चितवन, ३१ साउन २०७७
चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
भरतपुर–१० स्थित श्री पुष्पाञ्जली हस्पिटलले कोरोना संक्रमितको उपचार थालेको हो । साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको हो । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।
अस्पताल प्रशासनले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ । साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको भनाइ छ । कोरोना संक्रमित भएका व्यक्तिलाई हव अस्पतालसंग समन्वय गरेर उपचार गर्ने भनिएकाले यहाँको हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
संक्रमित पुरुषको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुको साथै दुवै फोक्सोमा निमोनिया देखिएकोले अस्पतालले जनाएको छ ।
Comments 1