गोरखा, २६ मङ्सिर २०८०
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दन्तसेवा सुरु गर्नेबारे सम्झौता भएको छ ।
लामो समयदेखि नेपालको सामाजिक क्षेत्रमा क्रियाशिल मुटु फाउण्डेशन काठमाडौँ र अजिरकोट गाउँपालिकाबीच भच्चेक आधारभूत अस्पतालमा दन्तसेवा सुरु गर्नेबारे सम्झौता भएको हो ।
सम्झौतामा अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा र मुटु फाउण्डेशन काठमाडौँका अध्यक्ष धनबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ । सम्झौता भएसँगै अब भच्चेक आधारभूत अस्पतालमा एकजना दन्त चिकित्सक रहने भएका छन् ।
यस्तै, दन्तसेवा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार व्यवस्था गर्ने, आँखाको अप्रेसन थ्रेटर निर्माण तथा सञ्चालन गर्ने, अजिरकोट गाउँपालिकाको दिर्घकालीन फोहोर व्यवस्थापन गर्नेलगायत सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा दातृनिकाय मनोज एशोसियशन फ्रान्सका अध्यक्ष थियरी गिराउड र अजिरकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष बाबुराम अधिकारीको सहभागीता रहेको थियो ।
यसअघि मुटु फाउण्डेशनले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ ।