काठमाडौं, २१ भाद्र २०७९
बलियो नेपाल र केएमसी शिक्षण अस्पताल बीचको साझेदारीमा पोषण सम्बन्धि कार्यक्रम शुरु भएको छ ।
यस कार्यक्रम अन्तर्गत ६ देखि २३ महिना सम्मका बालबालिकाहरुको पोषण लेखाजोखा गरी उनीहरुलाई ३ महिनाको लागि सुक्ष्म पोषकतत्व थप गरिएको (फोर्टीफाइड) बलियो लिटो वितरण गर्नुका साथै बालबालिकाहरुमा यस बलियो लिटोको प्रभावकरिताका लागि अनुसन्धान पनि भइरहेको बलियो नेपालका अनुसन्धान संयोजक प्रतीक निरौलाले बताउनुभयो ।
नेपालका प्रायः २ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषणका कारणले पुड्कोपना, ख्याउटेपना, रक्तल्पता जस्ता समस्याहरु देखिने हुँदा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा आउने ६ देखि २३ महिना सम्मका बालबालिकाहरुको पोषण सम्बन्धि लेखा जोखा गरी डाक्टर तथा पोषणविदहरुबाट पोषण परामर्श गर्नुका साथै उनीहरुलाई तीन महिनाको लागि निःशुल्क बलियो लिटो वितरण गर्न लागिएको हो ।
त्यस्तै अनुसन्धान संयोजक निरौलाका अनुसार बलियो लिटो ६-२३ महिनाका बालबालिकाहरुका लागि तयार पारिएको फोर्टीफाईड पुरक आहार हो । यो लिटो २५ ग्रामको प्याकेटमा उपलब्ध छ र यो प्याकेटले बालबालिकाको दिनभरी को करिब ३० % सुक्ष्म पोषक तत्वको आवश्यकता (RNI) पुरा गर्छ । बलियो नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्ड सरकारको स्वस्थ खानेकुराहरुको बर्गिकरण गर्ने प्रणाली (Health Star Rating) अबलम्बन गरेको छ र बलियो नेपालको हात र तारा लोगो भएका खानेकुराहरु ३ तारा वा सो भन्दा माथिको श्रेणी पाएका हुनाले स्वच्छ तथा पौष्टिक हुन्छन् । निकट भविष्यमा बलियो नेपालको लोगो अंकित अन्य पौष्टिक खानेकुराहरु पनि बजारमा उपलब्ध हुनेछ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा बालबालिकाको पोषण स्थितिमा कोभिडले धेरै असर गरेको र अझै पनि असर गर्न सक्ने सम्भावना देखिएको छ । युवावस्था र वृद्दावृदमा कोभिडले धेरै असर पारिसकेको स्थिति छ । तर बालबालिकाहरुमा यस्तो समस्या नदेखिए पनि उनीहरुमा कोभिड-१९ का कारणले उत्पन्न हुन सक्ने खाद्य असुरक्षाले गर्दा कुपोषणको समस्या बढ्न सक्ने काठमाडौं मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा. पावना कायस्थले बताउनुभयो ।
केएमसी शिक्षण अस्पतालले बालबालिकाकाहरुको लागि बालपोषण क्लिनिक संचालन गरिरहेको छ जसमा बालबालिकाहरुको पोषण लेखाजोखा गरि कुपोषित बालबालिकाहरुको उपचार तथा उनीहरुको अभिभावकहरुलाई आवश्यक परामर्श प्रदान गरिदै आएको छ । प्रायजसो शहरमा भन्दा गाउँमा बस्ने बालबालिकाहरुमा कुपोषण बढी देखिने गरेको छ । यसलाई कसरी रोकथाम गर्ने भनेर बालपोषण क्लिनिकले बालबालिकाको अभिभावकलाई के खुवाउने, के नखुवाउने भनेर परामर्श सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बलियो नेपाल र केएमसी शिक्षण अस्पतालको संयुक्त सहकार्यमा बालपोषण क्लिनिक मार्फत जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनुका साथै नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई पनि पोषण सम्बन्धि तालिम दिइने डा. कायस्थले जानकारी दिनुभयो ।