कञ्चनपुर, २८ असोज २०८२
कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको महाकाली प्रादेशिक अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ ।
मंगलबार औपचारिक रूपमा सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन कुमार भट्टले बताउनु भयो। सिटिस्क्यान एक्स-रेबाट बिरामीलाई आजै देखि चेकजाँच सुरु गरिएको छ।
डा. भट्टका अनुसार जनशक्ति अभावका कारण अहिले दीपावलीसम्म बिहान १० देखि साँझ ५ बजेसम्म मात्र सेवा दिने र तिहार पछि जनशक्ति थपेर २४ सै घण्टा सेवा दिने दिनेछौं ।
अस्पतालको सिटिस्क्यानको उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले अस्पतालबाट प्रदान गर्ने सेवा स्तरवृद्धि भएकाले नियमित प्रभावकारी सञ्चालनमा जोड दिँदै आवश्यक जनशक्ति, स्रोतसाधन मन्त्रालयबाट सहयोग गर्ने बताउनु भयो।
महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्ट (किरण) ले नियमित प्रभावकारी सेवा सञ्चालनमा जोड दिँदै आवश्यक जनशक्ति स्रोतसाधनका लागि प्रदेश सरकारबाट समेत आवश्यक सहयोग आवश्यक रहेको बताए।
वि.स. २०२० सालमा स्थापना भएको महाकाली अस्पताल क्रमिक रूपमा स्तरवृद्धि हुँदै आएको छ । २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्र, २०३३ सालमा जिल्ला अस्पताल, २०४३ सालमा अञ्चल अस्पताल, २०६१ मा स्तरवृद्धि गर्दै एक सय बेडबाट सेवा गर्दै २०७५ सालदेखि प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएको डा. भट्टले बताए।