काठमाडौं, १० असार २०८२
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी साउन ३० गते यो प्रतिस्पर्धा गर्न लागेको हो । भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।
अस्पतालले एक वर्ष भित्रका शिशुहरुलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने बताएको छ । जन्मेदेखि ४५ दिन, ४६ दिन देखि ६ महिनासम्म र ६ महिना १ दिन देखि १ वर्षसम्मका शिशुहरुबीच छुट्टा छुट्टै प्रतिस्पर्धा हुने बताइएको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले शिशुहरुको पोषण, शारीरिक तथा मानसिक विकास क्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरुको जाँच गरिने बताउनु भयो ।
डा. अधिकारीका अनुसार आम अभिभावकलाई शिशुहरु विकास क्रम कस्तो हुनु पर्छ ? कुन उमेरमा कति तौल हुनुपर्छ ? शारीरिक साथै मानसिक विकास कस्तो हुनुपर्छ? भनेर बुझाउन पनि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो।
अस्पतालले सो प्रतिस्पर्धामा छानिएका शिशुहरुलाई आगमी १० भदौमा हुने ६० औँ बार्षिकोत्सवका दिन पुरस्कृत गर्ने जनाएको छ । प्रतिस्पर्धा गराउन ईच्छुक अभिभावकले १०० रुपैयाँको फारम भर्न पर्ने त्यो फारम असार १० देखि १ महिनासम्म भर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालले यो प्रतिस्पर्धा हरेक वर्ष गर्दै आएको छ।