युवा चिकित्सक संघ द्वारा भिडियो कलमार्फत निशुल्क स्वास्थ्य सेवा प्रदान

 काठमाडौं , ७ असार

युवा चिकित्सक संघले सर्वसाधारणका लागि भिडियो कलमार्फत निःशुल्क भर्चुअल स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

ओखती सोलुसनसँगको प्राविधिक सहकार्यमा कोरोना महामारीले उत्पन्न गरेका सुरक्षा चुनौतीहरुका कारण स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणका लागि संघले यही असार १३ गतेबाट एक साताका लागि सो सेवा प्रदान गर्न लागेको हो।

कोरोना भाइरस महामारीको समयमा सुरक्षा चुनौतीका कारण स्वास्थ्य सेवा तथा परामर्शका लागि स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसकिरहेका सर्वसाधारण यो कार्यक्रमबाट लाभान्वित हुने आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम अन्तर्गत संघसँग अवद्ध ५० भन्दा बढी डाक्टरले सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्नेछन्। ओखती सोलुसनको ओखती भिडियो क्लिनिक प्रयोग गरी सेवाग्राहीहरुले घरबाटै स्वास्थ्य सेवा तथा परामर्श लिन सक्ने आयोजक युवा चिकित्सक संघका केन्द्रीय महासचिव डा. सुलोचन लोहनीले बताए।

सेवाग्राहीहरुले आयोजक संस्थाको टोलफ्री नं ९७५११ ५४८१० मा फोन गरी, अथवा www.okhati.com.np मा गई समय बुकिङ गर्न सक्नेछन्। बुकिङ सम्पन्न भएपछि सेवाग्राहीले आफ्नो मोबाइलमा भिडियो कलका लागि लिंक प्राप्त गर्नेछन् र तोकिएको समयमा घरबाटै आफूले छानेको डाक्टरसँग परामर्श सेवा लिन सक्नेछन्। परामर्श सेवा लगत्तै सेवाग्राहीले मोबाइलमै प्रेस्कृप्सन समेत प्राप्त गर्नेछन्।

भिडियो कल सेवा तथा प्रेस्कृप्सन लगायतका प्राविधिक पक्षको सहजीकरण गरिरहेको सोलुसनले आधुनिक प्रविधिको प्रयोग गरी सर्वसाधारण, चिकित्सक तथा क्लिनिकहरुलाई जोड्ने काम गरिरहेको छ।

उपलब्ध प्रविधिको प्रयोगबाट सर्वसाधारणले घरबाटै आफूले चाहेको डाक्टर वा क्लिनिकसँग समय लिन सकुन्, साधारण परामर्श सेवाका लागि अस्पताल नै धाउनुपर्ने बाध्यता नहोस् र सेवा प्रदायकहरुले पनि सर्वसुलभ र सुरक्षित रुपमा सेवा प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको ओखती सोलुसनका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए।

Next Post

Discussion about this post

ADVERTISEMENT