धनगढी १९, बैशाख
धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। बिगत २८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको छ पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको बताए। प्रवक्ता डा.जोशीका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिनेछ।
लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्।
अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको मात्रै उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका कोभिड १९ उपचार विभाग प्रमुख डा.शेर बहादुर कमरले बताए। कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनले बताए।
उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।
३४ बर्षीय महिलामा दुबईबाट आएका उनका ३१ बर्षीय देवरबाट कोरोना सरेको आशंका गरिएको छ। उनका देवर भने सञ्चो भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।