काठमाडौं, १९ चैत २०८८
नेपाल सोसाइटी अफ अब्सटेटिप्स एण्ड गाइनोकोलोजीको १६ औं राष्ट्रिय सम्मेलन काठमाण्डौंको याडिसन होटलमा सुरु भएको छ ।
दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बिभिन्न सोधपत्रहरु पस्तुत गरिनेछ । महामारी र महामारी पश्चात प्रजनन स्वास्थ्य भन्ने मूल नाराका साथ देश भरीका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु उक्त सम्मेलनमा भाग लिनेछन् ।
कार्यक्रमको उद्घाटन समारोहमा नेसोगका अध्यक्ष डा. गणेश दंगालले अध्यक्षता गर्नुभएको थियो । उक्त कार्यक्रममा विदेशबाट बिशेषज्ञहरु आई सहजीकरण गनुभएको छ । कार्यक्रममा महामारीको समय तथा महामारी भन्दा अगाडीको प्रजनन स्वास्थ्यको बारेमा समेत छलफल भएको थियो, साथै सम्मेलनमा देशका बिभिन्न क्षेत्रहरुमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
यसै सम्मेलन अन्तर्गत विभिन्न बिधाहरु जस्तै अनकोलोजी, यूरोगाईने, आकस्मीक निसन्तान र अन्य विभिन्न सत्रहरुमा करिब सय वटा (१००) वटा सोधपत्र प्रस्तुत गरिदैछ । यसै सम्मेलन अन्तर्गत थ्यगलन गाईनोकोलोजी अवार्ड, नेसोग अवार्ड, सोमा अवार्ड र नेसोग लजिक अवार्ड पनि प्रदान गरिनेछ ।
सम्मेलनको पूर्व सन्ध्यामा मिति चैत १६ र १७ गते कस्मेटिक गाईनोकोलोजी र कल्पोस्कोपी गरी २ वटा कार्यशाला सम्पन्न भईसकेको छ, भने चैत २० र २१ गते हिस्टेरस्कोपी ल्यापरोस्कोपी र प्रसूति पश्चात हुने रक्तश्राब गरी ३ वटा कार्यशाला सम्पन्न हुनेछ। नेसोगका अध्यक्ष डा. गणेश दंगालका अनुसार कार्यक्रमका प्रमुख अतिथि एफआइजिओका अध्यक्ष डा. जेनी कोन्री रहनुहुनेछ।