाग्ने बा मनपर्ने प्रक्रिया हैन। प्राबिधिक ले उसको नाक र मुखको अगाडि बाट स्याम्पल निकाल्नुपर्ने भएकोले हरेक पल उसलाई आफुलाई नै सर्ने हो कि भन्ने डर हुन्छ। त्यसैले उसले बढी समय दिन नचाहने भै काम मात्र छिटो सक्नेमा मात्र ध्यान केन्द्रित हुन जाने मानवीय कमजोरी रहन सक्ने सम्भावना रहन सक्छ।

हाम्रो सन्दर्भमा यसबाट बच्नको लागि हात र पाखुरा मात्र छिराउन मिल्ने प्वाल बनाएर प्राबिधिक भित्र कोठामा बसेर बाहिर रहेकोे ब्यक्तिको स्याम्पल निकाल्ने ब्यबस्था गरिएमा यो समस्या हल हुनसक्छ।

५) स्याम्पल लिएपछि त्यसको लागि स्वीकृत गरिएको स्पेसल भाईरस ट्रान्स्फर मिडिएम (भि.टि.एम.) ९ डिग्री सेन्टिग्रेड को तापक्रम मिलाएर केन्द्रिय ल्याबमा ट्रान्स्पोर्ट गर्नु पर्ने हुन्छ। उल्लेख्य बिधिमा कमजोरी भएमा स्याम्पलको गुणस्तरीयता बिग्रनुको साथै भाईरस फैलिने डर हुन्छ।

धेरै समय पछिको स्याम्पलमा भन्दा ताजा स्याम्पलमा भाईरसको आर.एन.ए. देखिने सम्भावना बढी हुन्छ। यो टेष्टमा स्याम्पलको गुणस्तरीयता महत्वोपुर्ण हुन्छ।

६) यो टेष्ट दक्ष प्राबिधिक बाट उच्च प्रबिधि युक्त केन्द्रिय ल्याबमा मात्र गर्न सकिन्छ। आर टि-पि.सि.आर मसिन चाहिने भएकोले यो परिक्षण फिल्डमा बा हट्स्पटमा गर्न सम्भब हुँदैन।

७) यो टेष्ट र्यापिड टेष्ट भन्दा धेरै समय लाग्ने परिक्षण विधि हो। बिरामीको स्याम्पल केन्द्रिय ल्याब मा पुर्याएर परिक्षण प्रक्रिया शुरु गरेपछि  रिपोर्ट निकाल्न कम्तीमा दुई देखि चार घण्टा समय लाग्छ। तर यदि टाढा बाट केन्द्रिकृत ल्याबमा स्याम्पल पठाउनु पर्ने भएमा दुई देखि चार दिन सम्म समय लाग्न सक्छ। हाल हाम्रो सेन्ट्रल ल्याब टेकुमा १२ देखी ९६ वटा स्याम्पल मात्र एकै पल्ट हेर्न सकिने मसिन छ। ब्यस्तता हेरेर सकेसम्म ६ घण्टा भित्र रिपोर्ट दिने ब्यबस्था गरिएको छ।

८) बिच बिच मा केमिकल तथा रियाजेन्ट्स को अभाब मा परिक्षण प्रक्रिया रोक्नु पर्ने हुन्छ। आबश्यकता भन्दा कम उत्पादन क्ष्यमता र कम आपूर्तिको कारणले थुप्रै देशले बिच बिच मा यो समस्या भोगेको अनुभव छ। हाल बिस्तारै यसमा सुधार भएको स्थिति छ।

कहिलेकाही अस्पष्ट बा अनिश्चित रिपोर्ट आएको अबस्थामा चिकित्सकले बिरामीको बारेमा थप छलफल गरि कोरोना डायग्नोसिसको लागि गर्ने गरिएका स्पेसिफिक टेष्ट बाहेक रगतका अन्य अप्रत्यक्ष रुपमा कोरोनाको पक्षमा समर्थन गर्ने रगतका अन्य ल्याब टेष्टहरुको लागि निर्देशन दिनु पर्छ। यदि बिरामीका लक्ष्यण तथा अन्य आधारहरु कोभिड्को पक्ष्यमा बढी भएमा त्यसलाई पोजेटिभ मानी उपचार शुरु गर्नु पर्छ।

९) कहिलेकाही अरु भाईरस संग क्रस रियाक्टिभिटी (Cross Reactivity) हुनाले कोरोनाको संक्रमण नभएपनी फल्स पोजिटिभ नतिजा देखिन सक्छ।

१०) कहिलेकाही यो प्रक्रियामा धेरै पटक रिपिट गरेपछि मात्र सहि रिपोर्ट पाउन सकिन्छ। चीनमा ५१ जना अस्पतालमा भर्ना भएका मानिसहरू मा गरिएको एउटा अध्ययनमा २९ प्रतिशत बिरामीमा घाँटी बाट लिइएको स्याम्पलमा पटकपटक यो टेष्ट नेगेटिभ पाईएको थियो। त्यस्तै सिंगापुरमा ७० जना मानिसमा गरिएको अध्ययनमा ११ प्रतिशत मानिसमा पटकपटक नेगेटिभ रिपोर्ट पाईएको थियो। दुबै अध्ययन मा ४ पटक भन्दा बढी पल्ट यो टेष्ट गरेपछि मात्र पोजिटिभ रिपोर्ट  देखिएको थियो।

११) गुणस्तरीय केमिकल र रियाजेन्टहरु को अभावमा ब्यक्ति संक्रमीत नभएपनि फल्स पोजिटिभ रिपोर्ट आउन सक्छ।
स्वयम सि.डि.सि. को शुरुका दिनका अनुभबमा एउटा केमिकलले कोभ-१९ कोरोना भाईरस लाई जस्तो अन्य किसिमका कोरोना भाईरसको जिनले पनि प्रतिक्रिया गरेको पाईयो। यस बाट फल्स पोजेटिभ केस धेरै  देखिएको थियो।

त्यसैले मसिन तथा त्यसको लागि उपलब्ध केमिकल/रियाजेन्ट्सहरु को गुणस्तरीयता, ल्याब टेक्निसियन को अनुभव तथा गर्ने बिधि, स्याम्पल लिने तरिका, श्रोत, पठाउने बिधि तथा पठाउन र जांच शुरु गर्न लागेको समय, यी सबै कारणले सृजना गर्न सक्ने स्याम्पलको गुणस्तरहिनता, पिसिआर मसिनको पुर्ब तयारी अबस्था, प्राबिधिक को तालीम तथा अनुभव, समय अनुसार हुनसक्ने मानवीय कमजोरी, आदि सबै कारणले पिसिआर टेष्टको रिपोर्टको शत्यता र बिश्वष्नियता मा प्रभाव पार्न सक्छ।

