कैलाली, १० वैशाख २०८०
सदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरीका कारण बिग्रेको मृगौला निकाल्ने शल्यक्रिया गरिएको छ।
अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक सिम्पल नेफ्रोक्टोमी गरिएको अस्पतालका सर्जरी विभाग प्रमुख डा. सुरेन्द्र बस्नेतले बताए। कैलालीको कैलारी गाउँपालिकाकी ४९ वर्षीया एक महिलाको बुधबार शरीरमा सानो प्वाल पारेर पत्थरीका कारण खराव भएको मृगौला निकालिएको हो।
सेती अस्पतालका सर्जरी विभाग प्रमुख डा. सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मृगौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधिबाट पहिलो पटक सेतीमा सफल शल्यक्रिया भएको बताए। बुधवार शल्यक्रिया गरिएकोमा आज शुक्रवार बिरामीलाई डिस्चार्ज गरिने डा. बस्नेतले बताए।
काठमाडौंको वीर अपतालबाट एमसिएच युरोलीजी गरेका डा. बस्नेतसँगै डा. जोनस तिवारी, डा. कपिल गौतम, डा. दिपेशद श्रेष्ठ, क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, कविता बोहरा, लक्ष्मी उपाध्याय, जनाकी पाण्डे, लालु डगौरा र रमैया चौधरीको समुह पनि संलग्न रहेको थियो।
दूरबिन विधि अर्थात ल्यापरोस्कोपिक सर्जरी गर्दा रगत कम बग्ने हुँदा बिरामीलाई रगत चढाउनु नपर्ने, बिरामीलाई दुखाई कम हुने र छिट्टै हिड्डुल गर्न सक्ने, शरीरमा दाग नहुने, संक्रमणको जोखिम कम हुने र अस्पतालबाट दुई दिनमै घर जान मिल्ने डा. बस्नेतले बताएका छन्।
योसँगै सेतीमा अबदेखि दुरविन विधिबाट मृगौलाको शल्यक्रिया सुरू भएपछि मृगौलाको शल्यक्रिया गर्नुपर्ने बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालबाट अन्य पत्थरी युरोलोजी सेवाका लागी आवश्यक मेसिन खरिद प्रक्रिया सुरु भएकाले सो सेवा छिट्टै सञ्चालन हुने बताइएको छ।