काठमाडौं, १० फागुन २०८०
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले यही फागुन १३ गतेदेखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य कार्यालयले एक कार्यक्रम गर्दै फागुन १३ गतेदेखि सुरु हुने अभियान अन्तर्गत ९ महिना देखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाउने जानकारी दिनुभयो । उक्त अभियान अन्तर्गत काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताउनु भयो।
काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्य रहेको डा. पौडेलले बताए । खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिने भएका छन् ।
यस्तैगरी तारकेश्वर नगरपालिकामा ४१४३४, शंखरापुरमा ७५६७, गोकर्णेश्वरमा ४९६८२, नागार्जुनमा २९२३४, टोखामा ४९९२, बुढानिलकण्ठमा ५०३२ जना, कागेश्वरी मनोहरामा ५०२८२, चन्द्रागिरीमा ३५६१८, दक्षिणकालीमा ८५१७ र कीर्तिपुरमा २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
डा. पौडेलले अभियानलाई दुई चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १६ गतेदेखि १९ वटा वडाहरु र दोस्रो चरणमा फागुन २० गतेदेखि १३ वटा वडाहरुमा खोप कार्यक्रम चल्ने डा. पौडेलले बताएका छन । खोपमा दादुरा-रुवेला सँगै नियमित खोप पनि प्रदान गरिने उनले बताए ।
उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन प्रसाद सापकोटाले बताउनुभयो। काठमाडौं जिल्लामा मात्रै ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्य रहेको डा. सापकोटाले बताए ।