यी छलफल बाट पनि पिसिआर टेष्टको एउटा नतिजा नै ब्यक्तिमा कोभ-१९ को संक्रमण छ बा छैन भन्न पर्याप्त हुँदैन भन्ने तथ्य स्पष्ट हुन्छ।

धेरै स्याम्पल लाई एकैपल्ट जांच गर्न मिल्ने अटोमेटेड आर.टि.-पि.सि.आर. मसिन बाट हुने परिक्षण केन्द्रिय ल्याब बाहेक साना अस्पतालमा गर्न सम्भब हुँदैन Cefeid, Abotte जस्ता अमेरिकाका केही स्तरीय कम्पनीले नयाँ जेनेरेसनका कम क्षमता भएका तर पोर्टेबल आर टि- पिसिआर मेसिनहरुको पनि उत्पादन शुरु गरेको छ भने केही शुरु हुने क्रममा छन् ; जसले १५ मिनेट देखि ४५ मिनेट भित्र रिपोर्ट दिन सक्छन् । साना अस्पताल को लागि कम महँगो र साना मसिनहरु तुलनात्मक धेरै प्रयोगमा ल्याईनु पर्ने हुन्छ।

* आर.टि.-पि.सि.आर. टेष्टका रिपोर्ट लाई  कसरी विश्लेषण गर्ने ?

(a) यदि पिसिआर टेष्ट को नतिजा पोजिटिभ देखिएमा बर्तमान समयमा उक्त ब्यक्तिको स्याम्पलमा कोभ-१९ भाईरसको सक्रिय संक्रमण छ भन्ने बुझ्नु पर्छ।

b) यदि पि.सि.आर. टेष्टको रिपोर्ट नेगेटिभ भएमा निम्न तथ्यहरु बुझझ्नु पर्छ:

१) बर्तमान समयमा ब्यक्ति कोभ-१९ भाईरस बाट संक्रमित छैन भन्ने बुझ्नुपर्छ;वा

२) उक्त स्याम्पलमा भाईरस छैन भन्ने;

३) परिक्षण गरिएको स्याम्पल गुणस्तरीय छैन भन्ने; वा

४) ब्यक्ती संक्रमित भएको भएपनि जुन स्रोतबाट स्याम्पल लिएको हो त्यो स्रोतबाट लिईएको स्याम्पलमा भाईरस देखिएन भन्ने, त्यस्तो अबस्थामा घाँटीको स्याम्पल लिईएको थियो भने नाकको स्याम्पल लिने र नाकको स्याम्पल लिईएको थियो भने खकारको  स्याम्पल बा श्वासप्रश्वास प्रणालीको तल्लो भागको स्याम्पल लिएर २-३ दिनपछि फेरि परिक्षण गर्नुपर्छ भन्ने; बा

५) परिक्षण कार्य संक्रमण भएको समय भन्दा  अघि बा पछि हुन गएको छ भन्ने; बा

६) राम्रोसँग ननिकालिएको बा स्याम्पल लाई तयारी गर्ने प्रक्रिया नमिलेको ले गुणस्तरहीन स्याम्पल भएको भन्ने ; बा

७) ब्यक्ति मा भएको संक्रमण निको भैसकेको ले सक्रिय भाईरस नभेटिएको हुन सक्छ भन्ने; बा

८) यसैले पुन अर्को श्रोत बाट स्याम्पल लिएर केही दिन पछि फेरि गर्नु पर्छ भन्ने बुझिन्छ।

B) ल्याम्प टेष्ट (Loop- Mediated Isothermal Amplification Test):

यो आर.टि.- पि.सि.आर. संग मिल्दोजुल्दो प्रक्रियामा आधारित परिक्षण विधि हो। तर यसमा डि.एन.ए. का प्रतिलिपी बनाउन को लागि तापक्रम बढाउने र घटाउने प्रक्रियाको साइकल को सट्टा ६० देखि ७० डिग्री सेन्टिग्रेड को स्थिर तापक्रम मिलाएर जाँच प्रक्रिया सम्पन्न गरिन्छ। आर.टि.-पि.सि.आर. को तुलनामा यसबाट अझै बढी संख्यामा डिएनए का कपिहरु बन्दछन। यसमा रिपोर्ट हेर्नको लागि मेसिनको साटो आखाबाट नै हेर्न सकिन्छ।

यो आर.टि.- पि.सि.आर. को तुलनामा अलि नयाँ प्रबिधीमा आधारित सामान्य र प्राबिधिक लाई तुलनात्मक रूपमा सजिलो हुने उपयोगी परिक्षण विधि हो। यसमा अन्तिम रियाक्सन मिस्चर मा देखिने धुवाँलोपन बा रङ्गमा देखिने परिबर्तन हेरि पोजिटिभ बा नेगेटिभ भएको निर्क्योल गर्न सकिन्छ। यसलाई उच्च समबेदनशिलता (Sensitivity) भएको बिश्वासिलो परिक्षण विधिको रूपमा मानिएको छ।

* ल्याम्प टेष्टका राम्रा पक्षहरु:

१) यस बाट कम समयमा २-३ घण्टा भित्र रिपोर्ट लिन सकिन्छ।

२) यसको नतिजा आँखाले नै हेरेर भन्न सकिन्छ।

३) यो सामान्य र सस्तो प्रबिधि भएको र सामान्य अस्पतालका ल्याबहरुमा पनि गर्न सकिने भएकोले स्याम्पल लिएर केन्द्रिय ल्याब सम्म पठाउन र आर्टी-पिसिआर लाई जस्तो लामो प्रक्रिया सम्पन्न गर्न लाग्ने समय बचाउन सकिन्छ।

४) साथै यसमा स्याम्पल लिदासाथ हेर्न सकिने भएकोले स्याम्पलको गुणस्तरियता बिग्रने डर कम हुन्छ।

४) यसबाट बर्तमान समयमा ब्यक्ति संक्रमीत छ बा छैन स्पष्ट भन्न सकिन्छ।

* ल्याम्प टेष्टका नराम्रा पक्षहरु:

१) आर्टि-पिसिआर को तुलनामा यो प्रबिधि नयाँ भएकोले यो लामो समय को अनुसन्धान को पृष्ठभुमिमा आधारित छैन।

२) यसको निर्माण तथा उत्पादनको लागि आबश्यक बैज्ञानिक आधार बढी जटिल  किसिमको छ।

३) पहिले संक्रमण भएर निको भैसकेको हो बा संक्रमण नै नभएको हो भन्ने बारे यसले स्पष्ट जानकारी दिन सक्दैन।

४) आर्टिपिसिआर मा जस्तै श्वासप्रश्वास प्रणाली को कुन भाग बाट स्याम्पल लिईएको हो त्यो श्रोत अनुसार नतिजा लाई प्रभाव पार्न सक्छ।

 

* यो ल्याम्प टेष्टको नतिजा लाई कसरी विश्लेषण गर्ने ?

