किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ।
२६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै अद्वितीय माया, समर्पण र पारिवारिक सम्बन्धको गहिरो उदाहरण प्रस्तुत गर्नुभएको छ।
एक छोरीले आफ्ना बुवाको जीवन बचाउन गरेको यो साहसी निर्णय केवल चिकित्सकीय सफलता मात्र नभई भावनात्मक रूपमा पनि अत्यन्त प्रेरणादायी क्षण बनेको छ। उपचारको प्रत्येक चरणमा देखिएको आशा, डर र अन्ततः सफलताको खुशीले यो प्रत्यारोपणलाई अझ विशेष बनाएको छ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले निरन्तर रूपमा उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ र अंग प्रत्यारोपण जस्तो जटिल सेवामा पनि निरन्तरता कायम राख्दै आएको छ। विशेषगरी, यहाँ कलेजो (लिभर) तथा मिर्गौला (किड्नी) प्रत्यारोपण सेवा उपलब्ध रहेको र दक्ष तथा अनुभवी चिकित्सक टोलीद्वारा नियमित रूपमा सञ्चालन भइरहेको कुरा उल्लेखनीय छ।
नेपालको निजी क्षेत्रमा नियमित र अनुभवी रूपमा अंग प्रत्यारोपण सेवा प्रदान गर्ने अग्रणी (पायोनियर) अस्पतालका रूपमा किष्टले आफ्नो पहिचान स्थापित गरिसकेको छ। साथै, अस्पतालले कलेजो
तथा मिर्गौला प्रत्यारोपण सेवालाई अझ विस्तार र सुदृढ बनाउने प्रक्रियालाई पनि अगाडि बढाइरहेको छ।
मानव जीवनको रक्षा र सेवा नै हाम्रो मुख्य लक्ष्य भएकोले भविष्यमा पनि यस्ता जीवनरक्षक सेवाहरूलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता अस्पतालले जनाएको छ।







