काठमाडौं, ३० बैशाख २०८२
थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले अन्तर्राष्ट्रिय नसिङ दिवसको अवसरमा १६ नर्सिङ कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।
सोमबार दिवसको अवसरमा आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत डा. अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुने नर्सिङ कर्मचारीहरुमा नेहा ट्वाटी, प्रविना डंगोल, उषा पन्त, अर्डिना गैडा, आयशा डंगौरा, अन्जली गोले, रक्षा थापा, रश्मी थापामगर, सचिना, महर्जन, सिमरन देव, अक्षिता कार्की, अस्मिता सुनारीमगर, लक्ष्मीकेशरी फैंजु, विपिना घले, गोपालबहादुर बिक र कीर्ति श्रेष्ठ रहेका छन् । पुरस्कृत नर्सिङ कर्मचारीहरुलाई अस्पतालका तर्फबाट प्रमाणपत्र र मिडास डे स्पाको निःशुल्क गिफ्ट भौचर पनि प्रदान गरिएको थियो ।
सोही अवसरमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालको मुख्य आधारशीला नै नर्सहरू भएको उल्लेख गर्दै सबै नर्सहरुलाई समान व्यवहार र एक अर्कालाई उत्प्रेरणा जगाउने काम गर्नुपर्ने बताईन् । चौधरीले आगामी दिनमा डेजी फाउन्डेसनको सहकार्यमा उत्कृष्ट नर्सहरुलाई पुरस्कृत गर्दै अघि बढ्ने अवसर दिने पनि बताईन्
अस्पतालले बिहान वाकाथन कार्यक्रम आयोजना गरेको थियो । बिहान साढे ७ बजे नर्भिक अस्पतालबाट सुरु भएको वाकाथन कुपण्डोल, कानदेवतास्थान, पुल्चोक, मंगलबजार, कृष्णमन्दिर पुगेर पाटन ढोका हुदै सोही रुटबाट फिर्ता भएको थियो ।
ललितपुरको कृष्णमन्दिर प्रांगणमा अस्पतालका नर्सिङ कर्मचारीहरुद्वारा सीपीआरसम्बन्धी जनचेतनामूलक प्रदर्शनी आयोजना गरिएको थियो । वाकाथनमा अस्पतालमा कार्यरत नर्सहरुका साथै कर्मचारीहरु सहभागी थिए ।