(a) यदि यो टेष्ट पोजिटिभ देखिएमा बर्तमान समयमा ब्यक्ति सक्रिय संक्रमणमा छ भन्ने बुझ्नुपर्छ।

(b) यदि यो टेष्ट नेगेटिभ देखिएमा निम्न कुराहरू बुझ्नुपर्छ:

१) बर्तमान समयमा ब्यक्ति संक्रमित छैन;         अथवा

२) परिक्षण गरिएको स्याम्पलमा भाईरस छैन; अथबा

३) यो परिक्षण ब्यक्ति संक्रमण हुनुभन्दा अघि बा पछि हुन गएको छ भन्ने; अथवा

४) ब्यक्ति पहिले संक्रमित भएको थियो भने पनि हाल निको भैसकेको हुनुपर्छ भन्ने।

५) त्यसैले रिपोर्ट फल्स नेगेटिभ हैन भन्ने साबित गर्न केही दिनपछि फेरि नयाँ श्रोत बाट स्याम्पल लिएर पुनः परिक्षण गर्नु पर्छ भन्ने बुझ्नु पर्छ।

C) र्यापिड टेष्ट/सेरोलोजिकल टेष्ट/एलिसा टेष्ट (Enzyme- Linked Immunosorbent Assay):

* र्यापिड टेष्ट दुई किसिमका छन् :

a) एन्टिबडि पत्ता लगाउने बिधिमा आधारित
b) एन्टिजेन पत्ता लगाउने बिधिमा आधारित

a) एन्टिबडी हेर्ने बिधिमा आधारित:

हाल नेपालमा यस बिधिमा आधारित र्यापिड डायग्नोस्टिक टेष्ट कीट (RDT) प्रयोगमा ल्याईएको देखिन्छ। साधारणतया कोभ-१९ भाईरसको संक्रमण पछि ब्यक्तिको शरीरमा दुई किसिमको ईम्युनोग्लोबुलिन हरु पैदा हुन्छन् – आई. जि. एम. (IgM) र आई. जि. जि (IgG). IgM Antibody कोभ-१९ भाईरसको संक्रमण भएको ८ दिनपछि पैदा भएर २१ दिनपछि शरीरबाट हराउँछ। यसैले सेरोलोजिकल टेष्ट बा हाल नेपालमा प्रयोग भैरहेको र्यापिड टेष्टमा कोरोनाको संक्रमण भएको ८ दिनपछि मात्र पोजिटिभ देखिन्छ। अर्थात यदि संक्रमण भएको ८ दिनभित्र यो परिक्षण गरियो भने कोरोना बाट संक्रमित भएपनि रिपोर्ट नेगेटिभ देखिन्छ। त्यस्तै IgG एन्टिबडी कोरोना भाईरस को संक्रमण भएको १४ दिन पछि पैदा हुन शुरु भै ४ हप्तामा पिकमा पुग्दै लामो अबधि सम्म रहिरहन्छ भन्ने मानिएको छ।
अमेरिकामा १७३ जना कोभिड-19 का बिरामीहरुमा गरिएको एउटा अध्ययनमा  संक्रमण भएको दिन देखि एन्टिबडिहरु देखिने मिडियन टाईम आईजिएमको लागि १२ दिन र आईजिजि को लागि १४ दिन लागेको पाईएको थियो। ४० प्रतिशत भन्दा कम मानिसमा मात्र लक्ष्यण देखिएको पहिलो हप्तामा यस्ता एन्टिबडी पाईएको थियो। १५ दिन पछि आईजिएम एन्टिबडि ९४ प्रतिशतमा र आईजिजी एन्टिबडी ८० प्रतिशतमा पाईएको थियो।

* र्यापिड एन्टिबडी टेष्ट को प्रक्रिया:

सेरोलोजिकल टेष्ट अन्य रोगको लागि पनि प्रयोग हुँदै आएको पुरानै प्रबिधीमा आधारित परिक्षण बिधि हो। साधारणतया हाम्रो शरीरमा जिबाणुहरु (Antigen) ले प्रवेश गरे पछि त्यस विरुद्ध लड्न को निमित्त हाम्रो रगतमा भएको बि- लिम्फोसाईट ले बचाउ प्रोटिनहरु पैदा गर्छन् जसलाई इम्युनोग्लोबुलिन बा एन्टिबडी भनिन्छ। यहि इम्युनोग्लोबुलिन ब्यक्ति को रगतको स्याम्पल मा छ बा छैन भनी हेरिने परिक्षण नै र्यापिड टेष्ट बा एलिसा टेष्ट हो।

यस्ता र्यापिड किटमा सार्स-२-कोभ- 19 भाईरसको स्पेसिफिक भाईरल एन्टिएन्टिजेनहरु त्यसमा रहेको पेपर मा फिक्स गरि प्लास्टिकको केसले बेरिएको हुन्छ।
जब ब्यक्ति को ब्लड अथवा सेरम को स्याम्पल उक्त कीट मा राखिन्छ, यदि त्यस स्याम्पलमा  कोरोना भाईरस को एन्टिबडी रहेको खण्डमा,
यी एन्टिबडिहरु किटको स्पेसल पेपर भित्र रहेका कोभ-१९भाइरस को खास प्रोटिन-एन्टिजेन संग टासिन पुग्छन् । जसलाई खास ईन्जाईमले थप मध्दत गर्दछ। यी दुईका बिच हुने एन्टिजेन-एन्टिबडी रियाक्सन बाट त्यसमा लाईनहरुमा हुन जाने रङ्ग को परिवर्तनको आधार मा उक्त स्याम्पल पोजिटिभ बा नेगेटिभ भएको भन्न सकिन्छ। अथबा उक्त ब्यक्तिको स्याम्पलमा इम्युनोग्लोबुलिनहरु (एन्टिबडि) छन् भन्ने बुझिन्छ।

