✍️ सिर्जना शर्मा
शनिबारको दिन, म आँगनमा ध्वाई खेलिरहेकी थिएँँ । बरन्डामा घाम तापिराख्नु भएकी हजुरआमाले हात हल्लाउँदै अत्तिएझैँ मलाइ बोलाउनु भो “याँ आ छिटो, याँ आत” मैले उहाँको कुरा नसुने झैँ आफ्नै धुनमा खेलिरहेपछि उहाँ “किन नटेरेकी यसले हँ ? भन्दै पिटुला झैँ गरी म तिर आउनु भयो । म आफनो खेल छोडी हत्तपत्त उहाँको नजिक पुगेँ । उहाँले मेरो जामा तान्नु भो, उचाल्नु भो र आत्तिदै भन्नु भो ‘हे भगवान के भाको यो केटीलाई ? यति सानो उमेरमै ।…..उत्पाद…. अचम्म….।’
हजुरआमा आत्तिनु भएको देखि म अलमल्लमा परेँ । किन त्यसो भन्नु भो ? मैले के बिराएँ के गल्ती गरेँ, झट्ट अनुमान लगाउन सकिन। म पुलिसको कठघरामा परेको चोर झैँ उहाँ सामु उभिरहेँ । के? किन? भनी प्रतिप्रश्न गर्नेे आँट पनि आएन। मम्मी करेसाबारी तिरबाट आउँदै हुनुहन्थ्यो। उहाँलाई देख्नासाथ हजुरआमाले आत्तिदै भन्नु भो ‘बरबाद भो, रितु त छुइ भइ जस्तो छ । के हो यस्तो अचम्म उदेक? यति छिटै उमेर न सुमेर… । कसरी स्याहार्ने होला यस्ता सिँगानेले..नि… ।’
हजुर आमाका कुरा सुनेर मम्मीले आश्चर्य मानेझैँ भन्नु भो ‘हो र?’ ….यति छिटो त नहुनु पर्ने ।” मम्मीले पनि हजुरआमाले जस्तै मेरो जामा उचाल्नु भो र भन्नु भो।
“हे भगवान कति छिटै…?? ९ बर्ष त बल्ल पुरा भई यो । के अचम्म? निर्मला, सबिता, गौरा, दया सबै केटीहरु यो भन्दा २, ३ वर्षले जेठा हुन । तिनीहरु त अझै भएका छैनन् । यो किन यति छिट्टै ?… छुइ नै भएकी होकी की अरु केही हो?’ मम्मी पनि आत्तिनु भएको देखि म झन डराएँ । के बिराम भएछ म बाट ?” मैले आश्चर्य मान्दै प्रश्न गरेँ “के भो ? किन गाली गर्या मलाई सबैले?”
“गाली गर्या हैन । कस्ले गाली गर्या छ र तिमीलाई? उमेरै नभइ कति चाँडो छुइ भइ भनेर अचम्म मानेको मात्र हो । … अनि काँ गाथ्यौ छोरा अघि? कोहीसंग भेट भाथ्यो कि? खेल्याथ्यो कि… ?” मम्मीले मसंग अनौठा गरी सोध्नु भो । उहाँले सोधेका कुराको जवाफ दिन मलाई गाह्रो भो । अन्योल अनि डर त्रास । किन म माथि यस्तो सोधपुछ भैरहेछ ? मैले सानो स्वरमा भने ‘…कईँ पनि गा छैन । आँगनमा एक्लै घ्वाई खेलेर बस्या त छु म । ” मेरो जवाफ सुनेपछि मम्मीले भन्नु भो ‘ तिमी तँ छुई भइछौ छोरी । पहिलो पटकको छुइ त राम्ररी बार्नु पर्छ । एक्लै कोठामा बस्नु पर्छ । हाम्रो त घर पनि साँगुरो छ । यहाँ घरमा बस्न मिल्दैन । अब सानीमा काँ जानु पर्ला । उसको घरमा अलि कोठा धेरै छन् । कुरा गरिहेर्छु एकपटक ।’
‘किन याँ घरमा बस्न नहुने मम्मी?” मैले सोधें।
