काठमाडौं, ३० कात्तिक २०८२
नेपाल मेडिकल काउन्सिलको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा लगायत चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पुसमा हुने निर्वाचनका लागि डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह, डा.अजयसिंह थापा र डा. कालू सिंह खत्री उपाध्यक्ष पदमा दाबी गरेका हुन्।
उम्मेदवारी दर्ताको आज अन्तिम दिनसम्म ८ सदस्य पदका लागी ३३ जनाको नाम दर्ता भएको काउन्सिलले जनाएको छ। काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य चयन गर्नुपर्नेछ।
उपत्यका बाहिर पुस ५ र ६ गते र उपत्यका भित्र पुस ११ र १२ गते मतदान हुने कार्यक्रम काउन्सिलले तय गरेको छ।
निर्वाचन समितिमा प्रा. डा. रविन्द्रमान श्रेष्ठ प्रमुख निर्वाचन अधिकृतका रूपमा छन् भने प्रा. डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी निर्वाचन अधिकृत रहेका छन्।
मेडिकल काउन्सिलका अनुसार उपाध्यक्ष पदका उम्मेदवारलाई न्यूनतम १५ वर्ष र सदस्य पदका उम्मेदवारलाई ५ वर्षको चिकित्सकीय अनुभव अनिवार्य छ।
काउन्सिलमा दर्ता भएका सबै चिकित्सकलाई मतदान अधिकार रहनेछ। हालका निर्वाचित पदाधिकारीहरूको कार्यकाल २०७८–२०८२ रहने भएकाले उनीहरूको अवधि २०८२ पुस १ गते समाप्त हुनेछ।










