बाँके, २७ असार २०८२
नेपालगञ्जस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालगञ्जमा निर्माण सम्पन्न भएको अपरेसन थिएटर भवनको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाल १५ शय्याको यो अस्पताललाई कम्तीमा ५० शय्याको क्षमतामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रक्रिया सुरु गर्न आग्रह गरे।
मुख्यमन्त्री आचार्यले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताउँदै, अस्पतालमा जलन वार्डसहित आम नागरिकलाई सहज सेवा पुग्ने गरी व्यवस्थापन गर्न अनुरोध गर्नुभयो।
सोही कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाल र स्वास्थ्य मन्त्री खेम सारुले पनि प्रहरी अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
सो अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख ७५ हजार रुपैयाँ लागतमा श्री सनलाइट एमपी कन्स्ट्रक्सनले निर्माण गरेको हो।
नेपाल प्रहरीका प्राविधिक नायब महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले प्रदेश सरकारको अस्पताल स्तरोन्नतिको पहल स्वागतयोग्य रहेको बताउँदै अस्पतालमा नर्सिङ कर्मचारीको अभाव रहेकोतर्फ ध्यान दिन आग्रह गरे। डा. ठाकुरले प्रहरी अस्पताललाई सर्वसाधारणका लागि समेत सेवा उपलब्ध गराउने गरी रूपान्तरण गर्ने प्रयास सकारात्मक रहेको उल्लेख गर्नुभयो।