काठमाडौं, १९ जेठ २०८२
विश्व धूम्रपानरहित दिवस २०२५ को अवसरमा नेपाल हेल्थ कोर्प्स र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त आयोजनामा ‘वाल्क द टक’ जनचेतना र्याली भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौंमा भएको जनचेतनामुलक र्यालीमा स्वास्थ्यकर्मी, मेडिकल विद्यार्थी र युवाहरूको सहभागी थियो।
डब्लुएचओ नेपालको परिसरबाट सुरु भएको र्याली बागमती कोरिडर हुँदै त्रिभुवन विश्वविद्यालय मन्दिर, कीर्तिपुरसम्म पुगेर समापन भएको थियो।
‘स्वास्थ्य रोजौं, आशा रोजौं, सुर्तीजन्य पदार्थलाई नाइँ भनौं’ भन्ने मूल नाराका साथ आयोजित र्यालीमा धूम्रपानविरोधी सन्देशमूलक पम्प्लेट वितरण गरिएको थियो भने नाराहरूका साथ सुर्तीजन्य पदार्थको हानिबारे जनचेतना फैलाइएको थियो। र्यालीमा डब्लुएचओ नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी, नेपाल हेल्थ कोर्प्सका प्रतिनिधि, विभिन्न कलेजका मेडिकल विद्यार्थी र युवा स्वयंसेवक गरी करिब ६० जनाले सहभागिता जनाएका थिए।
कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुखले सम्बोधन गर्दै युवाहरूलाई विद्यालयस्तरमा जनचेतना फैलाउने नेपाल हेल्थ कोर्प्सको प्रयासको प्रशंसा गरे। यसका साथै, नेपाल हेल्थ कोर्प्सका एम्बासडरहरूले प्रस्तुत गरेको कला प्रदर्शनीमार्फत सुर्तीजन्य पदार्थको व्यक्तिगत र सामाजिक जीवनमा पर्ने नकारात्मक असरलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको थियो।
नेपाल हेल्थ कोर्प्स, एक युवा नेतृत्वमा आधारित गैरनाफामूलक संस्थाले फेब्रुअरी २०२५ देखि राष्ट्रियस्तरमा धूम्रपान विरोधी अभियान सञ्चालन गर्दै आएको छ। यो अभियान हालसम्म ७ वटै प्रदेशका ६२ विद्यालयमा पुगेर करिब ६,००० विद्यार्थीहरूलाई सुर्तीजन्य पदार्थको हानिबारे सचेत गराइसकेको छ।
यो र्यालीले सुर्तीजन्य पदार्थको हानिकारक असरबारे जनचेतना फैलाउनुका साथै गैर-संक्रामक रोगको रोकथामका लागि स्वस्थ जीवनशैलीको महत्त्वलाई पनि जोड दिएको छ।