धनगढी, २९ भाद्र २०७८
सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ ।
भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमा कार्यक्रम संचालन भैरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयहरू, संघिय अस्पताल, प्रादेशिक अस्पताल, उप प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्थानीय तह अन्तर्गत संचालित अस्पताल र बयलपाटा अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरु र अन्य सरोकारवालाहरु निकायको सहभागीता रहेको थियो।
समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालयहरुले स्थानीय तह अन्तर्गत संचालित ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गर्ने छन् भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा हुने गरि कार्यक्रम तय गरिएको छ । साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने काम हरुको योजना तर्जुमा समेत गरिने छ । संघियता संगै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सेवाको बिस्तार गरिएको छ ।
उक्त प्रयोगशालाहरुकाे स्थापनाका कारणले जनताहरुले न्युनतम प्रयोगशाला जांच सम्बन्धिको सेवा स्थानीय स्तरमै पाइरहेका छन । तथापि यस्ता प्रयोगशालाहरुले दिने सेवाको गुणस्तर उच्च बनाइ राख्न समन्वयकारी भूमिका निर्वाह गर्ने निकायको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीले काम गर्दै आइरहेको छ ।
त्यसै गैरसरकारी र निजि क्षेत्रका अस्पतालमा स्थापना भएका प्रयोगशालाको गुणस्तर जाँच गर्ने कुरा पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यक्षेत्रमा रहने गर्दछ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलाली लाइ दिइएको जिम्मेवारी अनुसार प्रयोगशालाहरुको गुणस्तर अनुगमन गर्ने काम, प्रयोगशालाकर्मी हरुको क्षमता अभिबिर्धि गर्ने काम, कोरोनाको नमुना संकलन, भण्डारण तथा सम्बन्धित पी सी आर प्रयोगशाला सम्म ढुवानीको काम प्रदेश जन स्वास्थ्य प्रयोगशालाले गरिरहेको छ । साथै क्षयरोगका बिरामीहरुको खकार नमुना को पुनः जांच गर्ने काम शुरु गरिसकेको र औँलो रोगको बिरामी हरुको रक्त नमुना क्रसचेक गर्नको लागि तयारि भैरहेको कुरा समेत समीक्षा कार्यक्रममा जानकारी गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री श्री लाल बहादुर खड्का, बिशिष्ट अतिथि माननीय सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउँद रहनु भएको थियो ।