काठमाडौं, ११ फागुन २०८२
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ।
अस्पतालले यो सेवा कार्तिक महिनामा पहिलो प्रसूति फिस्टुला शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो।
यो सेवा United Nations Population Fund (UNFPA) सँगको सहकार्यमा सञ्चालन भइरहेको र UNFPA कै प्राविधिक तथा आर्थिक सहयोगमा अस्पतालमा विशेष फिस्टुला शल्यक्रिया वार्ड स्थापना गरिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।
अस्पतालका चिकित्सकहरू UNFPA को प्रायोजनमा International Fistula Center बाट विशेष तालिम प्राप्त गरी जटिल फिस्टुला केसहरूको व्यवस्थापन गर्न सक्षम भएका डा. अधिकारीले बताए ।
डा. अधिकारीका अनुसार यो कार्यक्रमको लागि यस अस्पतालका चिकित्सकहरुलाई बिदेशबाट उक्त विशेषज्ञता हासिल गरेर यो सेवा शुरु गरेको हो। यसले गर्दा अस्पतालमा थप उपचारमा मद्दत पुग्ने विश्वास राखेका छौँ ।
प्रसूति फिस्टुला के हो?
प्रसूति फिस्टुला भनेको कठिन र लामो समयसम्म अवरुद्ध प्रसव (prolonged obstructed labor) का कारण प्रसूति मार्ग र मूत्राशय (vesicovaginal fistula) वा मलाशय (rectovaginal fistula) बीच अस्वाभाविक प्वाल बन्नु हो। यसले महिलामा अनियन्त्रित रूपमा पिसाब वा दिसा बग्ने समस्या गराउँछ। पिसाबको थैलीबाट पिसाब चुहिने समस्यालाई समाधान गर्नका लागि यो सेवा निशुल्क गरिएको छ।
प्रमुख कारणहरु:
लामो समयसम्म उपचार नपाई अवरुद्ध प्रसव
सानो श्रोणी (pelvis) वा शिशुको टाउको ठूलो हुनु,
स्वास्थ्य संस्थामा समयमै नपुग्नु,
सिजेरियन सेवा उपलब्ध नहुनु,
किशोरावस्थामा गर्भधारण,
फिस्टुला केवल अवरुद्ध प्रसवका कारण मात्र होइन, शल्यक्रिया क्रममा भएको चोट (Iatrogenic injury) का कारण पनि हुन सक्छ। यस्ता फिस्टुलाहरू प्रायः शल्यक्रिया केही दिन वा हप्ताभित्र लक्षण देखापर्छन्। हिस्टेरेक्टोमी (गर्भाशय हटाउने शल्यक्रिया) क्रममा ब्लाडर इन्जुरी, पेल्भिक ट्युमर वा रेडिएसनपछि, दोहोरिएको शल्यक्रिया वा adhesion भएको केस हुन सक्छ। 
यस कार्यक्रमको मुख्य उद्देश्य:
फिस्टुला भएका महिलाहरूलाई सुरक्षित र प्रभावकारी शल्यक्रियामार्फत उपचार प्रदान गर्नु हो। साथै, उपचारसँगै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक पुनःस्थापना सुनिश्चित गर्नु र मातृ स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गर्नु कार्यक्रमको प्राथमिकता हो। समुदायस्तरमा प्रसूति फिस्टुला सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समयमै रेफरल र संस्थागत प्रसवलाई प्रवर्द्धन गर्नु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो।
सेवा विशेषताअन्तर्गत फिस्टुला शल्यक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ। विशेष फिस्टुला शल्यक्रिया वार्ड सहित सुव्यवस्थित पूर्वाधार तयार गरिएको छ। शल्यक्रिया अघि विस्तृत मूल्याङ्कन, परामर्श तथा तयारी गरिन्छ भने शल्यक्रिया पश्चात् नियमित निगरानी, क्याथेटर व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक औषधि उपचार प्रदान गरिन्छ। साथै, बिरामीहरूको पोषण सुदृढीकरण, मनोसामाजिक परामर्श तथा सामाजिक पुनःएकीकरणमा समेत सहयोग प्रदान गरिन्छ। दक्ष तथा तालिमप्राप्त विशेषज्ञ टोलीद्वारा गुणस्तरीय, सम्मानजनक र सुरक्षित सेवा सुनिश्चित गरिएको छ।
हरेक वर्ष मे २३ लाई International Day to End Obstetric Fistula का रूपमा मनाइन्छ। यस अवसरमा अस्पतालले जनचेतना कार्यक्रम तथा स्क्रिनिङ सेवा सञ्चालन गर्ने जनाएको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु गरिएको निःशुल्क फिस्टुला शल्यक्रिया सेवा नेपालमा मातृ स्वास्थ्य सुधारतर्फ महत्वपूर्ण कदम हो। UNFPA सँगको सहकार्य र दक्ष जनशक्तिको विकासले भविष्यमा अझ बढी महिलाहरूलाई गुणस्तरीय, सम्मानजनक तथा निःशुल्क उपचार सेवा उपलब्ध गराउने डा. अधिकारीले बताउनु भयो।





