कैलाली, १ साउन २०८१
टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो।
अध्यक्ष सोडारीका अनुसार अस्पतालमा छुट्टै डाइलासिस कक्ष निर्माण गरिएको छ। सो कक्षमा पाँच वटा बेड र एउटा आरो प्लान्ट लगायत सुविधा रहेका छन् । सोडारीले सङ्क्रमणरहित कक्षबाट सेवा सुरु गरिएको बताए।
डा. सन्देश पण्डितको नेतृत्वमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आइतबारदेखि डाइलासिस सेवा गरिएको हो। यस क्षेत्रका बिरामीहरूलाई महँगो डाइलासिस सुविधा अब टीकापुर अस्पतालबाटै प्रदान गर्नेगरि यो यस क्षेत्र बासीकै लागि खुसीको खबर भएको डा. पण्डितले बताए।
मिर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डा. पण्डितले जानकारी दिए।