चराचर मानव जगत अहिले कोरोनाको तेश्रो लहर संग जुधिरहेको छ I यसै सन्दर्भमा के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त ? कोरोनाको अगाडी हामी किन यति लाचार भयौ? हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयासहरु साचिक्कै कमजोर थिए र छन् त ? वर्तमानमा हामी कहाँ छौ? भविस्यमा के गरियो भने हामी हाम्रो समाजलाई, देशलाई र सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौ ? यी र यस्तै कुराहरुमा यो लेख केन्द्रित छ I
सर्वप्रथम सुरू गरौ, के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त ? भन्ने कुराबाट, उत्तर प्रस्टै छ, निश्चित रुपमा हैन I इतिहास साक्षि छ। यो जगतमा विभिन्न कालखण्डमा महामारी गराउन सक्ने संक्रामक रोगहरुको उदय भएको छ र फैलीएका छन् I बिगतमा भईसकेका र भविष्यमा फेरी पनि नहोलान भन्न नसकिने मुख्य उदाहरणीय महामारीहरुको रुपमा प्लेग, हैजा, फ्लू, सार्स र मर्सलाई लिन सकिन्छ I र हाल पुरै मानव सभ्यता कोभिड -१९ को चपेटामा फसेको हामी सबैलाई ज्ञात छ/भुक्तभोगी छौ I
उसो भए कोरोनाको अगाडी हामी किन यति लाचार भयौ त ? प्रमुख उत्तर हुन् – आवश्यक तयारी नहुनु र निर्णय क्षमताको कमि I निश्चित रुपमा पूर्ववत महामारीले मानवजातिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक र सांस्कृतिक आदि विभिन्न आयामहरुमा जबर्जस्त प्रभाव पारेर अपुरणीय क्षति पुर्याएको कुरा सत्य हो, तथापी यस्ता महामारीहरुले मानव सभ्यतालाई केही हद सम्म महामारीहरु बिरुद्ध लड्ने ज्ञान, प्रविधि, कला र साहस सहितको बुद्धि पनि प्रदान गरेको कुरालाई नकार्न सकिदैन I अहिले नेपाल जस्तो विकाशसिल देशको त कुरै छोडौ, विकसित भनिएका देशहरुले पनि समयमा तयारी गर्न नसक्दा ठुलो क्षति व्यहोर्नु परेको कुरालाई नकार्न सकिदैन I
दोस्रो कुरा, महामारीमा सहि निर्णय तत्काल गर्नुपर्ने हुन्छI महामारीका बिरुद्ध रणनैतिक योजनाको खाँचो हुन्छ I यसका लागि निर्णय कर्ता, निर्णय कार्यान्वयनकर्ता र निर्णय पालनकर्ता सबैको महत्वपुर्ण भूमिका हुन्छ I निर्णय गर्न मा ढिलाई, कार्यान्वयनमा अलमल र पालनकर्तामा उदासीनता भयो भने महामारी समयमा नै नियन्त्रण गर्न गाह्रो हुन्छ I
कोरोनाको पहिलो लहर देखि दोस्रो लहर हुदै हाल तेश्रो लहर सम्म पुग्दा निर्णय सम्बन्धिका कुराहरुले पनि नेपाल जस्ता देशहरुलाई समयमा नै महामारी नियन्त्रण गर्न अप्ठ्यारो पारेको तथ्यलाई स्वीकार गर्नुपर्ने हुन्छ I
यी दुइ प्रमुख कारणहरु बाहेक हाम्रो देशको आर्थिक स्रोत साधनको कमि, तिन तहका सरकारहरुको एक आपसमा सहकार्य, समन्वय र संचारमा अपेक्षाकृत तालमेलको कमि, परिक्षणका लागि चाहिने नविनतम प्रयोगशाला प्रविधि तथा द्रुत परिक्षण किटहरुको सहि तथा समयानुकुल चयनको कमि, उपचारमा प्रयोग हुने चिकित्सीय साधनहरुको कमि साथै स्वास्थ्य जनशक्तिको कमि र उपलब्ध जनशक्तिको पनि सहि व्यवस्थापन एवं परिचालन गर्न नसक्दा कोरोना महामारी समयमा नै नियन्त्रण गर्न समस्या भएको हो भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक छ।
के हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयास हरु साचिक्कै कमजोर थिए र छन् त ?
निश्चित रुपमा गरिएका प्रयासहरु सकारात्मक थिए र छन् । स्वास्थ्यकर्मीहरुले मानवताका खातिर डटेर काम गरेका छन् , संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको पनि अतुलनीय योगदान रहेको छ I दातृनिकायको पनि ठुलो भूमिका रहेको छ I राज्य अभिभावक भएको नाताले जन अपेक्षा अनुसार अझै थप काम गरि सीमान्तकृत जनता सम्म थप सेवा दिन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्य गर्नुपर्ने हुन्छI
वर्तमानमा हामी कहाँ छौ?
