काठमाडौं, २१ माघ २०७९
नेपाल चिकित्सक संघको काठमाडौं उपत्यकामा भएको निर्वाचनको तेस्रो दिन १०६८ मत खसेको छ।
काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा १०६८ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्। पहिलो दिन हिजो ५८९ जनाले, दोस्रो दिन ९८५ र तेस्रो दिन १०६९ जना गरी जम्मा २६४३ जनाले मतदान गरेका थिए।
काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शनिबार सकिएको छ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।
काठमाडौं उपत्यकामा बिगतको निर्वाचन भन्दा ६६० भोट कम खसेको छ भने काठमाडौं उपत्यका बाहिर ७९९ मत बढी खसेको चिकित्सक संघले जानकारी दिनुभयो।
अघिल्लो निर्वाचनमा ६ हजार १५३ जनाले मत दिएका थिए भने यस पटकको चुनावमा ६ हजार २९२ जनाको मत खसेको छ जुन अघिल्लो चुनाब भन्दा १३९ मत बढी हो।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा डा. अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा. सन्तोष पौडेलको प्रगतिशील र डा. शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा रहेका थिए।
निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। जसमध्ये ६२९२ जनाले मतदान गरेका छन्। आज मतदान सकिएसँगै भोलि देखि भोट गणना हुने चिकित्सक संघले जनाएको छ।