तिमी त छुइ भयौ नी । त्यै भएर याँ घरमा बस्न हुन्न । पहिलो पल्ट छुइ हुँदा केटाहरुको अनुहार पनि हेर्नु हुन्न । बाबा दाईहरुको अनुहार पनि हेर्नु हुन्न ।”
“म छुइ भएँ ? छुइ भनेको केहो ? किन मैले आफनो घरमा बस्न भएन र सानीमाको घरमा जानुपर्ने भो, किन मैले बाबा दादाको अनुहार पनि हेर्न नहुने हो? मैले केही बुझिन । सानीमाको घर नजिकैै थियो । म दिनहुँ उहाँको घरमा जान्थे, खान्थे, खेल्थे रमाउँथेँ । तर मलाई यसबेला त्यहाँ जान डर लाग्यो । मलाई त्यहाँ लगेर के गर्ने होला? मेरो मन अशान्त भो । म आँगनको डिल तिरको ढिस्कोमा सोचेर बसेँ । केही बेरमै मम्मीले एउटा प्लाष्टिकको झोला समाउनु भो र “हिँड अब सानीमा काँ जाने ” भन्नु भो । मेरो मन भने त्यहाँ जान मन्जुर थिएन । मैले प्रश्न गरेँ “कतिबेर बस्ने त्यहाँ ?”
बार्नत १२ दिन पर्ने हो नि ..। तर आजकल सबैले छोट्याउँदै गएका छन् । समय काल अनुसार ४,५ दिन त बार्नै पर्ला ।” मम्मीले भन्नु भो।
अनि मैले निराश भएर सोधे। “अनि स्कुल पनि म त्यैँबाट जाने?”
अब ४ दिन त स्कुल जान मिल्दैन छोरी । पहिलो पटकको छइ त राम्ररी बार्नु पर्छ । अब पछि पछि भने जाउली ।” “ओहो म स्कुल पनि नजाने? एक्जाम आउन थालिसक्यो । स्कुल जान नपाए म अब फेल हुन्छु होला ।” मैले रुँदै भने । “४ दिन पछि त जान पाइहालिन्छ नि किन रुनु पर्यो? चलेको चलन नगरे पछि झन पाप लागेर के-के अनिष्ठ हुन्छ ।”
मेरो केही लागेन् । रुँदै रुँदै मम्मीका साथ सानीमाको घर पुगे ।
सानीमाको घरको छिँडीको एउटा सानो कोठामा लगियो । त्यहाँ मेराे लागि सानीमाले एउटा सानो ओछायान बनाइ दिनु भय । “ल थपक्क यो ओछयानमा बस्नु, सुत्नु । यताउती छुतछात नगर्नू । बाहिर नहेर्नुृ । घाम अनि छोरामान्छेको अनुहार हेर्यो भने पाप लाग्छ नि” भनी बताउनु भो । मम्मीले मलाई कटु भित्र लगा भनी एउटा टालो पनि दिनुभो । अनि मम्मी घर फर्कनु भो । मम्मी जानु भएपछि म रुन थालेँ । सानीमा मलाई सम्झाउन थाल्नु भो ‘तिमी त अब ठूली भयौ नानी । रुनु हुन्न । लाज हुन्छ । के भन्लान मान्छेले ? एकछिनमा सरीता दिदी पनि आउँछे । म काम सकेर आउँछु । । नरोइ बस ।’
‘बस भनेपछि बस्नै पर्यो, तर कसरी बसौँ । किताब छुन नहुने । साथी, भाई बैनीसंग खेल्न बाहिर जान पनि नपाइने । कोठामा यताउती पनि नजानु थपक्क आफनो ओछ्यनमा बस्नु भन्नु भएको छ । केहीबेर सानीमाले भन्या जस्तै म ओछयानमा थपक्क बसिरहे । मेरो टाउकोमा त्रासको बादल छायो । म नैराश्यताले छटपटाउन थालेँ । एकछिनपछि कोठाका कहीँ कतै खेल्ने केही पाइन्छ कि भनी कुनाकाप्चा चाहार्न थालेँ । साँझ मलाई भेटन भनी कोठामा दिदी बहिनीहरु जम्मा भए । आफू महिनाबारी हुँदाका कुरा सुनाए । अनि मलाई बल्ल अलि रमाइलो लाग्यो । सानीमाले मलाई घिउ र सक्कर हालेर भात खान दिनुु भयि अनि मैले खाएँ । मेरो कोठामा पल्लो छेउमा सरीता दिदी सुत्नु भयो । ओढनको लागि एउटा ब्लाङकेट दिनु भाथ्यो । त्यसले जाडो थेगेन । म लगलग कामीरहेँ । मलाई रातभर निन्द्रा लागेन ।
बिहान भयो । दिदी बहिनी सबै स्कुल गए । बाटोमा स्कुले केटाकेटी कुरागर्दै हिँडेको सुनेँ । तर म स्कुल जान पाइन । एक्जाम आइसक्यो । म अब फेल हुन्छु होला । सबैले मलाइ गिज्याउँछन् होला । चारदिनसम्म कोठाबाट कतै निक्लन हुन्न रे । मैले के पाप गरेको होला र मलाई यस्तो छुई हुनु पर्यो ? पेट नराम्रो संग दुखिरहेछ । मलाई कसैले छुन नहुने । मसंग कसैले खेल्न नहुने किन होला? मेरो शरीरबाट कतिदिन रगत बग्ने होला? भोलीभोली पनि रगत बग्यो भने त म मर्छु होला । म भगवानसंग प्रार्थना गरीरहे ‘हे भगवान म आइन्दा केही गल्ती गर्दीन मलाई माफ गरिदिनुहोस् । मलाई अबदेखि छुई नबनाइ दिनु होस् । नैरास्यताले म बरु मरे पनि हुने भन्ने डरलाग्दो सोच मनमा आयो । ’
यो लेख पढदा हाम्रो टाउकोमा हजुर आमाको समयको कुनै किशोरीको कथाको याद आउँछ । तर यो कथा एकादेशकी किशोरीको वा हजुर आमाकी समकालिनको हैन । यो कथा त राजधानीको महानगर भित्रकै कपरटारमा बस्ने एक किशोरी कविताको यथार्थ कथा हो । राजधानीका छेउछाउमा बस्ने किशोरीका कथा त अझै यस्ता रहेछन् । दुर्गम गाउँका किशोरीका कथा कस्ता होलान? कति होलान ? महिनावारीका विषयमा अझै पनि ठूलो जनसंख्याको मान्यता, बुझाइ, अन्योल र समस्या अझ यस्तै छ ।
के हो पहिलो महिनावारी ?
पहिलो महिनाबारी हुने औसत उमेर १४ देखि १५ वर्ष हो । तर आ-आफनो शारीरिक बनावट अनुसार १० देखि १७ वर्षको उमेरमा किशोरीहरु पहिलो पटक महिनावारी हुनु सामान्य नै हो । त्यसैले ९ /१० वर्षकै उमेरमा कोही भएमा पनि यसलाई अस्वाभिक मान्नु हुन्न । त्यस्तै आफ्नो शरीरमा आफ्नी दिदीको या साथीको जस्तै परिवर्तन भएन भनेर आत्तिनु पँदैन ।
कसै-कसैमा पहिलो महिनाबारी भएको शुरूको २–३ वर्षसम्म महिनाबारी अनियमित पनि हुन सक्दछ । यसको कारण शरीरमा रहेको हर्मोन हो ।
महिनाबारी शुरू हुनेबित्तिकै किशोरी प्रत्येक महिना निश्चित समयमा महिनाबारी नहुन पनि सक्छे यो सामान्य प्रक्रिया हो । यसमा डराउनु पर्दैन् । बालिका ९–१० वर्ष उमेर पुगेपछि उसले बुझ्ने भाषामा महिनाबारीबारे जानकारी दिनु पर्छ