ढिलोगरि भएपनि सिमा नाकामा हेल्थ डेस्कको सुरुवात संगै सिमा नाका व्यवस्थित गर्ने कामको सुरुवात भएको छ। आइसोलेसन र क्वारेन्टाइनको बारेमा चेतना जागेको छ I नवीनतम प्रयोगशाला प्रविधि दुर्गम ठाउँ सम्म बिस्तार भएका छन् I विश्वसनिय द्रुत परिक्षण बिधिहरुको पहुँच बढेको छ I अस्पतालहरुको क्षमता अभिविर्दी हुनुको साथै अस्पतालको विकास गर्नुपर्छ भन्ने भावना पलाएको छ I स्वास्थ्यमा जनशक्ति बढाउनुपर्छ भन्ने कुराको धारणा बिकास भएको छ I प्रभावकारी खोपहरुको पहुँच विस्तार भएको छ I कम्तिमा कोरोनाको संका लागेमा सजिलै जाँच गर्न सकिने र स्वास्थ्यमा जटिलता आइहालेमा चिकित्सीय सेवा दिन सकिने अवस्थामा हामी छौ I तथापी अझै गर्नुपर्ने धेरै बाँकी नै छ I
भविष्यमा के गरियो भने हामी हाम्रो समाजलाई , देशलाई र सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौ ?
कोभिड-१९ को महामारी नियन्त्रण र क्षति न्यूनीकरणका लागि कार्य गर्दैगर्दा जनस्वास्थ्य समस्याका रुपमा भविष्यमा पनि देखिन सक्ने महामारीहरुको रोकथामका लागि हामी सबै आजै देखि लाग्नुपर्ने हुन्छ I त्यसका लागि तल उल्लेखित कुराहरुमा ध्यान पुर्याउनु आवश्यक छ:
१. सिमा नाकामा अस्थायी रुपमा संचालित हेल्थ डेस्क हरुलाई स्थाई रुपमा विकास गरि सिमा नाका व्यवस्थितगर्नु पर्दछ I प्रयोगशालाकर्मी र अन्य स्वास्थ्यकर्मीहरुको संख्या बढाई स्थाई दरबन्दी सिर्जना गरि द्रुत परिक्षण किट हरुको माध्यमवाट screening गर्ने कार्य लाई बढावा दिनुपर्छ I
२. आधारभूत सुविधा भएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुको विस्तार गरि स्थायीरुपमा विकास गर्नुपर्छ I
३. दुर्गम ठाउँ सम्म विस्तार भएका नवीनतम प्रयोगशाला प्रविधि जस्तै : PCR Lab हरुले दिने सेवा सम्बन्धित ठाउँको आवश्यकता अनुसार विभिन्न किसिमका रोगहरुको निदानका लागि सुचारु राख्नुपर्छ I ति प्रयोगशालाहरुमा विज्ञ व्यक्ति सहित आवश्यक जनशक्तिको समुचित स्थायी व्यबस्थापन गरिनुपर्छ I
४. जनस्वास्थ्य संग सम्बन्धित महामारी फैलाउन सक्ने रोगहरु को निदान का लागि नवीनतम विस्वसनीय द्रुत परिक्षणगर्ने साधन हरुको प्रयोग गर्ने र यस्ता साधनहरुको चयन र विकासमा ध्यान दिनुपर्ने I
५. अस्पतालहरुको क्षमता अभिवृद्धि र विकास गरिनुपर्ने I
६. चिकित्सक, नर्स, प्रयोगशालाकर्मी तथा अन्य स्वास्थ्य कर्मीहरुको संख्या बैज्ञानिक हिसाबले थप गर्नुपर्ने I
७. रोग निगरानी प्रणालीलाई बलियो बनाउने I
८. प्रभावकारी खोपको अध्ययन, अनुसन्धान र विकास गरिनुपर्दछ I साथै उपलब्ध खोपको पहुँच विस्तार गर्नुपर्छ I
९. मानव, पशुपन्छी र वातावरण स्वस्थ राख्नका लागि एक स्वास्थ्य अवधारणामा कार्य गर्ने I
यी बाहेक महामारी नियन्त्रणमा सबैको महत्वपुर्ण भूमिका हुने हुँदा आम जनताले पनि तोकिएका मापदण्डहरुको पालना गरि जिम्मेवार नागरिकको कर्तब्य पालना गर्नुपर्ने हुन्छ I
स्मरण रहोस, हामी सबै जना एकजुट भै धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले अभिप्रेरित भएर विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न अवश्यमय सफल हुनेनै छौँ I
(कोभिड- १९ को सुरुवाति चरण देखि नै यसको रोकथाम, नियन्त्रण र निदानमा खटिनुभएका लेखक राम प्रसाद ओझा हाल प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढी, सुदूरपश्चिम प्रदेशमा निमित्त निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ I)