दाङ, ०१ माघ २०८२
दाङको घोराहीस्थित रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा सेवा बाफतको १४ करोड रुपैयाँ भुक्तानी नहुँदा प्रतिष्ठान गम्भीर आर्थिक संकटमा परेको छ।
लामो समयदेखि बिमा बोर्डबाट भुक्तानी नआएपछि प्रतिष्ठानको नियमित सेवा सञ्चालनमै आउन समस्या देखिन थालेको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार कात्तिक सम्मको करिब ११ करोड रुपैयाँ बिमाको रकम हालसम्म भुक्तानी भएको छैन। मंसिर र पुस महिनाको बिमा रकमसमेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुगेको लम्सालले जानकारी दिए।
स्वास्थ्य बिमा बोर्डलाई पटकपटक पत्राचार गरी भुक्तानीको माग गरिए पनि हालसम्म ठूलो रकम अड्किएर बसेको र यसले प्रतिष्ठानको आर्थिक अवस्था निकै कमजोर बनेको रजिस्ट्रार लम्सालले बताए ‘अब यो अवस्थालाई थेग्न नसक्ने चरणमा पुगेका छौँ,’ उनले भने।
बिमा सेवा बाफतको करोडौँ रुपैयाँ भुक्तानी नहुँदा औषधि आपूर्तिकर्ताहरूले औषधि तथा औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको लम्सालको भनाइ छ। यसले बिमामार्फत प्रदान गरिने उपचार सेवासमेत प्रभावित हुन सक्ने खतरा बढेको बताइएको छ।
लम्सालले स्वास्थ्य बिमा सेवाको निरन्तरता र स्वास्थ्य सेवा प्रभावित हुन नदिन बिमाको रकम तत्काल भुक्तानी गरिदिन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गरेका छन्।