बालिकालाई ९–१० बर्ष उमेर पुगेपछि उसले बुझ्ने भाषामा महिनावरीको जानकारी दिन शुरू गर्नुपर्छ । महिनावरी शुरू हुँदा किशोरीको अनुहारमा डन्डिफोर आउने, योनीबाट सेतो पानी जाने गर्छ । केही किशोरीलाई रिस उठिरहने, जे कुरामा पनि झर्को लाग्ने, काम गर्न अल्छी लाग्ने हुन्छ । कसै–कसैलाई ज्यादै पेट दुखेर दैनिक कामकाजमा पनि बाधा पर्ने गर्छ । सम्बन्धित विशेषज्ञका अनुसार यस बेला कुनै न कुनै किसिमको समस्या पर्ने गर्छ । यसलाई महिनाबारी हुनुभन्दा अगाडिको तनाब भनिन्छ । तर यो समस्या साधारण तरिकाले समाधान गर्न सकिन्छ ।
महिनावारीको सरसफाई
महिनाबारी भएको बेलामा सरसफाइमा ध्यान नदिने तर यसलाई अशुद्ध अवस्था मान्ने चलन ठीक होइन् । यो अवस्थामा सरसफाइमा राम्रो ध्यान पुर्याएमा दैनिक गरिने सबैजसो क्रियाकलाप गर्दा कुनै हानी वा पाप हुन्न । महिनावारीमा आजकल स्कुल पढने अधिकांश किशोरीहरुले प्याडलाउँछन् । प्याडको प्रयोग गर्नु राम्रो तथा सुरक्षित हो । तर प्याड प्रयोग गर्न नसकेको खन्डमा प्रयोग गरेको टालो राम्ररी धोई घाममा सुकाउनु पर्छ । टालो सफा नभए, टाटा नगए संक्रमण गराउन सक्छ । घाममा राम्ररी नसुकाउँदा कपडा ओसिलो भई ढुसी पर्छ । अनि महिनाबारी हुँदा त्यही कपडा प्रयोग गर्दा चिलाउँछ, घाउ हुन्छ । त्यो संक्रमण भएको हो ।
प्याड किन्न महँगो लागेमा घरमै आफै स्यानिटरी प्याड बनाएर प्रयोग गर्न सकिन्छ । यसका लागी औषधिपसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो–सानो भागमा बाँड्ने र तिनलाई सुतीको नरम कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यस प्याडलाई एकपटक प्रयोग गरेपछि कागजमा बेरेर सुरक्षित ठाउँमा फ्याँक्ने वा बालिदिनुपर्छ ।
महिनावारीमा ढाड र तल्लो पेट दुख्ने समस्या
ढाड र तल्लो पेट दुख्ने समस्या हर्मोनहरूले पाठेघर खुम्चिने कारणले हो । यसो भएमा मेथीलाई पानीमा भिजाएर राख्ने र भोलिपल्ट पानीमा उमालेर खाने । ४–५ दिनसम्म यसो गर्यो भने दुखाइ कम गर्छ, । मेथीमा हुने पौष्टिक तत्वले फाइदा गर्छ । अदुवाको टुक्रा राखेर पानी पिउने, विस्तारै कम्मरमा मालिस गर्ने, गहिरो श्वास लिन अभ्यास गर्ने गर्दा पनि दुखाइ कम हुन्छ ।
महिनाबारी भएको बेला पेट दुख्दा अलि-अलि हिँड्नु उचित हुन्छ । पेटको दुखाइ अति बढी भएमा डाक्टरसँग सल्लाह लिई औषधी लिनु पर्छ । शहरतिरका महिलाले आजकल आधुनिक किसिमका प्रविधि, जस्तै– मसाज, अकुपन्चर र योग गर्ने गर्छन् । केही अकुप्रेसर आफैले घरैमा पनि गर्न सकिन्छ । जस्तै– बूढीऔंला र माहिली औंलाबीच हातले कम्तीमा ३० सेकेन्डसम्म आफैं मसाज गर्न सकिन्छ । त्यसै गरेर हातको बूढीऔंला र चोरऔंलाको बीचको नरम भागमा केहीबेर थिच्ने छोडने थिच्ने छोडने गर्दा पनि पेटको दुखाइ कम अनुभव हुन्छ ।
