काठमाडौँ, २५ असार २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको नेतृत्व समालेपछि गरेका काम सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बस्नेतले आफू मन्त्री भएपछि गरेका ३२ बुँदे क्रियाकलापहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री बस्नेतले गरिब तथा विपन्न नागरिकको उपचारका लागि १० प्रतिशत शैय्या सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट ३ हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको उल्लेख गरेका छन् ।
यस्तै, ६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ( २०८०-२०९० ) मन्त्रिपरिषदबाट स्वीकृत र नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८० २०८७/ ८८ ) मन्त्रिपरिषदबाट स्वीकृत गरिएको उनले बताए ।
मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पी. भी.) खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको जानकारी दिए । यस्तैगरी पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको बस्नेतले बताए ।
नेपालले बालबालिकामा हुने क्यान्सरविरुद्धको उपचारको लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सर विज्ञहरूको कार्यशाला गोष्ठी सम्पन्न गरी धुलिखेल घोषणापत्र जारी गरिएको उनले बताए ।