नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा म्याद गुज्रेका सामग्री देखि नक्कली उपचार हुने फेला पारेको छ।
मेडिकल काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल, डा. सारिका गोइत, डा. निना राई, डा. योविन कुमार यादव तथा विज्ञ सदस्यहरू डा. भुमेश काफ्ले र डा. हरी वली सम्मिलित टोलीले रामहिटी–जोरपाटी क्षेत्रमा रहेका चार डेन्टल क्लिनिकको निरीक्षण गरिएको थियो।
अनुगमनमा पद्मा स्माइल डेन्टल क्लिनिक, मेन्डु डेन्टल केयर सेन्टर, रामनगर क्लिनिक एण्ड डायग्नोस्टिक तथा प्लाटिनियम डेन्टल क्लिनिक प्रालि समेटिएका थिए।
काउन्सिलको टोलीले अनुगमनका क्रममा विशेषगरी मेन्डु डेन्टल केयर सेन्टर र रामनगर क्लिनिक एण्ड डायग्नोस्टिकमा जनस्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको छ। यी क्लिनिकहरू सम्बन्धित निकायमा दर्ता बिना सञ्चालनमा रहेको, योग्य दन्त चिकित्सक तथा हाइजिनिस्टबिनै सेवा दिइरहेको र अत्यन्त फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार भइरहेको भेटिएको हो।
त्यस्तै, उपकरणको उचित स्टेरिलाइजेसन नगरेको, बिरामीको अभिलेख नराखिएको तथा एक्स-रे मेसिन बिग्रिएको अवस्थामा रहेको समेत देखिएको छ। मेन्डु डेन्टल केयर सेन्टरले त दर्ता नगरेको व्यक्तिबाट उपचार गराइएको र म्याद सकिएका सामग्री प्रयोग गरिएको समेत फेला परेको छ।
यस्तैगरी, पद्मा स्माइल डेन्टल क्लिनिक र प्लाटिनियम डेन्टल क्लिनिकमा पनि विभिन्न त्रुटि देखिएका छन्। पद्मा स्माइल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको, दुवै क्लिनिकमा नियमित चिकित्सकको अभाव रहेको र दिउँसो २ बजेपछि मात्र चिकित्सक उपलब्ध हुने गरेको पाइएको छ।
चिकित्सकसँग औपचारिक सम्झौता नभएको, नामावली सार्वजनिक रूपमा नटाँसिएको तथा नागरिक बडापत्र प्रदर्शन नगरेको काउन्सिलको अनुगमन टोलीले बताएको छ।
अनुगमनका आधारमा मेन्डु डेन्टल केयर सेन्टर र रामनगर क्लिनिक एण्ड डायग्नोस्टिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरिएको छ। पद्मा स्माइल डेन्टल क्लिनिकलाई दर्ता प्रक्रियामा ल्याउन तथा प्लाटिनियम डेन्टल क्लिनिकलाई काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक नियुक्त गर्न निर्देशन दिइएको छ।






