काठमाडौं, १६ कात्तिक २०८२
नेपाल चिकित्सक संघको निर्वाचन आउदो माघमा हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी कार्यक्रम अनुसार संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि काठमाडौं उपत्यका भित्र र बाहिर गरेर दुई चरणमा मतदान हुने भएको छ।
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते र काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुनेछ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
संघको निवार्चनका लागि प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ। समिति गठनमा डा. विवेक राजभण्डारी, डा. अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृत रहेका छन्।
निर्वाचन समितिले मतदाताको प्रथम नामावली मंसिर २५ गते गर्ने कार्यतालिका बनाएको छ। निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भने पुसको २ गतेलाई तोकिएको छ।
चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले संघको विधान अनुसार केन्द्रीय कार्यकारिणी समितिका १९ जना र परिषद सदस्य ६० जनाका लागि निर्वाचन कार्यतालिका अनुसारको सूचना सार्वजनिक गर्ने निर्णय भएको बताएका छ्न।