यसको खासियत यो छ कि यदि यो टेष्ट पोजिटिभ देखिएको खण्डमा ब्यक्ति कम्तीमा आठ दिन अघि संक्रमित थियो भन्ने बुझ्न  सकिन्छ। यसलाई कन्फर्म गर्न पि. सि. आर. टेष्ट गरिन्छ। यदि पिसिआर टेष्ट पोजिटिभ भएमा ब्यक्ति बर्तमान समयमा संक्रमित छ भन्ने कन्फर्म हुन्छ भने यदि पिसिआर टेष्ट नेगेटिभ भएमा ब्यक्तिमा पहिले संक्रमण थियो तर अहिले निको भैसकेको छ भन्ने बुझ्नु पर्छ। यो टेष्ट लाई इम्युनोएसे (Immunoassay) पनि भनिन्छ।

* र्यापिड एन्टिबडि टेष्ट का राम्रा पक्षहरु:

१) यो सस्तो र सामान्य खालको हुनुको साथै कम समयमा धेरै लाई गर्न सकिने टेष्ट हो यसबाट ३ देखि १३ मिनेट भित्र रिपोर्ट निकाल्न सकिन्छ। यसमा थुप्रै स्याम्पल लाई एकैपटक परिक्षण गर्न सकिने भएकोले महामारी को बेलामा कम संख्यामा धेरै जनसंख्यालाई स्कृनिङ्ग गर्न यसको महत्त्व हुन्छ।

२) यो दक्ष जनशक्ति बिना सामान्य तालिम लिएका मानिसहरू बाट पनि गर्न सकिने टेष्ट भएकोले यसको लागि ल्याबको जरुरत पर्दैन। यो फिल्ड बा हटस्पटमा पनि गर्न सकिने टेष्ट हो।

३) यो र्यापिड एन्टिबडी टेष्टले ब्यक्तिमा कुनै लक्ष्यण भए बा नभएपनि संक्रमित भएको एक हप्ता अघिको कुनै पनि समयमा उक्त ब्यक्ति पहिले संक्रमित थियो थिएन भन्ने जानकारी दिन सक्छ।

४) पिसिआर टेष्ट सबैलाई उपलब्ध गर्न नसकिने अबस्थामा ब्यक्तिमा कोभिड-१९ रोगको लक्ष्यण भएको बा संबेदनसिल स्थान बाट आएको बा कोभिड-१९ को बिरामीको सम्पर्कमा आएको हिस्ट्री भएको अबस्थामा उसलाई कोभिड संक्रमण भएको मानेर यस्ता ब्यक्तिलाई पछि पिसिआर टेष्ट गर्ने गरि क्वारेन्टाइन मा पठाउन यो टेष्ट उपयोगी हुनसक्छ।

५) संक्रमित भएको १ हप्ता पछि मात्र यस्ता टेष्टमा पोजेटिभ देखिने भएकोले यस्ता सेरोलोजिकल स्कृनिङ्ग गर्ने टेष्टहरु ठूलो स्केलमा व्यापक रुपमा प्रयोगमा ल्याउदा कुन भुगोलको कति समुदायमा पिसिआर टेष्ट नेगेटिभ पाईएका, सामान्य लक्ष्यण मात्र देखिएका बा रोगका कुनै पनि लक्ष्यण नदेखिएका सब-क्लिनिकल ईन्फेक्सन भएका कोभिड-१९ संक्रमित मानिसहरु कति भारी रूपमा समुदायमा फैलिएको रहेछ भन्ने कुराको तस्बिर थाहा हुन सक्छ।
तर यस्ता टेष्टहरुले दिने रिपोर्टको शत्यता (Accuracy) को मुल्यांकन र प्रमाणीकरण (Validity) हुन भने बाकी नै छ।

६) यो टेष्टको सेन्सिटिभिटी पहिलो हप्तामा ३८ प्रतिशत हुन्छ भने दोस्रो हप्तामा ९० प्रतिशत सम्म हुन्छ भन्ने मानिएको छ। तर यसको थप मुल्यांकन तथा प्रमाणीकरण को लागि थप अनुसन्धान हुन बाकी छ।

७) महामारी को बखतमा पिसिआर टेष्ट धेरै भन्दा धेरै जनसंख्या लाई उपलब्ध गराउन नसकिने अबस्थामा यस्ता र्यापिड एन्टिबडी टेष्टले केही मानिसलाई समात्न बा चिन्न सक्यो भने पनि धेरैलाई फाइदा हुन सक्छ भन्ने अर्थमा यो टेष्टलाई प्रयोगमा ल्याईएको हो।
कन्टयाक्ट ट्रेसिङ्ग तथा निगरानी (Surveillance) गर्ने काम संग यो टेष्टलाई उपयोग गर्न सकिन्छ।

८) यस बाट सामान्य लक्षण भएका बा कुनै लक्षण नभएका के कति संख्याका मानिसहरू समुदायमा छन् भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले सामान्य मात्र लक्षण भएकोले शंका नगरिएका बा लक्षण नै नभएका तर ६-७ दिन अघि संक्रमित भएको हुन सक्ने मानिसहरू लाई स्वस्थ समुदाय बाट अलग आईसोलेसन मा राखी स्वस्थ समुदायमा रोग सर्न बाट केही हदसम्म बचाउन सकिन्छ। तर यसलाई कन्फर्म्ड रिपोर्ट को रूपमा लिन भने सकिदैन।

९) यस बाट माहामारी को बखतमा सक्रिय संक्रमण भएका मानिसहरु को सम्पर्कमा आएका तर कुनै लक्ष्यण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ।
साथै समुदायको कति जनसंख्या मा सामुहिक इम्युनिटी (Herd Immunity) को बिकास भएको रहेछ भन्ने पनि तथ्य पनि थाहा पाउन मध्दत मिल्न सक्छ। तर ईम्युनिटिको सन्दर्भमा थप अनुसन्धान हुन बाकी छ।

१०) माहामारी को बखतमा सक्रिय संक्रमण भएका मानिसहरु को सम्पर्कमा आएका तर कुनै लक्ष्यण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ।

११) एन्टिबडी पोजिटिभ भएका मानिसहरु संग यो रोग संग लड्न सक्ने क्ष्यमता हुने मान्यता रहेको हुँदा यस्ता बिरामी लाई आफ्नो काम कम संकोचका साथ गर्न अनुमति दिन सकिन्छ। तर संक्रमीत ब्यक्तिमा बिकसित भएको एन्टिबडी ले कति पछि सम्म र कुन मात्रामा यो भाईरस बाट ईम्युनिटी दिन्छ भन्ने कुरा अझै स्पष्ट भैसकेको भने छैन।

