जुम्ला, १८ जेठ २०८२
जुम्लाको सिंजा गाउँपालिका सांस्कृतिक र ऐतिहासिक धरोहरको हो। हालै एक अभूतपूर्व स्वास्थ्य पहलको साक्षी बनेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका एमबीबीएस पाँचौं ब्याचका प्रथम वर्षका विद्यार्थीहरूले त्यहाँ सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न गरेका छन्।
यस कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र सचेतनाको अभावलाई सम्बोधन गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा स्थापित भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले विगत केही वर्षदेखि कर्णाली क्षेत्रको स्वास्थ्य सेवालाई सुदृढ बनाउन विभिन्न पहलहरू गर्दै आएको छ।
विशेषगरी, एमबीबीएसका विद्यार्थीहरूलाई सामुदायिक स्वास्थ्य अध्ययनको हिस्साको रूपमा ग्रामीण क्षेत्रमा पठाउने परम्पराले यहाँका बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुगेको छ।
एक महिना प्रतिष्ठानका ५० जना एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले सिंजा गाउँपालिकाको १, २, ३, ५ र ६ नम्बर वडाहरूमा स्वास्थ्य सचेतना र निदान कार्यक्रम सञ्चालन गरे। प्रत्येक वडामा १० जनाको समूह बनाएको थियो।
समूह नायिकाको रुपमा सिंजाको चुलेलगाउँ, अवस्थिबडा, लगायतका गाउँहरुमा पुगेकि विद्यार्थी अनुश्री पाण्डेले स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गरी स्वास्थ्य सम्बन्धी जानकारी र सचेतना फैलाउने काम गर्दा खुसी लागेको बताइन्।
पाण्डेले भनिन्, “हामी डाक्टर बनेर यस्तै समुदायका मान्छेहरुको रोक नपदानको काम गर्ने हो। अहिले नै सिक्ने अवसर मिलेको छ। खुसी छौं।”
प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका फिल्ड सयोजक एवम् सहायक प्रोफेसर ओम प्रकाश काफ्लेका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक स्वास्थ्यको समग्र मूल्याङ्कन गर्नु र स्थानीय स्तरमा रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, र सचेतनाको स्तर वृद्धि गर्नु थियो।
काफ्लेले भने, हामीले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेका हौं र यसका साथै ग्रामीण समुदायमा स्वास्थ्य समस्याहरूको पहिचान अनि समाधानका लागि यो एउटा महत्वपूर्ण अवसर हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार विद्यार्थीहरूलाई कक्षा कोठामा सीमित नराखी समुदायसम्म लैजानु भनेकै उनीहरूले प्राप्त गरेको सीप, ज्ञान र शिक्षा व्यवहारमा उतारी कर्णाली क्षेत्रका दुर्गम गाउँघरमा स्वास्थ्य सेवा सुधार गर्न सकियोस भन्ने हो।
प्रतिष्ठानले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी, समुदायमा पुगेर स्थानीय स्वास्थ्य समस्या पहिचान गर्ने, समाधान खोज्ने र व्यवहारिक रूपमा सेवा पुर्याउने अवसर प्रदान गर्छ। यसले उनीहरूमा नेतृत्व क्षमता, अनुसन्धान गर्ने क्षमता र सामाजिक उत्तरदायित्व समेत विकास गराउँछ, जसले कर्णालीको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउन मद्दत गर्ने डा. धामीले बताए ।