विराटनगर, ६ पुस २०७९
प्रदेश १ मै पहिलो पटक नोबेल शिक्षण अस्पताल बिराटनगरमा ढाडको नसा च्यापिएको विना चिरफार ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
सामान्यतया नसा च्यापिएका बिरामीहरुको ढाड चिरेर शल्यक्रिया गर्ने गरिएकोमा प्रदेश १ मै पहिलो पटक नोबेलका चिकित्सकहरुले ल्याप्रोस्कोपी अर्थात दुरविनको सहायतामा स-साना प्वाल बनाएर नसा च्यापिएको ढाडको सफल शल्यक्रिया गरेका हुन् ।
सोमबार नोबेल अस्पतालका डा. प्रकाश काफ्लेको नेतृत्वमा डा. एडमन्ड जोनाथन र डा. प्रमोद चौधरीको टोलीले झापा कमल गाउँपालिका २ की २८ वर्षीय बिमला कार्कीको मिनिमली इनभेसिभ स्पाइन सर्जरी गरेका हुन् । सामान्यतया ढाड भाँच्चिएको र नसा च्यापिएको शल्यक्रिया गर्दा ढाड चिर्नुपर्दथ्यो ।
यसबाट शल्यक्रिया गर्दा बढी रगत जाने, शल्यक्रिया पश्चात लामो समय अस्पताल बस्नुपर्ने तथा शल्यक्रिया गरेको घाउसमेत निको हुन लामो समय लाग्ने डा. काफ्लेले जानकारी दिनुभयो। ल्याप्रोस्कोपी प्रविधिबाट स–साना प्वाल बनाएरै नसा तथा ढाडको शल्यक्रिया गर्दा बिरामी चाँडो निको हुने तथा अस्पतालमा धेरैदिन बस्नुपर्ने बाध्यता हटेको पनि डा. काफ्लेले बताए। यो प्रविधिले बिरामीलाई धेरै राहत पुगेको छ, रगत धेरै जाँदैन । लामो समय ओछ्यानमा बसेर रेष्ट गर्नु पर्दैन ।
एकहप्ता अगाडी घरमै लडेर ढाड भाच्चिएकी कार्कीलाई सुरुमा दमकस्थित आम्दा अस्पतालमा उपचारका लागि २ दिन राखिएको थियो । आम्दाले शल्यक्रिया गर्न नसक्ने बताएपछि उनलाई बिहीबार नोबेल शिक्षण अस्पताल ल्याइएको बिरामी कार्कीकी आफन्त कुसुम निरौलाले बताइन् । सोमबार शल्यक्रिया गरिएकी कार्की अहिले सामान्य हिँडडुल गर्नसक्ने भएकी छिन् । अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।
बिरामीको शल्यक्रियामा डा. काफ्लेको टीममा एनेस्थेसियाका डा. सञ्जय, टेक्निनिसियन खेम आचार्य, सचिन दाहाल तथा नर्स तृष्णा काफ्लेको टीम समेत संलग्न थियो ।
मिनिमली इनभेसिभ स्पाइन सर्जरी भनेको के हो ?
मिनिमली इनभेसिभ स्पाइन सर्जरी (MISS) मेरुदण्डको हड्डी (ब्याकबोन) को एक प्रकारको शल्यक्रिया हो । यस प्रकारको शल्यक्रियामा परम्परागत शल्यक्रिया नगरीकन स–साना प्वालहरु पारेर दुरविनको सहायताबाट शल्यक्रिया गरिन्छ । यसले प्रायः नजिकैको मांसपेशी र अन्य तन्तुहरूलाई कम हानि पुर्याउने, बिरामीलाई कम दुखाइ हुने र शल्यक्रिया पछि घाउहरु पनि छिटो निको हुन्छ ।
मेरुदण्डको शल्यक्रियाको पुरानो विधिलाई ओपन सर्जरी भनिन्छ । यस विधिमा ढाडमा लामो चीरा पारिन्छ । मेरुदण्डको वरिपरिको मांसपेशी र नरम तन्तुहरू सार्नु पर्छ । केहि अवस्थामा, उक्त तन्तुहरु हटाउनु पनि पर्ने हुन्छ ।
मिनिमली इनभेसिभ स्पाइन सर्जरीको समयमा चिकित्सकले सानो प्वाल बनाएर त्यसबाट ट्यूबलर रिट्र्याक्टर भनिने यन्त्र घुसाउँदै मेरुदण्डको समस्या भएको क्षेत्रमा सुरुङ बनाउँछ । यसले बिस्तारै मांसपेशी र उक्त क्षेत्रको वरिपरि नरम तन्तुलाई धकेल्छ । त्यसपछि शल्यचिकित्सकले मेरुदण्डमा काम गर्नको लागि सोही सुरुङबाट साना औजारहरू राख्दै शल्यक्रिया गर्न सक्छन् । यो सबै गर्नका लागि सर्जनले एक विशेष अपरेटिङ माइक्रोस्कोप पनि प्रयोग गरी मेरुदण्डको वास्तविक अवस्थाहरु हेर्न सक्छन् ।
मिनिमली इनभेसिभ स्पाइन सर्जरीका बेला लुम्बर डिसेक्टोमी, लामिनेक्टोमी र स्पाइनल फ्युजन समावेश गरिएको हुन्छ ।
मिनिमली इनभेसिभ स्पाइन सर्जरीका फाइदाहरू
मिनिमली इनभेसिभ स्पाइन सर्जरीले परम्परागत सर्जिकल उपचारको तुलनामा उपचार पद्दतिमा मात्र हैन बिरामीलाई पनि धेरै राहत दिने डा. काफ्लेले जनाए । यो प्रक्रिया स–साना चीराहरू मार्फत शल्यक्रिया गरेर हासिल भएको हुनाले यसले कम दुखाई गर्ने, लामो समय अस्पतालमा बस्न नपर्ने, छिट्टै रिकभर हुने, कम दाग बस्ने, संक्रमणको जोखिम कम हुने फाइदा रहेको छ ।
नोबेलले पूर्वमै पहिलो पटक नसा तथा मेरुदण्ड बिरामीहरुको शल्यक्रियाका लागि ल्याप्रोस्कोपी प्रविधि सुरु गरेसँगै नसा तथा मेरुदण्डका बिरामीहरुलाई उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न अस्पतालहरुमा जानुपर्ने बाध्यता हटेको छ ।
नोबेल शिक्षण अस्पताललाई अत्याधुनिक विशिष्टीकृत अस्पतालका रुपमा रुपान्तरण गर्न संस्थापक डा. सुनिल कुमार शर्माको महत्वपूर्ण भूमिका रहेको छ । डा. शर्माकै नेतृत्वमा नोबेलमा चिकित्सा सेवाका नविनतम उपचार पद्दतिहरु सुरु गरिएको थियो । डा. शर्मा हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै कार्यकारी पदबाट राजिनामा दिइसकेका छन् । नोबेलमा यसअघि नै दक्षिण एशियाकै अत्याधुनिक न्यूरो सेवा सञ्चालनमा ल्याइएको थियो ।