✍️ डा. सन्दिप के.सी.
नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि “लाज”, “कमजोरी” वा “पागलपन” सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता (एन्क्जायटी), तनाव, निद्रा समस्या वा अन्य मानसिक रोगबाट पीडित भए पनि आफ्नो अवस्था खुलेर भन्न सक्दैनन्। समाजले के भन्छ भन्ने डर, परिवारको दबाब, र गलत बुझाइका कारण धेरै बिरामीहरू आफ्नो पीडा मनभित्रै दबाएर बस्न बाध्य छन्।
हामीले दैनिक जीवनमा देख्ने धेरै व्यवहार, अत्यधिक चिन्ता, रिस, एक्लोपन, आत्मविश्वासको कमी, काममा रुचि घट्नु, निद्रा नलाग्नु। यी सबै मानसिक स्वास्थ्य समस्याका संकेत हुन सक्छन्। तर दुर्भाग्यवश, यस्ता लक्षणलाई रोगको रूपमा नलिई “मन कमजोर भयो”, “धेरै सोच्यो” भनेर बेवास्ता गरिन्छ। यसले गर्दा रोग समयमै पहिचान र उपचार हुन पाउँदैन।
सबैभन्दा ठूलो समस्या के छ भने, मानसिक रोगको औषधि सेवनलाई समाजमा अझै पनि नकारात्मक रूपमा हेरिन्छ। धेरै बिरामीहरू औषधि लुकाएर खान्छन्, फार्मेसीबाट औषधि किन्दा समेत डराउँछन्, वा अरूले थाहा पाउँछन् कि भनेर उपचार नै रोकिदिन्छन्। मैले धेरै पटक सुनेको छु, औषधि सेवन गरिरहेको व्यक्तिलाई समाजले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुव्यर्वहार गर्ने गरेको छ। कतिपयलाई त “पागलको औषधि खान्छ” भन्दै जिस्क्याइन्छ, कतिलाई उनीहरूको मानसिक अवस्था थाहा पाएपछि मान्छेहरू टाढा-टाढा बस्न थाल्छन्। अफिसमा सहकर्मीले “यो मान्छेको मति बिग्रिएको छ, नजिक नजाऊ” भन्दै हेप्ने, गिज्याउने वा पक्षपातपूर्ण व्यवहार गर्ने गरेको पनि सुनिन्छ। यस्तो अवस्थामा बिरामीहरू आफैं डराउँछन्, कसैले केही भन्ला, मानसिक अवस्था थाहा पाएर अरूले हेप्लान्, वा उनीहरूको व्यवहारले अप्ठ्यारो पार्लान् भन्ने त्रासले गर्दा धेरैले उपचार नै लुकाउन बाध्य छन्।
तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, मानसिक रोग पनि शरीरका अन्य रोगजस्तै नै हो। जसरी मधुमेह, उच्च रक्तचाप, थाइराइड वा दमको लागि नियमित औषधि खानु सामान्य कुरा हो, त्यस्तै मानसिक स्वास्थ्य समस्याका लागि औषधि लिनु पनि पूर्ण रूपमा सामान्य र आवश्यक उपचार हो।मानसिक रोग कमजोरी होइन, यो उपचारयोग्य स्वास्थ्य अवस्था हो। समयमै उपचार पाएमा अधिकांश बिरामीहरू पूर्ण रूपमा सामान्य जीवनमा फर्किन सक्छन्—काम गर्न, परिवारसँग खुसी हुन, समाजमा सक्रिय हुन सक्षम हुन्छन्। तर उपचार ढिलो हुँदा समस्या गम्भीर बन्न सक्छ, जसले व्यक्ति, परिवार र समाज सबैलाई असर पुर्याउँछ।
हामी सबैले मानसिक स्वास्थ्यबारे सोच्ने तरिका परिवर्तन गर्न आवश्यक छ। कसैले मनोचिकित्सकलाई भेट्नु, काउन्सेलिङ लिनु वा मानसिक रोगको औषधि खानु भनेको साहसिक र जिम्मेवार निर्णय हो, लाजको विषय होइन। बिरामीलाई आलोचना होइन, सहयोग र समझदारी चाहिन्छ। उनीहरूलाई हेला गर्ने, गिज्याउने वा पक्षपात गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी र समाजका सबै जिम्मेवार व्यक्तिहरूले मानसिक स्वास्थ्यबारे खुला संवाद सुरु गर्नुपर्छ। घर, विद्यालय र कार्यस्थलमा “तिमी ठीक छौ?” भन्ने एउटा प्रश्नले पनि कसैको जीवन बदल्न सक्छ।मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै महत्वपूर्ण भाग हो। शरीर स्वस्थ मात्र भएर पुग्दैन, मन स्वस्थ हुनु पनि उत्तिकै आवश्यक छ। त्यसैले अब समय आएको छ, मानसिक रोगलाई लुकाउने होइन, स्वीकार गर्ने; डराउने होइन, उपचार गर्ने; र बिरामीलाई एक्लो पार्ने होइन, साथ दिने। स्वस्थ समाजको आधार स्वस्थ मन हो।
[ हाल डा. केसी धवलागिरी अस्पताल बाग्लुङमा कार्यरत छ्न। ]