१२) यस्ता ब्यक्ती को रगतमा रोग संग लड्ने एन्टिबडी हुने हुँदा यिनको रगत बाट प्लाज्मा निकालेर विभिन्न देशमा कोरोना संक्रमण बाट मृत्यु संग लडिरहेका मानिसलाई दिने गरिएको र त्यसबाट केहिमा फाईदा भएको प्रारम्भिक रिपोर्ट आएको भएपनी पछिल्लो समयमा मिश्रित नतिजा देखिएको छ। हालसम्म यसलाई उपचार को निमित्त उपयोगी भएको भनी ठूलो स्केलको अध्ययन बाट प्रमाणित भै स्थापित भैसकेकोको अबस्था छैन।

१३) कहिलेकाही ढिलो गरि उपचारको लागि आएका मानिसमा डायग्नोसिस को पनि काम गर्न सक्छ।

* र्यापिड एन्टिबडी टेष्टका कमजोर पक्ष्यहरु:

१) यदि कुनै मानिस को रगतको स्याम्पल संक्रमित भएको ८ दिन भित्र र्यापिड किट टेष्टबाट परिक्षण गरिएमा ब्यक्ती संक्रमीत भएपनी यो टेष्टमा पोजिटिभ देख्न सकिदैन। अथवा सो अबधी भित्र फल्स नेगेटिभ रिपोर्ट निस्कने चान्स बढी हुन्छ। कोभ-१९ भाईरसको संक्रमण पछि शरीरमा एन्टिबडी बन्न ८ दिन लाग्ने भएकोले संक्रमित भएको ८ दिन पछि परिक्षण गरे मात्र यो टेष्ट पोजिटिभ देख्न सकिने हुन्छ।

२) कोरोना भाईरसका सातवटा किसिम मध्य चारवटा टाईप हाम्रो नजिकको बाताबरणमा नै हुन्छन, जसले आफै सञ्चो हुने खालका सामान्य रुघाखोकी लगाउने खालका हुन्छन् । बाकी दुई मध्य एउटाले सन् २००२-२००३ मा चीन, हङकङ, कोरिया आदि देशमा फैलाएको जस्तो सार्स (SARS) फ्ल्यु को महामारी र अर्कोले २०१४ मा मिडिलईष्टमा फैलाएको फ्ल्युको महामारी जस्तो
मर्स फ्ल्यु (MERS) गराउन सक्छन। यदि यी मध्य कुनैपनि कोरोना भाईरसको एन्टिबडी ब्यक्तिको रगतमा भएको खण्डमा कोभ-१९ भाईरसको एन्टिबडिले जस्तै र्यापिड किटको एन्टिजेन प्रोटिन संग रियाक्ट गरि फल्स पोजिटिभ रिजल्ट दिन सक्छन् । यसलाई क्रस रियाक्टिभिटी भनिन्छ। तर यी मध्य कुनै पनि कोरोना भाईरसको संक्रमण संगसंगै कोभ-१९ भाईरसको पनि संक्रमण हुँदैन भन्ने चाहिँ पटक्कै हैन।

३) प्यान्डेमिकको शुरूवात संगै आधुनिक  प्रबिधियुक्त ल्याबमा मात्र गर्न सकिने मोलेकुलर पिसिआर (PCR) ल्याब टेष्टका लागि आबश्यक औजार, केमिकल तथा रियाजेन्ट्स हरुको आपूर्ति गर्ने क्षमतामा गम्भीर रूपमा कमि हुन गयो। त्यसपछि विभिन्न कम्पनीले ल्याब बाहिर फिल्डमा गर्न सकिने यस्ता र्यापिड टेष्ट किटहरु बिक्री गर्न शुरु गरे। डब्लुएचओ ले नयाँ बिचार प्रयोग गरि विश्व जनसंख्या को आबस्यकता पूरा गर्न समर्थन मात्र गर्यो। अहिलेसम्म डब्लुएचओ ले यस्ता किटहरुलाई अध्ययन अनुसन्धान को लागि मात्र प्रयोग गर्न अनुमती दिएको छ। तर ब्यक्तीमा उपचारको लागि कोभ-१९ भाईरसको संक्रमण भएको छ बा छैन भनी हेर्नको लागि यो टेष्टलाई प्रयोगमा ल्याउन अनुमती दिएको छैन।

प्रभाबकारी ट्रेसिङ्ग र निगरानी (सर्भेईलेन्स) हुन नसकेको कुन भूगोल का कति जनसंख्या मा रोग फैलिएको छ भन्ने अप्रत्यक्ष रूपमा थाहा पाउन र यो टेष्टको आफ्नै बिश्वसनियता कति छ भन्ने थाहा पाउन मात्र यसको प्रयोगको लागि सिफारिश गरेको हो। रोग छ बा छैन भनी उपचारात्मक क्लिनिकल निर्णय गर्नको लागि अध्ययन अनुसन्धान बाट प्रमाणहरु स्पष्ट नभएसम्म  यसलाई प्रयोगमा ल्याउन स्वीकृति दिईएको हैन। त्यसैले  कोभ-१९ को क्लिनिकल डायग्नोसिस गर्न र यसको रिपोर्टको आधारमा कोभ-१९ को संक्रमण छैन भनी पन्छाउनको लागि यो टेष्टलाई प्रयोगमा ल्याउनको लागि एफ.डि.ए. ले पनि स्वीकृति दिएको छैन।

४) र्यापिड टेष्टहरु कोरोना भाईरसको निदानको लागि स्थापित परिक्षण विधि हैन। त्यसैले कोरोना को निदान को लागि यसको नतिजा कत्तिको सहि हुन्छ भन्ने कुरा अध्ययन र मुल्यांकन कै अबस्थामा छ। यस परिक्षणले दिने रिपोर्ट को शत्यता (accuracy) र बिश्वसनियता (reliability) को थप बैधानिकता तथा प्रमाणीकरण (validation) हुन बाकी छ।

५) यो टेष्टले संक्रमण नभएका मानिसलाई फल्स पोजिटिभ रिपोर्ट दिने र संक्रमण भएका मानिसलाई फल्स नेगेटिभ रिपोर्ट दिने सम्भावना रहन्छ।

६) धेरैजसो एन्टिबडी रेस्पोन्स रिकभरी स्टेजमा या दोस्रो हप्तामा मात्र बिकास भएको पाईएको छ। जतिखेर रोग फैलिन बाट रोक्नको लागि अत्यावश्यक क्लिनिकल तथा ईपिडेमिओलोजिकल हस्तक्षेपपुर्ण औजारहरु प्रयोग गर्ने महत्त्वपूर्ण समय बिति सकेको हुन्छ, त्यस्तै त्यतिखेर सम्म अरु समुदाय लाई रोग फैलाई सकेको हुन्छ।

