ओखलढुङ्गा, २३ चैत २०७८
ओखलढुंगामा यही चैत २५ देखि २९ गते सम्म ३६ हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत जिल्लामा १५ महिना भन्दा माथि र १५ बर्ष भन्दा कम उमेरका ३६ हजार ८ सय ३६ बालबालिकालाई खोप लगाइने भएको हो ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जिल्लाका सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै देशमै र जिल्लामै पहिलो पटक सञ्चालन हुने टाइफाइड विरुद्धको खोप अभियानलाई सफल बनाउन सबैलाई आ-आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गरेको छ ।
५ सय ३८ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सुचना अधिकारी पुष्पराज पन्तले बताए ।
खोप सुरक्षित र अत्यावस्यक रहेकोले अभियानमा लक्षित समुहका सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
खोप अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैले समन्वयात्मक भूमिका खेल्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताएका छन् ।
बालबालिकामा टाइफाइडले बढि सताउने र समयमा उपचार नभए ज्यानै समेत जानसक्ने जोखिम भएकाले सरकारले बाल स्वास्थ्यको ख्याल गरेर अभियान सञ्चालन गर्न लागेको उनको भनाई थियो । अन्तरक्रियामा सहभागिहरुले अभियानबारे प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका थिए।