काठमाडौं, २९ असार २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड र आधुनिक थ्री टेस्ला एमआरआई सेवाको शुरुआत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सेवाको लागि २० करोड रुपैयाँ दिएको थियो ।
स्वास्थ्यमन्त्री पौडेलले सेवा शुरुवात गर्दै त्रिवि शिक्षण अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यही भएको बताए ।
अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए । मन्त्री पौडेलले भने, टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ।
अस्पतालका निर्देशक प्राडा. सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताउनु भयो।
बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याएको हो ।
यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैय्या रहनेछ।