काठमाडौं, २३ फागुन २०८२
काठमाडौंको त्रिपुरेश्वरस्थित रहेको नेपाल आँखा अस्पताल, ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएको छ।
शनिबार केन्द्रीय मानन्धर संघ नेपालको ७३ औँ स्थापना दिवसको काठमाडौँको स्वयम्भूमा आयोजित विशेष समारोहका बीच अस्पताललाई सो पुरस्कार प्रदान गरिएको हो।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रा. जगदीश नारायण मानन्धरले अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
५२ वर्षअघि स्थापना भएको यस अस्पतालले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ऐतिहासिक योगदान पुर्याउँदै आएको छ। उपचारका साथै आँखा स्वास्थ्य सम्बन्धी उच्चस्तरीय अध्यापन, अनुसन्धान र प्रकाशनमा समेत अस्पताल अग्रणी रहेको छ।
यस्तै पुरस्कार वितरण समारोहमा अस्पतालका कोषाध्यक्ष अनिल प्रसाद गोर्खाली, अस्पतालका कर्मचारीहरू तथा केन्द्रीय मानन्धर संघका देशभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अस्पतालले हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो’ नेत्र विशेषज्ञसहित १५० जनाको दक्ष जनशक्तिमार्फत सेवा प्रदान गरिरहेको छ। अस्पतालमा आँखाका सबै प्रकारका ‘सबस्पेशियाल्टी’ सेवाहरू उपलब्ध रहेका छन्।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईले यहाँ वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको शल्यक्रिया हुने गरेको बताए। ‘हामीकहाँ आउने हरेक बिरामीले अनिवार्य रूपमा विशेषज्ञ डाक्टरकै सेवा पाउने पद्धति छ,’ उनले भने, ‘काठमाडौँ उपत्यकाभित्रै सबैभन्दा सस्तो, सरल र गुणस्तरीय सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।’
यस्तै अस्पतालले सेवाग्राहीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवा आधा घण्टादेखि अधिकतम २ घण्टाभित्रै सम्पन्न हुने व्यवस्था मिलाएको छ। साथै, अस्पतालभित्रै सञ्चालित अप्टिकल सपबाट १ घण्टाभित्रै चश्मा तयार हुने र आफ्नै फार्मेसीबाट सुपथ मूल्यमा औषधि उपलब्ध गराइँदै आएको छ।
उपचारका अतिरिक्त अस्पतालले सामुदायिक उत्तरदायित्व अन्तर्गत वर्षैभरि नि:शुल्क आँखा परीक्षण, नि:शुल्क मोतिबिन्दु शल्यक्रिया शिविर, विद्यालय स्तरीय दृष्टि परीक्षण तथा चश्मा वितरण र ‘डायबेटिक रेटिनोपेथी’ परीक्षण जस्ता सेवाहरू ग्रामीण सम्म पुर्याउँदै आएको छ।





