काठमाडौं, ७ असार २०८२
साउदीबाट आएका थप एक जनामा एमपक्स संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरवबाट आएका ३७ वर्षीया पुरुषमा एमपक्स पुष्टि भएको हो ।
साउदीबाट फर्किएका उनीमा एमपक्सको लक्षण देखिएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए । पीसीआर विधिबाट त्यहाँ गरिएको परीक्षणमा रोग पुष्टि भएपछि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरि उपचार गरिएको छ ।
डा. बुढाथोकीका अनुसार नेपालमा अहिलेसम्म चारवटा एमपक्सको बिरामी भेटिएका छन् । १ असार २०८० मा पहिलो पटक एमपक्सको केश भेटिएको थियो । त्यतिवेला नेपाल घुम्न आएकी ६० वर्षीया विदेशी महिलामा पनि एमपक्स संक्रमण पुष्टि भएको थियो । यो पछिल्लो केश चौथो हो । यसअघिका एमपक्स पुष्टि भएका तीन जना पनि साउदी अरबबाटै फर्किएका नेपालीहरु थिए ।
के हो मंकीपक्स ?
मंकीपक्स (Monkeypox) अथवा एमपक्स (Mpox) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरस (Monkeypox Virus) ले गर्दा मावनजाति तथा केहि अरु प्राणिमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन । क्लेड १ (Clade -I) र क्लेड २ (Clade -II) ।
यो भाइरस बिफर(Smallpox) गराउने भाइरससंग मिल्दोजुल्दो हुन्छ । यस भाइरस सन १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो ।
सन १९८० मा बिफर (Smallpox) उल्मुलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकीपक्स देखा पर्न थालेको थियो ।
अफ्रिकाका साना स्तनधारि जनावर जस्तै बाँदर,मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ ।
सन २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरु फैलिएको थियो । त्यसयता बर्षेनी प्रजातान्त्रिक गणतन्त्र कंगो मा कैयौं संक्रमणहरु भेटिने गरेको छ । सन २०२२ को मेइमा यूरोपबाट सूरु भएको यो माहामारी अमेरिका तथा अन्य विभिन्न मुलुकहरुमा फैलिएको छ जसको यस भाइरसको प्रजाती क्लेड २ (Clade -II) कारक रहेको छ । त्यस्तै सुडानमा सरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड १ (Clade -I) को कारण रहेको छ ।
यो रोग कसरी सर्छ ?
मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ । यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ ।
संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन । त्यस्तै स्वासप्रस्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ । एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ ।
संक्रमित जनावरहरुको मासु खाँदा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भुमिका पाइएको छ ।
लक्षणहरु के के हुन ?
मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्छन । प्रायमा एक हप्ताभित्रमा लक्षण देखिन्छन र २ देखि ४ हप्तासम्म रहि रहन्छन । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखापर्न सक्छन । यस अवधिपछि भने रोग बिस्तारै निको हुदै जान्छ ।
लक्षणहरुमा, डाबर आउनु, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेसी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन । सुरुमा देखिने डाबर बिस्तारै बढदै गएर फोका उठने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिराहरु आउन सक्छ । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्राय हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्रि भागमा बढी देखिन्छ ।
प्रायमा सुरुमा ज्वरो, मांसपेसी दुख्ने तथा घाँटी दुख्ने हुन्छ र पछि अनुहारबाट डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउदासम्म संक्रमित ब्यक्तिले रोग अन्यमा सार्न सक्छ ।
गर्भवती, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा भने जटिलताहरुमा उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरु संक्रमणको सम्भावना, न्युमोनिया, एन्सेफलाइटिस, आँखाको ज्योती गुम्ने आदि हुनसक्छ । साथै गर्भवतीको बच्चा खेर जाने हुनसक्छ।
परीक्षण तथा उपचार के छ ?
मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला (Chichenpox), लुतो (Scabies) र दादुरा (Measles) आदिसंग मेलखाने भएकोले छुटयाउन गाहो हुन्छ ।
यस परिक्षणको लागि घाउखटिरा, फोका तथा नाकमुख, घाँटी आदिको स्वाब (Swab)लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ । मंकीपक्सको उपचार लक्षणहरु केन्द्रीत हुन्छ ।
अस्पताल संक्रमण हुदैमा जानुपर्ने जरुरी हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ । अरुसंग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा तथा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुन पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ ।