काठमाडौं- १९ मंसिर २०८०
नेपाल शल्य चिकित्सक समाज (सोसाइटी अफ सर्जन्स नेपाल) को नयाँ कार्यसमिति चयन भएको छ।
समाजको १५ औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा भएको अधिवेशनबाट डा. रोमियो कंशाकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
समाजको निवर्तमान अध्यक्षमा डा. सुनिल कुमार शर्मा, वरिष्ठ उपाध्यक्षमा डा. रोविन जोशी र उपाध्यक्षमा डा. विकल घिमिरे चयन भएका छन्।
यस्तैगरी समाजको महासचिवमा डा. शैल रुपाखेती, कोषाध्यक्षमा डा. सुमिता प्रधान, सहसचिवमा डा. अनिप जोशी र सहकोषाध्यक्षमा डा. रोशन घिमिरे चयन भएका छन्।
यस्तै सदस्यहरुमा डा. रुपेश मुखिया, डा. प्रनिल राई, डा. टंक प्रसाद बोहोरा, डा. सुशील ढुंगेल र डा. उत्सवमान प्रधान चयन भएका छन्।
समाज सन् १९९२ मा स्थापित संस्था हो। अहिले समाजमा ५८० भन्दा बढी शल्यचिकित्सकहरु सदस्य रहेका छन्।
वरिष्ठ शल्य चिकित्सकलाई सम्मान
सम्मेलनमा वरिष्ठ शल्यचिकित्सकलाई गार्ड अफ अनरका रुपमा सम्मान र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। वरिष्ठ शल्य चिकित्सकद्वय डा. एसके भट्टाचार्य र डा. विश्वराज दलीलाई गार्ड अफ अनरका रुपमा सम्मान गरेको छ।
यसैगरी, डा. अच्यूत प्रसाद शर्मा, डा. चन्द्रलाल भट्टचन र डा. महेश खकुरेललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
तीन दिनसम्म चलेको उक्त सम्मेलनमा नेपालसहित सार्क राष्ट्र र अनुय देशका प्रतिनिधिहरु सहभागि भएका थिए। बिहीबारबाट सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको छ।
सम्मेलनमा तीन जना विदेशी शल्य चिकित्सकलाई शल्य चिकित्सक समाजको मानार्थ सदस्यता समेत प्रदान गरिएको छ। श्रीलङ्काका अर्थोपेडिक र ट्र्मा शल्य चिकित्सक प्राडा. नरेन्द्र पिन्टो, पाकिस्तानका प्राडा. अब्दुल मजिद चौधरी र अष्ट्रेलियाका इन्डोक्राइन शल्य चिकित्सक प्राडा. क्रिस्टोफर पाइकलाई मानार्थ सदस्यता प्रदान गरिएको हो।