काठमाडौं, ४ भाद्र २०७९
बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २६ वर्ष पार गरेर २७ औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा बच्चाहरुको बोनम्यारो प्रत्यारोपण गर्ने अन्तिम तयारी भएको छ।
शुक्रबार बार्षिकोत्सबको अवसरमा अस्पतालका निर्देशक प्राडा. रामानन्दन प्रसाद चौधरीले बाल उपचारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएको अस्पतालले नेपालकै लागि नयाँ सेवा थप्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
डा. चौधरीका अनुसार नेपालमा अहिलेसम्म बालबालिकाहरुको बोनम्यारो ट्रान्सप्लान्ट भएको छैन् । हामीले यो सेवा छिट्टै नै सुरु गर्दैछौँ । अहिले जनशक्ति व्यवस्थापन लगभग भइसकेको छ । आवश्यक उपकरण र पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
नेपालमा बोनम्यारो प्रत्यारोपण अहिले सरकारी स्तरको सिभिल अस्पतालमा भइरहेको छ । तर त्यहाँ युवा तथा प्रौड व्यक्तिको लागि सेवा उपलब्ध छ । बालबालिकाहरुको लागि अहिलेसम्म सो सेवा नेपालमा नभएको निर्देशक डा. चौधरीले बताए।
ईसान बाल तथा महिला अस्पताल विसं २०५२ साल कृष्ण अष्टमीको दिन १५ शैय्याबाट आफ्नो सेवा सुरु गरेको यो अस्पताल अहिले १०० शैय्या क्षमतामा सञ्चालन भईरहेको छ ।
निर्देशक डा. चौधरीले अस्पतालमा २४ घण्टा विशेषज्ञहरु बाल तथा महिला उपचारका लागि आकस्मिक सेवामा रहने बताउँदै आफ्नो अस्पतालले सार्कस्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।
डा. चौधरीले अस्पतालमा विशेषज्ञद्धारा हरेक दिन विहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडीसंगै इएनटी, बाल आँखा रोग, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी लगायतका उपचार हुने बताए ।
यस अस्पतालमा सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, दन्त छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापी सेवा समेत उपलव्ध भएको बताए । सेवाका लागि अस्पतालमा अहिले ८२ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको जानकारी दिनुभयो ।
अस्पतालले नि:सन्तान दम्पतीका लागि आईभीएफ सेवा समेत सञ्चालनमा ल्याएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत नियमित सञ्चालन भइरहेको छ । सीटीस्क्यान सेवा निकट भविस्यमै आउने डा. चौधरीले बताए । अहिलेसम्म नेपालमा बालबालिकाहरुमा बोनम्यारो प्रत्यारोपण सुरु भएको छैन् ।