काठमाडौं, २० असोज २०८२
आउँदो कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यस वर्ष सोही मितिमा दीपावलीको लक्ष्मी पूजा पर्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले प्रेस बिज्ञपति मार्फत जानकारी गराएको छ ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराउनु भयो । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।
निर्देशक डा. लालका अनुसार छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलका साथै जुकाको औषधि खुवाइने छ ।
अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।