७) अर्को कुरा आर.डि.टि. टेष्टले देखाउने भनिएको एन्टिबडी कति बृहत रूपमा, कति कम बा बढी मात्रामा, कति समयसम्म र कति स्थिर रूपमा पैदा हुन्छ, भन्ने कुरा नै अहिले विश्वभरी बिबाद, अध्ययन र मुल्यांकन को बिषय बनेको छ।

८) आर्डिटी बाट देखिएको एन्टिबडिले ब्यक्तिलाई फेरि कोरोना को पुन संक्रमण हुन बाट बचाउछ भन्ने बारेमा अहिलेसम्म कुनै स्पष्ट प्रमाण भेटिएको छैन।

९) कोभिड- 19 बाट ग्रसित कतिपय मानिसहरू मा यस्ता एन्टिबडिहरु कतिपयमा कमजोर मात्रामा मात्रै थोरै बनेको, कतिमा ढिलो बनेको र कतिपयमा बन्दै नबनेको पनि अध्ययनले देखाएको छ। विश्वभरीका बैज्ञानिकहरुमा अहिले यो हट टपिक बनेको छ र अनुसन्धान प्रक्रिया जारी छ।

१०) ब्यक्तिमा उत्पादन हुने एन्टिबडी थुप्रै अबस्थाहरु जस्तै उमेर, पोषण, डायबेटिज, मुटु, कलेजो, मृगौला, फोक्सो, रगतका दिर्घरोगहरु, क्यान्सर, इम्युन सिस्टम कमजोर हुने एचआईभी तथा अन्य रोगहरु र स्टेरोइड, ईम्युनिटि कम गर्ने इम्युनोसप्रेस्यान्ट ग्रुपका औषधि लिईरहेको अबस्था, आदि सयौं कारण मा भर पर्दछ। यस्ता मानिसहरू मा कोभ-१९ भाईरसका एन्टिबडी कम बन्ने बा कहिलेकाही बन्दै नबन्न सक्छ; अर्को शब्दमा यस्ता बिरामीमा संक्रमण भएपनि र्यापिड एन्टिबडी टेष्ट नेगेटिभ आउने चान्स बढी हुन्छ। त्यती मात्र नभै कोरोनाका लक्ष्यणहरु पनि नदेखिने सम्भावना बढी हुन्छ। यदि यस्ता मानिसमा र्यापिड टेष्ट नेगेटिभ छ भनेर घर पठाईएमा ब्यक्ति, समुदाय र राष्ट्रलाई नै घातक सिध्द हुनसक्छ।

११) आर डि टि किटको गुणस्तरीयता सम्बन्धमा अमेरिका, ईटाली, बेलायत, भारत थुप्रै मुलुकहरू मा शंका उब्जेको र जाँच प्रक्रिया रोक्नु परेको अवस्था छ। यसमा विभिन्न कम्पनीका उत्पादनमा खोट भएको आसन्का गरिएको छ।

* र्यापिड एन्टिबडी टेष्टको रिपोर्ट लाई कसरी बुझ्ने ?

(a) यदि र्यापिड एन्टिबडी टेष्ट पोजिटिभ देखिएमा निम्न कुरा बुझ्नुपर्छ:

१) उक्त ब्यक्ती कम्तीमा ८ दिन देखि कोभ-१९ भाईरस बाट संक्रमित छ भन्ने बुझ्नुपर्छ; अथबा

२) उक्त ब्यक्ती ८ दिन अघि कुनै पनि समयमा संक्रमित भएको थियो भन्ने बुझ्नुपर्छ।

(b) यदि यो र्यापिड टेष्ट नेगेटिभ भएमा निम्न कारणहरु  हुन सक्छन भन्ने बुझ्नु पर्छ:

१) पहिलो, ब्यक्तिमा ८ दिन भित्रको समय सम्म कोभ-१९ बाट संक्रमण छैन भन्ने; अथवा

२) स्याम्पलमा एन्टिबडी छैन भन्ने; अथबा

३) यो परिक्षण गर्ने कार्य संक्रमण भएको ८ दिन भित्र बा एन्टिबडी देखिने समयभन्दा छिटो भयो भन्ने;

४) अर्को आर्डिटी कीट गुणस्तरीय छैन कि ? भन्ने बुझ्नुपर्छ।

* एन्टिजेन हेर्ने बिधिमा आधारित र्यापिड टेष्ट:

यो टेष्ट एन्टिबडि हेर्ने टेष्ट जस्तै भएपनि यस को कीटमा स्पेसल भाईरल एन्टिबडी रहेको हुन्छ जसमा ब्यक्तिको रगतको स्याम्पलमा एन्टिजेन रहेको खन्डमा किटको  एन्टिबडी संग हुने प्रतिक्रिया बाट किट्मा हुने रङ्गको परिबर्तनको आधारमा उक्त स्याम्पलमा भाईरसको एन्टिजेन भए नभएको थाहा हुन्छ।

एन्टिबडी हेर्ने आर डि टि भन्दा  एन्टिजेन हेर्ने यस्ता किटबाट संक्रमण भएको शुरुको दिनमा नै संक्रमण भएको छ छैन थाहा हुन्छ। तर यसमा ५० प्रतिशत भन्दा बढी मानिसहरू मा संक्रमण भएर पनि नदेखिने हुँदा छुट हुन सक्ने सम्बाभना हुन्छ। त्यस्तै कोभ-१९ कोरोना भाईरस बाहेकका अन्य भाईरसको एन्टिजेन पनि किटमा भएको एन्टिबडिले पहिचान गरेको अबस्थामा फल्स पोजिटिभ रिजल्ट पनि आउने सम्भावना हुन्छ। यसको रिपोर्टको शत्यता स्थापित भैनसकेको कारणले डब्लुएचओ ले हालको अबस्थामा यो टेष्टलाई प्रयोग को निमित्त स्विकार गरेको छैन। भबिश्यमा थप अध्ययन अनुसन्धान पछि यसलाई प्रयोग ल्याईन सक्छ।

