कञ्चनपुर, २० साउन २०८०
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पहिलोपटक दूरबिनको प्रविधिबाट शल्यक्रिया मार्फत बिरामीको उपचार गरिएको छ।
कञ्चनपुरकी २२ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र कञ्चनपुरकै ४४ वर्षीया महिलाको एपेन्डिसाइटिसको दूरबिन प्रविधिबाट शल्यक्रिया गरिएको हो।
दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा. जनार्दन प्रसाद जोशीले जानकारी दिए।
ती बिरामीहरुको दूरबिनको सहायताले शल्यक्रिया गर्ने टिममा जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. जोशीसँगै जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. निर्मल थापा, एनेस्थेसियोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा भावना भट्ट र डा. जेम्स थापामगर संलग्न रहनु भएको थियो।
बिरामीको उपचारको सहयोगी नर्सहरु मन्जु कुँवर, शान्ती विष्ट, रेनु पाठक, एनेस्थेसिया सहयोगी भावना पाठक, सर्वेस यादव र अन्य सहयोगी आकास अवस्थी र रमेश नेगी रहेका थिए।