काठमाडौं, १८ साउन २०७७
नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना सङ्क्रमितको उपचार गरिएको छ ।
विराटनगरका ६० वर्षीय सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित पुरुषको गएको बिहीबार प्लाज्मा थेरापी गरिएको थियो । यसअघि नेपालमा कोरोनाको गम्भीर बिरामी नदेखिएको भन्दै प्लाज्मा थेरापी गरिएको थिएन ।
गएको १० गते आईसीयूमा भर्ना भएका सङ्क्रमितको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी गरिएको थियो । अहिले उहाँ खतरामुक्त रहेका डाक्टर सन्तकुमार दासले बताउनुभयो । उहाँलाई केही दिन आइसोलेसनमा राख्ने डाक्टर दासले बताउनुभयो ।
कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाइ रोगसँग लड्न सक्ने बनाउनु नै प्लाज्मा थेरापी हो । प्लामा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाई प्रोटिन पुर्याउने काम गर्छ ।
विश्वमा कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी परेकाहरुलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिँदै आइएको छ । नेपालमा भने कोरोना सङ्क्रमितमा लक्षण नै नदेखिएकाले यो विधि प्रयोग गरिएको थिएन ।
के हो प्लाज्मा थेरापी ?
प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।
कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।
यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।
यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।