महिनाबारी हुँदा कसैकसैलाई जीउ फुलेजस्तो हुन्छ । यो पनि हर्मोनको कारणले नै हो । यस्तो हुनेहरूले महिनाबारी शुरू हुने २–३ दिनअघि नुन कम खानुपर्छ ।
महिनावारी हुँदा शरीरमा रगतको कमी हुन नदिन प्रोटिन तथा लौहतत्व बढी भएका खानेकुरा जस्तै फापर, हरियो साजसब्जी, दाल गेडागुडी बढी खानुपर्छ । बिस्कुट–चाउचाउ जस्ता खाने कुराहरु नखानु नै बेस हुन्छ।
महिनावारी बारे भ्रम
किशोरीमा महिनावारी शुरू हुने भनेको उनीहरूको उमेर परिपक्व बन्ने क्रमको थालनी हुनु हो । महिनावारीपछि उनीहरू गर्भावस्थाका लागि तयार हुन्छन् । प्रकृतिको सामान्य नियम नबुझेरै महिनावारी हुँदा कतिपय खानेकुरा खान नदिने, पहिलोपल्ट महिनावारी हुँदा कतिपय समुदायमा किशोरीलाई १२ दिनसम्म अँध्यारो कोठामा थुनेर राख्ने, घाम र लोग्ने मानिसको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास छ । अभिभावकले महिनावारी बरे किशोरीलाई सही जानकारी दिदैनन् जसका कारण उनीहरूलाई आफ्नो यौनांगको सरसफाइ कसरी गर्ने, कस्तो प्याड वा कपडा प्रयोग गर्ने कसरी गर्ने भन्ने सामान्य जानकारी पनि हुँदैन । यसैले किशोरी पहिलोपल्ट महिनावारी शुरू हुँदा रुने, डराउने गर्छन् । यस्तो बेला यौनांगको राम्रो सफाई नगर्नुका कारण धेरै किशोरीले संक्रमणको सिकार हुन्छन् । आजकल भने धेरै महिलाहरुले महिनावारीकाबारेको यो भ्रममा कति सत्यता छ भनी जाँच गर्न आफूले चुपचाप महिनाबारी नबार्ने गरेका छन् । यसो गर्दा देवता रिसाएको वा अनिष्ट भएको प्रमाण यिनका सामु छैन । महिनावारीका बेला स्कुल जान तथा दैनिक कामकाजमा भाग लिन पाप होइन् । यसलाई पाप भन्नु अन्धविश्वास मात्र हो ।
अन्त्यमा समय विकासको गतिमा निक्कै अघि बढीसकेको छ । तर हाम्रो सहरकै कुनाकुप्चा तथा गाउँघरमा कविता जस्ता लाखौँ अवोध किशोरीहरु भने किशोरावस्थाको परिवर्तन बारे अझै अन्योलमा छन् । आमा तथा अभिभावकहरुले उनीहरुको अन्योल दूर गर्नको सट्टा अन्धविश्वासको जालोमा बेरीरहेका छन् । आफ्नो प्रजनन् स्वास्थबारे आवश्यक जानकारी पाउनु र यससंग सम्बन्धित भ्रमबाट मुक्ती पाउनु किशोरीहरुको अधिकार हो । महिनावारीलाई अत्यन्त धृणित त पाप संम्झने हाम्रो सोचमा परिवर्तन आउन अत्यन्त जरुरी छ । समाजमा विद्यमान यस्ता कुरुतीको जरो उखेली किशोरीहरुको स्वास्थ र शिक्षाको अधिकार सुरक्षितका लागी यथाशिघ्र आ–आफनो क्षेत्रबाट पहल हुनु अति आवश्यक छ ।