काठमाडौं, ८ असोज २०८१
काठमाडौंको याक एण्ड यति होटेलमा बाल मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन अक्टोबर १ र २ अर्थात असोज १५ र १६ गते हुने भएको छ।
उक्त सम्मेलनमा सहभागिताका लागि ११२ विदेशी तथा ५७ जना नेपालीले दर्ता गरिसकेको महाशाखाले जानकारी दिएको छ। सम्मेलनमा २५० भन्दा बढीको संख्यामा विज्ञहरुको सहभागिता रहने बताइएको छ।
सम्मेलनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञहरु, चिकित्सकहरु, नीति निर्माताहरु र सरोकारवालाहरुसँगको ज्ञानलाई साझा गर्ने र मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्न रणनीतिहरु तय गर्ने लक्ष्य लिएको बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुवँरले बताउनुभयो ।
डा. कुवँरका अनुसार हाल मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएकोले उक्त सम्मेलन गर्न लागेको हो र मानसिक समस्या कारण आत्महत्याको दर बढ्दै गएको छ।
नेपालमा १० देखि १७ वर्षसम्मका बालबालिकामध्ये दुई प्रतिशतमा निराशाको समस्या देखिएको विभिन्न अध्ययनले देखाएको छ। बालबालिकामा मानसिक समस्या हुँदा डर लाग्ने, आत्तिने, आफ्नै बारेमा धेरै सोच्ने जस्ता समस्या देखिएको छ।
यो सम्मेलन बालबालिकामा हुने मानसिक स्वास्थ्य समस्याको पहिचान तथा निदानमा फलदायी हुने डा. कुवँरको को दाबी छ। विज्ञ तथा सरोकारवालाहरुलाई एकसाथ ल्याएर सम्मेलनले मानसिक स्वास्थ्य नतिजा सुधार गर्न सकिने उनले बताए।