नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ।
केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान गरिएको उक्त सम्मानलाई कम्पनीले गुणस्तर, नवप्रवर्तन र औषधि उत्पादनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको छ।
म्याग्नस फर्माले २००७ बाट आफ्नो यात्रा सुरु गरे देखि नै गुणस्तरीय उत्पादनमा केन्द्रित रहँदै आएको छ। वीरगञ्ज रामपुरटोकनीमा रहेको उत्पादन कारखानामार्फत कम्पनीले नेपाली बजारमा विभिन्न समूहका औषधि उत्पादन गर्दै आएको छ। WHO-GMP र ISO प्रमाणित कम्पनीका रूपमा म्याग्नस फार्माले गुणस्तरीय औषधि उत्पादन, नवप्रवर्तन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादन प्रक्रियालाई निरन्तर प्राथमिकता दिँदै आएको छ।
नेपालमै पहिलोपटक केही महत्वपूर्ण औषधि हरू उत्पादन तथा बजारमा ल्याउने प्रयासले म्याग्नस फार्मा कम्पनीलाई स्वदेशी औषधि उद्योगमा फरक पहिचान दिएको छ।
कम्पनीले ट्याब्लेट र क्याप्सुल उत्पादनबाट यात्रा देखि हाल छाला सम्बन्धी क्रीमहरू, आँखाको औषधि, नाकमा हाल्ने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल्स समेत उत्पादन गर्दै आफ्नो उत्पादन दायरा विस्तार गरेको छ। यसले नेपाली बिरामी, स्वास्थ्यकर्मी र औषधि बजारका लागि थप विकल्प उपलब्ध गराएको छ।
म्याग्नस फर्माले घरेलु बजारमै सीमित नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि अघि बढिसकेको छ। कम्पनीले भेनेजुएला र मोरिससजस्ता देशमा औषधि निर्यात गरेर नेपाली औषधि उद्योगको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालजस्तो देशमा औषधिमा आत्मनिर्भरता अझै चुनौतीका रूपमा रहेको अवस्थामा म्याग्नस फार्माको प्रयासले स्वदेशी उत्पादनप्रतिको भरोसा बढाउन सहयोग पुर्याएको फार्माका प्रबन्धक निर्देशक सुधीर प्रसाद मास्केले बताउनुभयो ।
मास्केले गुणस्तर, अनुसन्धान, उत्पादन विविधीकरण र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने कम्पनीको निरन्तर प्रयासले आगामी दिनमा नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको बताए।






