धेरै अभिभावक र प्राय बालबालिकालाई बाबू ,नानू पछि गएर के बन्ने भनेर सोध्दा धेरैको लक्ष्य सेतो कोट लगाएर भिरी बिरामीको उपचार गर्ने हुन्छ । हुन त कुनै पेसा ठुलो/सानो , राम्रो/नराम्रो हुँदैन, तरपनि एक मानवले अर्को मानवको जीवन बचाउनुभन्दा ठुलो कुरा के होला र ? त्यही बाल मस्तिष्कको लक्ष्य पछ्याउँदै विभिन्न वाधा , अवरोध , आर्थिक विपन्नता ,प्रणालीमा खोट ,सीमित कोटा ,पारिवारिक जिम्मेवारी ,जस्ता विविध कारणले सेतो एप्रोन लगाउने सपना तुहिएर जान्छ ।
![Gaurav Upadhyay MBBS - अझै सेतो कोट लगाउने सपना देख्ने ??? Gaurav Upadhyay MBBS डा. गौरब उपाध्याय KUSMS , MBBS एमबिबिएस](https://i0.wp.com/healthnewsnepal.com/static/Gaurav-Upadhyay-MBBS.png?resize=349%2C465&ssl=1)
अथक प्रयास र संघर्षले ती वाधा, व्यवधान र समस्यालाई चिर्दै फराकिलो बाटोबाट साँघुरो पुल तरी यहीँ जननी समानको जन्मभूमिमा पसिना चुहाई मानव सेवामा समर्पित हुन्छु भन्ने अठोट गरिरहँदा भेरी अस्पतालको जस्तो घटनाले कुन नेपाल आमाका सन्ततिले यो मार्ग अवलम्बन गर्न प्रेरणा पाउलान् त ? उनीहरू आफू मात्र नभई आफ्नो परिवार समेतलाई जोखिममा राखेर सुख ,सुविधा त्यागेर सेवामा समर्पित हुनुको प्रतिफल यही हो त ?
हालै भेरी अस्पतालमा भएको दुर्व्यवहार हामी नेपालीको लागि नौलो घटना भएन । स्वास्थ्यकर्मी कुटिनु अहिले सामान्य घटना भइसक्यो। जब आफ्नैबाट अपहेलित र तिरस्कृत भई रोगले च्यापिरहँदा दुवै हात खोली निस्वार्थ उपचारका निम्ति स्वागत गर्नेलाई आज हामीले देखाउने व्यवहार यही हो ? स्वास्थ्य कर्मीका पनि आफ्नो परिवार हुन्छन् । उनीहरूलाई पनि हामीजस्तै लकडाउनमा आफ्नो परिवारसँग रमाउन मन हुँदो हो । चालीस डीग्रीको गर्मीमा १२ घण्टा पी.पी.ई र डाएपर लगाई भोक प्यास नभनी दिन रात समान ठानी कसैलाई काम गर्ने रहर हुँदैन होला तर यो महामारीमा हाम्रै निम्ति खटिरहेका यस्ता महामानवलाई रिस पोख्ने भाँडो बनआउनु उचित होला त ? सम्यक दृष्टिले मनन गरौँ । डाक्टर , नर्स भन्दैमा कोरोना नलाग्ने त हुँदैन । सेता वर्दीधारीहरूको निस्वार्थ सेवाकै कारण कोरोनाले मानवलाई जितेपनि मानवता जीवितै छ भन्ने प्रमाणित भएको छ ।
एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै ठाउँ मसान घाट बन्ने छ । उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।
आज हामी भौतिक रूपमा पढाई हुने कुरा अनलाइनमार्फत पढेका छौँ । घरै बसी कारोबार गरिरहेका छौं । रेस्टुरेन्टमा गएर खाने कुरा बनाएर घरै खाई रहेका छौं । तर यदि सेता वर्दीधारी पनि हामी जस्तै घरमै बसेर टुलुटुलु हेरेको भए अहिलेको अवस्था कस्तो हुन्थ्यो होला त ? यस्तै अमानवीय घटनाले आगामी पुस्ताले अब सेतो कोट लगाउने सपना देखेपनि यही भूमिमा सेवा गर्ने सपनाबाट विमुख हुनेछन् ।
यस्ता एकाध घटनाले एक दुई जनालाई मात्र नभई सिंगो देशलाई नै रोगी बनाउने छ । अबका भावी स्वास्थ्यकर्मीको सपना यही भूमिमा सेवा गर्नेभन्दा पनि कसरी USMLE , PLAB , AIIMS, गरी आफ्नो श्रम, त्याग र बलिदानको कदर र सम्मान हुने ठाउँमा पुग्ने भन्ने हुनेछ र त्यहीं ती प्रतिभा पलायन हुनेछन् । कसैको रिस पोख्ने भाँडो बन्न ,आफ्नो ज्यान बचाउनका निम्ति शौचालयमा लुकेर बस्न ,दुई तलाबाट ज्यान जोगाई भाग्न कुनै मेडिकल कलेजमा सिकाइएको हुँदैन । सेतो कोट लगाएर निस्वार्थ सेवामा समर्पित हुँदापनि कुटिनुपर्ने अवस्था हुँदा कोही अभिभावकले धिक्कार छ ! “मेरो सन्ततिले सेतो कोट लगाउन कहिल्यै नपरोस्” भन्ने अवस्था सिर्जना नहोस् ।
Comments 1