निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी प्राप्त गरेका डा. अन्सारीको निर्वाचनलाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। शल्यचिकित्सा क्षेत्रमा दक्षता, अनुशासन, इमानदारी र बिरामीप्रतिको समर्पणका कारण डा. अन्सारीले चिकित्सक समुदायसँगै सर्वसाधारणमाझ पनि विशेष विश्वास र सम्मान हासिल गरेका छन्।
डा. अन्सारी अध्यक्षमा निर्वाचित भएपछि निसर्ग हस्पिटल परिवारले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना सन्देश जारी गरेको छ। हस्पिटलले डा. अन्सारीको नेतृत्वमा सर्जरी सेवा, चिकित्सकहरूको पेशागत विकास र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ।
सुदूरपश्चिममा आधुनिक शल्यचिकित्सा सेवाको विस्तार, जटिल शल्यक्रियाको सफल व्यवस्थापन तथा स्वास्थ्य सेवाको पहुँच बढाउन उल्लेखनीय योगदान पुर्याउँदै आएका डा. अन्सारीको नेतृत्वले अब प्रदेशभरिका सर्जनहरूलाई थप एकताबद्ध, सक्षम र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।
शल्य चिकित्सकहरुको छाता संस्था ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल’ सर्जनहरूको पेशागत हकहित संरक्षण, दक्षता अभिवृद्धि तथा गुणस्तरीय सेवाको विकासमा सक्रिय संस्था हो। डा. अन्सारीको नेतृत्वमा सुदूरपश्चिम च्याप्टर अझ प्रभावकारी, गतिशील र परिणाममुखी बन्ने विश्वास स्वास्थ्यकर्मीहरूले व्यक्त गरेका छन्।






