✍️प्रतीक्षा भट्टराई,
गोल्डेन कम्युनिटी
सिङ्गो स्वास्थ्य प्रणाली कोभिड–१९का कारण अहिले प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा बिद्यामान समस्या र कमजोरीहरु अझै विक्रान्त रुप लिएर प्रस्तुत हुन सक्ने आँकलन विज्ञहरुको छ। corona भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न नदिन सामाजिक दुरी कायम गर्ने कुरालाई नकार्न सकिदैन। आमा तथा नवजात शिशुको जीवन रक्षाका लागि गुणस्तरिय स्वास्थ्य सेवा अति जरुरी छ।
गर्भवती आमा र नवजात शिशु स्याहारमा हाल आएका परिवर्तित प्रयासहरुले आमा, नवजात शिशु र परिवारका अधिकारहरु खोसिन सक्ने जोखिम बढेको छ। गुणस्तरीय सेवाको सन्दर्भमा प्रयोगमा ल्याएको आदरपूर्ण र सम्मानजनक मातृ तथा नव जात शिशु स्याहारका कुराहरु महत्वपूर्ण छन्। महामारीको बेलामा यी अधिकारहरु ओझेलमा परेको हुन सक्छन। यस्तै यस्तै अरु धेरै प्रश्न चिन्हहरु हाल उत्पन्न भएका छन्।
महामारीका बेला अधिकार र सुरक्षाका कुरा फितला लाग्न सक्छन तर पनि एउटी आमा र उसको नवजात शिशुले गुणस्तरीय र आदरपूर्ण स्याहार पाउन महत्त्वपूर्ण छ। यस्तो माहोलमा अस्पताल गई बच्चा जन्माएका देश विदेशका गर्भवती महिलाहरुका अनुभवका कथाहरु सुन्दा मन कुडीने खालका छन्। उनीहरुले चाहेका मनपर्ने मान्छे अथवा श्रीमानलाई प्रसुतीका बेला संगै रहन प्रतिबन्धित गरिएको वा जन्मेपछि शिशुलाई सँगै नराखेर छुट्टै रखिएको वा बुझ्ने गरी सबै कुरा नभनिएको भन्ने खालका गुनासोहरु बढी मात्रामा सुन्नमा आएका छन्।
कोभिड १९को महामारी फैलिए लगत्तै संक्रमणको जोखिम घटाउन प्रसुति कक्ष भित्र गरिने स्याहारहरुमा केहि भिन्नता आएका छन्। प्रसुती चाँडो गराउन औषधि वा अप्रेसन गर्न आतुर हुने, जन्मनासाथ नवजात शिशुलाई आमाको छातीमा नराख्ने, वा शीघ्र स्तनपान नगराउने पनि देखिएको छ। तथापी यसो गर्नाले संक्रमण कम हुने भन्ने खालका कुनै ठोस प्रमाण हरु भने छैनन्।
विश्व स्वास्थ्य संगठन (WHO) ले विभिन्न अध्ययनका आधारमा यी स्याहारहरु सम्बन्धित निर्देशिका तयार पारेको छ, जस अनुरुप प्रसुतिका बेला इच्छाएको व्यक्ति साथमा राख्नुपर्ने, जन्मपश्चात नवजात शिशुलाई आमाको छातीमा छाला देखि छालाको संसर्गमा राख्नुपर्ने र आवश्यकता देखिए मात्र अपरेशन गरी बच्चा जन्माउनु पर्ने जस्ता कुरा माथि प्रकाश पारेको छ। आमा र शिशुको स्वास्थ्यमा जटिलता आउन नदिन यी स्याहारहरु उचित तरिकाले प्रदान गर्नु अपरिहार्य मानिन्छन् ।
भनिन्छ कि, स्वेछ्याको साथी सँगै भएमा प्रसव व्यथाको समय लम्बिन पाउदैन र जटिलता पनि कम हुन जान्छ। मातृ तथा नवजात शिशु स्याहारमा उचित अभ्यासहरु नअपनाउनु भनेको अनादरपूर्ण स्याहार तर्फ उन्मुख हुनु हो, मानव अधिकारको बेवास्ता गर्नु पनि हो। गर्भवती महिलाले चाहेको व्यक्तिको उपस्थितिमा प्रसुति गराउने अभ्यास सम्मानजनक मातृ तथा नवजात शिशु स्याहार मानिन्छ। यो चलनको विकास बिस्तारै बढिरहेको बेला कोभिड १९का कारण यसमा ठुलो वार लग्न गएको छ।
रोग सर्न सक्ने संत्रास, त्यसमाथि अपर्याप्त व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) र अस्त व्यस्त वर्तमान स्वास्थ्य प्रणालीका कारण स्वास्थकर्मीमा तनाव छाएको छ। यो अवस्थामा स्वास्थकर्मीले प्रसुतीका लागि आएका गर्भवती महिलामाथि मौखिक तथा केहि ठाउँमा त शारीरिक दुर्व्यबहारसम्म हुन सक्ने सम्भावना बढ्ने देखिन्छ। स्वाभाविक रुपमा अप्ठेरो परिस्थितिमा काम गर्दा असाहय महसुस हुनु, साना कुराका लागि नकरात्मक भाव आउनु मानवीय कमजोरीहरु हुन्।
विपद अवस्था भनेको समस्याको चंगुल मात्र होइन, नयाँ अवसरहरुको सुर्योदय गर्ने मध्यम पनि हुनसक्छ। कोभिड १९ले मेटाउनै नसकिने घाउहरु दिएको छ। मातृ तथा नवजात शिशु स्याहारमा हाम्रो कमजोरी र पूर्व तयारीको कमी देखिएको छ।
अहोरात्र खटिएर सेवा गर्ने स्वास्थकर्मीहरुको भूमिका अतुलनीय भएको कुरा छर्लङ्ग भएको छ। व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) को अभाव भए, त्यसको उपल्ब्धता सुनिश्चित हुन जरुरी छ। आफु लगायत घर परिवारका सदस्यलाई रोग सर्ने त्रासले स्वास्थकर्मीको मनोबल कम भएको हुन सक्छ। स्वास्थकर्मीलाई सामाजिक, मानसिक, आर्थिक र व्यक्तिगत रुपमा सुरक्षित भएको अनुभूति दिलाउने कदम सम्बन्धित निकायबाट चालिनु अनिवार्य छ।
गर्भवती महिलाहरुको स्वास्थ संस्था र स्वास्थकर्मी प्रतिको विश्वासलाई वर्तमान परिस्थितिमा पनि दिगो राख्न झनै महत्वपुर्ण छ। प्रसुतिको बेला स्वास्थकर्मीबाट राम्रो व्यवहार भएको अनुभूति भएमा मात्र सबै गर्भवती महिलाहरु स्वास्थ संस्थामा सेवा लिन आउन प्रेरित हुनेछन्। स्वास्थ सेवा लिन आएका आमाहरुमा कुनै जटिलता देखिएमा समयमै पहिचान र गुणस्तरिय स्याहार प्रदान गरिएमा परिणाम राम्रो हुन्छ। तसर्थ, मातृ तथा नवजात शिशु मृत्युदर घटाउन, सम्मानजनक र समादरपूर्ण स्याहारको भूमिकाका बिषयमा सबै क्षेत्रबाट ध्यान पुर्याउन जरुरी छ।
✍️प्रतीक्षा भट्टराई (Pratiksha Bhattarai), लेखिका गोल्डेन कम्युनिटीसंग आबद्ध हुनुहुन्छ।
Comments 2