स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका लागि तीनदिने अल्टिमेटम दिएकी छन्।
अन्यथा सेवाबाट बर्खास्त हुनेसम्मको कानुनी प्रक्रिया अघि बढ्ने चेतावनी दिँदै प्रजापतिले बुधबार तीनदिने अल्टिमेटम दिएपछि बोर्डका कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ।
२०७२ सालमा स्थापना भएको बोर्डमा हाल ३ सयभन्दा धेरै कर्मचारीहरू करार सेवाअन्तर्गत कार्यरत छन्। उनीहरूले सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने र महँगी भत्ता तथा प्राेत्साहन भत्तासमेत उपलब्ध गराउनुपर्ने माग राख्दै गत साउनदेखि सम्झाैता नवीकरण गर्न मानेका छैनन्।
सम्झाैता नवीकरण गर्दा आफूहरूका मागबमोजिम सुविधा थप्नुपर्ने उनीहरूको अडान छ। तर, निमित्त कार्यकारी निर्देशक प्रजापतिले सुविधा थप्नुको साटो पूर्ववत् सुविधासमेत कटाैति हुनेगरी तीन दिनभित्र सम्झाेता नवीकरण गर्न नआए कानुनबमोजिम प्रकिया अघि बढ्ने भन्दै धम्कीपूर्ण भाषामा सूचना निकालेको कर्मचारीहरूको भनाइ छ।
बुधबार प्रजापतिले ७७ वटै जिल्लामा कार्यरत कर्मचारीहरूका नाममा सम्झाैता नवीकरणका लागि तीनदिने अल्टिमेटमसहितको सूचना जारी गरेकी हुन्।
बोर्डकी कार्यकारी निर्देशक प्रजापतिले यस्तो सूचना निकालेलगत्तै कर्मचारीहरूले पनि आफूहरूका माग पूरा गर्न भन्दै बिहीबार नै ज्ञापन बुझाएका छन्। आफूहरूका माग सम्बोधन नभएसम्म सम्झाैता नवीकरण नगर्ने बरु सामूहिक राजीनामा दिने कर्मचारीहरूको चेतावनी छ।
करार कर्मचारीहरूले सम्झाैता नवीकरण गर्न नमानेपछि साउनयताको तलब भुक्तानीमा समेत कानुनी जटिलता उत्पन्न भएको छ।
साउन महिनाको तलब पेस्कीस्वरुप उपलब्ध गराइएको एक कर्मचारीले बताए। उनका अनुसार माग पूरा गर्न बोर्डले पहल नगरे आजैदेखि पेनडाउन गर्ने तयारी भइरहेको देशभरका कर्मचारीहरूको भनाई छ।