*  अब समग्रमा कोभ-१९ भाईरसका सबै प्रबिधिका परिक्षणहरु का सबै रिपोर्टहरुको आधारमा हामी सबैले कसरी समिक्षा र विश्लेषण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ। यसलाई संक्षेपमा निम्न बमोजिम उल्लेख गरिएको छ:

a) यदि पिसिआर टेष्ट पोजिटिभ छ तर आईजिएम र आईजिजी एन्टिबडी नेगेटीभ छ  भने बिरामी संक्रमणको विन्डो पिरेड् (Window Period) मा छ भन्ने बुझ्नु पर्छ।

b) यदि पिसिआर टेष्ट र आईजिएम एन्टिबडी पोजेटिभ छ, तर आईजिजी एन्टिबडी नेगेटिभ छ भने ब्यक्ति संक्रमणको शुरुको अबस्थामा छ भन्ने बुझ्नु पर्छ।

c) यदि पिसिआर टेष्ट, आईजिएम एन्टिबडी र आईजिजी एन्टिबडी तिनै वटा पोजिटिभ भएमा ब्यक्ती संक्रमणको सक्रिय अबस्थामा छ भन्ने बुझ्नु पर्छ।

d) यदि पिसिआर टेष्ट र आईजिजी एन्टिबडी पोजेटिभ छ तर आईजिएम एन्टिबडि नेगेटिभ छ भने ब्यक्ति संक्रमणको पछिल्लो अबस्थामा छ अथवा ब्यक्तिमा पटकपटक संक्रमण भैरहेको छ भन्ने बुझ्नु पर्छ।

e) यदि पिसिआर टेष्ट र आईजिजि एन्टिबडी नेगेटिभ छ तर आईजिएम एन्टिबडी पोजिटिभ छ भने ब्यक्ती संक्रमणको शुरुको अबस्थामा छ बा पिसिआर टेष्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नुपर्छ।

f) यदि पिसिआर टेष्ट र आईजिएम एन्टिबडी नेगेटिभ छ तर आईजिजी एन्टिबडी पोजेटिभ छ भने ब्यक्ति बिगतमा संक्रमित थियो तर अहिले निको भैसकेको छ भन्ने बुझ्नुपर्छ।

g) यदि पिसिआर टेष्ट नेगेटिभ छ तर आईजिएम र आईजिजी एन्टिबडी दुबै पोजिटिभ छ भने ब्यक्ती संक्रमणबाट सञ्चो हुँदै गरेको अबस्थामा छ अथबा पिसिआर टेष्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नु पर्छ।

पाँच करोड जनसंख्या भएको दक्षिण  कोरियाले ६ शय ल्याब सेन्टर स्थापना गरि  आफ्ना ६ लाख २० हजार भन्दा बढी नागरिकमा ल्याब परिक्षण गरिसकेको छ।
जबकी २ करोड ५० लाख जनसंख्या भएको दक्षिण कोरियाको डेगु शहरमा मात्र कोभ- १९ भाईरसको संक्रमण सिमित थियो। चीनको हुबेई प्रान्तको उहान र ग्याङ्डोङ्ग शहरमा मात्र कुल ५२ लाख ६६ हजार नागरिकको कोभ-१९ भाईरसको टेष्ट गरिसकेको छ। त्यस्तै
भारतले कुल १४ लाख ३१ शय र अमेरिकाले आफ्ना ६५ लाख ५३ हजार ४ शय नागरिकको कोभ-१९ भाईरसको परिक्षण गरि सकेको छ। नेपालमा हालसम्म १७ वटा सेन्टर बाट ६० हजार ३ शय जनाको परिक्षण हुन सकेको छ।
त्यस मध्य १३ हजार ९८ जनाको मात्र पिसिआर परिक्षण हुन सकेको छ।

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

हाम्रो देशमा पछिल्लो समयमा भारत बाट भित्रिएका कोभ-१९ संक्रमण पुष्टि भएका मानिसहरू बढेका छन् । केही समुदायका मानिसमा पनि कोभिड-१९  पुष्टि भएका समाचार आएका छन् । क्वारेन्टाइन भित्र बसेका कोभ-१९ नेगेटिभ भएको भनी घर पठाइएका कतिपयमा पि सि आर पोजिटिभ भएको पाईएको छ। लकडाउन पुर्णतया सफल हुन सकेको छैन। लकडाउन को समय भित्र जुन तदारुकताका साथ पि सि आर टेष्टलाई प्रत्येक जिल्लामा व्यापक गराईनु पर्ने हो त्यो हुन सकेको छैन। हामी संग सिमित क्ष्यमता भएपनि टेष्ट सेन्टरहरु सकेसम्म बढाउदै लैजानुको विकल्प छैन। हामी संग कट्याक्ट ट्रेसिङ्ग, ट्रयाकिङ्ग तथा निगरानी बा सर्भेईलेन्स कार्यलाई अझै बढी प्रभाबकारी बढाउन सक्नु पर्ने चुनौती छ।

देशभरी का क्वारेन्टाइन र आईसोलेसनका मापदण्ड र क्ष्यमता अझै बढी सुदृढ बनाउदै अर्थपूर्ण बनाउन अझै बढी मेहिनत गर्नु छ। कम स्वास्थ्य शिक्षा र कम उत्प्रेरणता को कारणले कतिपय मानिसहरू लाई प्रशासनले क्वारेन्टाइनमा बस्न सुझाव दिदा पनि घर गएका, कोहि त क्वारेन्टाइन बाट भागेको पाईएको छ। स्वास्थ्य शिक्षा र जागरुकता ल्याउने काम टेलिभिजन र एफ. एम. मा मात्र भर पर्दा पर्याप्त नहुन सक्छ। हजारौं संयन्त्रहरु (टोलिहरु) निर्माण गरि गाउँ गाउँ टोल टोल र घर घर मा पठाई स्वास्थ्य शिक्षा दिने, ट्रेसिङ्ग गर्ने, निगरानी बा सर्भेईलेन्स गर्ने काम लाई अझ बढी उर्जाका साथ युद्धस्तरमा लागू गर्नुपर्ने छ। सदियौ देखि नै केन्द्रका निर्णयहरु लाई गाउँ गाउँ मा पुर्याई कार्यान्वयन गर्ने प्रणाली पहिले देखि नै कमजोर अबस्थामा थियो। जसलाई कम समयमा बिकसित गर्न हाम्रो सामु चुनौती छ। सिमापारी भारतमा संक्रमितको संख्या बढ्दो छ। भारतमा क्वारेन्टाइनमा बसेर पिसिआर टेष्ट नगरी शुक्रबार पठाइएका नेपाली दाजुभाइहरु को ब्यबस्थापन गर्ने काम चुनौतीपूर्ण बनेको छ। सिमापारीबाट नेपाल भित्रिने मानिसहरू लाई रोक्न त्यति सजिलो देखिन्न।

