काठमाडौँ, १२ असोज २०७९
बसुन्धरास्थित नेशनल कार्डियाक सेन्टरले करिब ३० भन्दा बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटुरोग सम्बन्धि परीक्षण गरेको छ।
विश्व मुटु दिवसको पुर्ब सन्ध्यामा स्वास्थ्य पत्रकारहरुलाई मुटु सम्बन्धी सचेतना (प्रशिक्षण) कार्यक्रमको आयोजना पनि गरिएको थियो।
उक्त कार्यक्रममा विशेष गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरको थियो । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा भएको सचेतना तथा मुटु परीक्षणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र डा. अभिषेक ठाकुरले स्वास्थ्य पत्रकारहरुलाई मुटुरोग के हो ? मुटुरोग लाग्नुका कारण, ह्दयघात, ह्दयघात भएका व्यक्तिको प्राथमिक उपचार, मुटुरोगमा कुन अवस्थामा औषधि सेवन गर्ने या नगर्ने विषयमा समेत चिकित्सकहरुले प्रशिक्षण दिनुभएको थियो ।
मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, अन्य प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो । यस्तै सुगर, कोलेस्टेरोल, थाइराइड लगायतका परीक्षण थियो ।
मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले मुटुरोग लाग्नुको कारण र लाग्न नदिनका लागि ध्यान दिनु पर्ने उपायका बारेमा प्रष्ट्याउनुभयो । उहाँले मानिसको जिवनशैलीमा विशेष ध्यान दिन सके मुटुरोगबाट बचाउन सकिने पनि बताउनुभयो । मुटुरोगबाट बच्न विशेष आहारमा ध्यान दिनु पर्ने भन्दै उहाँले नियमित व्यायम गर्ने बानी बसाल्न आग्रह गर्नुभयो ।
मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिउँ, यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुने डा. अनिलको भनाई छ । यसले मानिसको मृत्यु हुने, आयू घटने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँने भन्दै उहाँले चुरोट, खैनी, मदिरापान र धुम्रपान नगर्न सल्लाह दिनुभयो ।
त्यसैगरी मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले मुटुरोगको आकस्मिक अवस्था कसरी थाहा पाउने र के गर्ने भन्ने बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । उहाँको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य रिपोर्टिङका खटिने स्वास्थ्य पत्रकारहरु आफै पनि नियमित स्वास्थ्य जाँच गर्न विविध कारणले नपाईरहेको अवस्थामा कार्डियाक सेन्टरबाट उपलव्ध अवसरको सदुपयोग गरेको बताउनुभयो।
उहाँले आफ्नो स्वास्थ्य जाँच गरी अरुको स्वास्थ्यका लागि समेत सचेतना बढाउने अवसर दिएको भन्दै सेन्टरलाई धन्यवाद दिनुभयो।