काठमाडौं, २७ फागुन २०८०
कान्तिबाल अस्पतालमा फागुन २३ गतेदेखि बाल हाडजोर्नी सेवा सुरु भएको छ।
अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ डा. रुपेश वडले बाल हाडजोर्नी विशेषज्ञ सेवा दिन थालेका छन् ।
यसअघि उक्त अस्पतालबाट बाल हाडजोर्नी सेवा दिन थालिएको थिएन। अहिलेका लागि हप्ताको दुई दिन आइतबार र बुधबार ओपिडी सेवा दिने तालिका तय गरिएको छ।
डा. वडका अनुसार बच्चाको हाडजोर्नीसँग सम्बन्धित सवै सेवा विशेषज्ञ दिने तयारीका साथ आरम्भ गरिएको हो। अहिले हाडजोर्नीसँग सम्बन्धित विभिन्न उपचार, बालबालिकाको हाडजोर्नी चोटपटक, भाँचिएको, हड्डी खुस्किएको, जन्मजात लुलो भएको, हातखुट्टा जन्मजात बांगो भएको र सेरेवल पाल्सी आदिको उपचार हुने डा. वडले बताए।
चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमएस गरेका डा. वडले बाइ जेरबाइ वाइडा बाल अस्पताल मुम्बइबाट बाल हाडजोर्नीमा एक वर्षे फेलोसिप पनि गरेका छन्।