भारतमा कोभ-१९ को संक्रमण पिकमा पुगि झर्ने क्रममा हाम्रो देशमा बढने हो कि जस्तो आसंका देखिदै छ। लकडाउन खुकुलो गर्दा नदेखिएका संक्रमित बाट रोग फैलिने हो कि भन्ने डर छ। यसलाई रोक्नको लागि लकडाउन को अबधिमा अरु गर्नु पर्ने महत्त्वपूर्ण कामहरू भैरहेकोमा त्यसलाई अरु गतिका साथ कार्यान्वयन गर्नु छ। शुरुमा जुन जोस जागरका साथ हामी लागेका थियौ त्यतिनै गतिशीलता का साथ अगाडि बढ्दै जानु छ। यो समयमा हामीले कोरोनाको रोकथाम को लागि गर्नु पर्ने नियन्त्रणका कामहरू, उपचारात्मक योजना र तयारी लाई पुनरावलोकन गर्दै अघि बढ्नु छ। लकडाउन आफैमा सबथोक हैन। यसबाट देशको अर्थब्यबस्था अस्तब्यस्त भैसकेको र अरुबढी तहसनहस हुनेमा कुनै शंका छैन। तर यस्तै गरि नयाँ संक्रमितको संख्या बढ्दै जाने हो भने बाध्यता बस नबढाई सुख पनि छैन।

के हो क्वारेन्टाईन ? के हो लकडाउन ?

हाल लकडाउन को समयमा अन्य नियन्त्रण का क्रियाकलाप हरु व्यापक रूपमा देशैभरी बढाउन सकिएको खण्डमा बिस्तारै लकडाउन खुकुलो गर्न सकिन्छ। तर नियन्त्रणका औजार हरु प्रभाबकारी रूपमा कार्यान्वयन नभै लकडाउन खुकुलो गरिएमा नयाँ संक्रमित बाट अरु नयाँ समुदाय मा नयाँ वेभ शुरु भै फैलिने हो कि भन्ने डर पनि छ।

यसैले लकडाउनको अबधी लम्ब्याउन बाट रोक्नको लागि युद्धस्तरमा यसबीच अरु नियन्त्रण का क्रियाकलाप हरु व्यापक रूपमा देशैभरी निरन्तर बढाउन जरुरी छ। हामी सबैले के बिर्सनु हुन्न भने कोभ-१९ को संक्रमण सल्लाह गरेर हुने हैन। एउटा चरणका संक्रमित भै अरुलाई सार्न सक्ने समय सकिए पनि, जति पछिल्लो मितिमा नयाँ नयाँ संक्रमितहरु थपिदै जान्छन्  त्यति नै तिनले पनि पछिल्लो मितिमा नयाँ समुदाय लाई रोग सार्ने फैलाउने क्ष्यमता राख्दछ्न। त्यसपछि अर्को साईकल चल्न सक्छ। त्यसैले लकडाउन को अबधिमा हामीले माथी उल्लेख गरिए जस्ता रोग नियन्त्रण का औजार हरु लाई प्रभाबकारी ढंगले अघि बढाउन सकेनौ भने लकडाउन लम्ब्याउदै जानुपर्ने बाध्यता रहिरहन सक्छ।

अन्तमा कोभ-१९ भाईरसको निदानको लागि गरिने स्पेसिफिक टेष्टहरु बाहेक ब्यक्तिमा देखिएका कोभिड-१९ का लक्ष्यणहरु, संबेदनसिल ठाँउ बाट आएको हिस्ट्री, कन्ट्याक्ट हिस्ट्री, कन्ट्याक्ट् ट्रेसिङ्ग, कन्ट्याक्ट् ट्र्याकिङ्ग, निगरानी (Surveillance) तथा कोभिड-१९ को लागि गरिने स्पेसिफिक ल्याबटेष्ट बाहेकका अप्रत्यक्ष रूपमा कोभिड-१९ को पक्षमा पुष्टि दिने अन्य ल्याबटेष्टका बिबरणहरु कोभिड-१९ को नियन्त्रण र ब्यबस्थापनको लागि त्यतिनै बढी महत्त्व राख्छन् भन्ने तथ्य हामीले बिर्सनु हुदैन।

कोभीड-१९ संग हामी तर्सिने हैन तर साबधानी अपनाएर यसमाथि जित हासिल गर्ने हो। हामी सबै मिलेर काम गरेमा निश्चितरूपमा हामीले बिजय हासिल गर्ने छौँ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्

Keyword associated in this article mentioned by the Author

#RT-PCR (Reverse Transcriptase Polymerase Chain Reaction Test),  #SAARS-COV-19 Virus, COV-19 Virus, #CDC(Centre for Disease control), #LAMP (Loop Mediated Isothermal Amplification Test), #VTM (Virus Transfer Medium); Chemicals; Reagents; Immunoglobulins; IgM, IgG;#ELISA Test (Enzyme Linked Immunosorbent Assay); #Antigen; Antibody; Rapid Antibody Test; Herd Immunity; Surveillance; COVID-19; VTM (Virus Transfer Medium); Chemicals; Reagents; Immunoglobulins; IgM, IgG; ELISA Test (Enzyme Linked Immunosorbent Assay); Antigen; Antibody; Rapid Antibody Test; Herd Immunity; Surveillance; COVID-19, न्युक्लिओटाईड्स (Nucleotides); Sensitivity; Specificity; True Positive; False Positive, RT-PCR (Reverse Transcriptase Polymerase Chain Reaction Test)/SAARS-COV-19 Virus/COV-19 Virus/CDC(Centre for Disease control)/LAMP (Loop Mediated Isothermal Amplification Test)

Tags: ArticleCorona Virus #Covid19Plasma Therapy #COVID19
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा कोरोना सन्क्रमितको संख्या ६९ पुग्यो, आज एकै दिन १० जना थपिएका हुन् #Covid19

Next Post

नेपालगन्जमा फेरि ६ जनामा कोरोनाको पुष्टि संगै देशभरी सन्क्रमितको संख्या ७५ पुग्यो #Covid19

Related articles

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

4 hours ago
786
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

5 hours ago
786
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
842
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

1 day ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
797
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

3 days ago
783
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

नेपालगन्जमा फेरि ६ जनामा कोरोनाको पुष्टि संगै देशभरी सन्क्रमितको संख्या ७५ पुग्यो #Covid19

Comments 2

  1. Pingback: Star Hospital Sanepa को नक्कली RT-PCR रिपोट सम्बन्धि प्रेस रिलिज #COVID19 • Health News Nepal
  2. Pingback: Importance of Chest imaging in management of COVID-19 Disease • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...