स्वास्थ्य बीमा बोर्डले पुस १ देखि १६ वर्ष उमेर पुरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीरकण तथा स्वास्थ्य वीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।
गत असोज १२ मा बसेको बोर्डको दोस्रो बैठकले डिजिटल सुधार कार्यक्रम अन्तर्गत यस्तो निर्णय गरेको हो ।
बैठकले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई पोर्टल मार्फत आफ्नो विवरण अध्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ ।
बीमा बोर्डले रणनीतिक खरीद सम्बन्धी निर्णय समेत गरेको छ । जस अन्तर्गत सेवा खरीद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दीगो बनाउन यस सम्वन्धी अध्ययन कार्यदल गठन गर्ने र त्यसलाई ६० दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना सेवा गुणस्तर लागत नियन्त्रण र दावी व्यवस्थापन सुधार हुने अपेक्षा गरेको छ ।
यस्तैगरी बोर्डले स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूबाट इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख माग तथा दावी विवरणलाई मान्यता दिने निर्णय गरेको छ ।
अस्पतालहरूले पठाएको उपचार र बिरामीको विवरणसहितको भुक्तानी मागको बिललाई एआई सफ्टवेयरले पनि डिटेक्ट तथा जाँच गर्नेछ ।
त्यस्तै, बीमाको दाबी भुक्तानी र रुजुका लागि बोर्डले आइसिडी–११ को कोड ‘आइएमइएस’ प्रणाली लागू गर्ने जनाएको छ । जसमा पहिलो चरणमा २ हजार १८९ रोग तथा स्वास्थ्य अवस्थासम्बन्धी कोर्ड तयार पारिएको छ ।








